Category: खेलकुद

  • ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

    ‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

    ओइरास, पोर्चुगल, २७ असार (रासस–एएफपी) । पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उनले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताएका छन् । उनले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताए ।


    पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा भएको विश्वकपका क्रममा ४१ वर्षीय स्ट्राइकरको प्रदर्शनको आलोचना भएको थियो । पोर्चुगल स्पेनसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो । रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप रहेको बताइसकेका छन् । उनले अझै राष्ट्रिय टोलीबाट खेल्ने या नखेल्ने निर्णय गरेका छैनन् । “केही सीमाभित्र र राष्ट्रिय टोलीका लागि मलाई उत्तम लाग्ने अवस्थामा उहाँ खेलिरहने अवस्थामा भएमा म उहाँ र अन्य खेलाडीहरूलाई पनि टोलीमा समावेश गर्नेछु,” जेससले शुक्रबार पत्रकारसँगको साक्षात्कारका क्रममा भने ।


    अनुभवी प्रशिक्षक मानिने ७१ वर्षीय जेससले अझै रोनाल्डोसँग कुरा नभएको तर उनीहरूले पूर्व म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका स्टारको खेल जीवनको भविष्यबारे छलफल गर्ने बताए । “मैले अझै ‘क्रिस’सँग कुरा गरेको छैन । ‘क्रिस’ राष्ट्रिय टोली र मेरा लागि समस्या हुनुहुने छैन,” जेससले भने । उनले भने, “क्रिस पोर्चुगाली फुटबलको प्रतीक हुनुहुन्छ । उहाँ राष्ट्रिय टोलीको प्रतीक हुनुहुन्छ र इतिहासमा सदाका लागि रहनुहुनेछ ।”

    “मलाई विगतमा उहाँसँग काम गर्न ठूलो खुशी मिलेको थियो । उहाँसँग काम गर्न सजिलो छ”, जेससले भने, “हामी दुईबीच उहाँले भविष्यमा के गर्न चाहनुहुन्छ भन्नेबारे कुराकानी हुनेछ।” जेससले पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोसँग अल–नासरमा काम गरेका थिए भने मे महिनामा ‘साउदी प्रो लिग’को उपाधि जिताएर क्लबबाट बिदा भएका थिए ।

    “मैले उहाँसँग एक वर्ष बिताएको छु। मलाई थाहा छ, रोनाल्डो अल–नासरमा नै खेलिरहन चाहनुहुन्छ,” नवनियुक्त पोर्चुगाली मुख्य प्रशिक्षक जेससले थपे । “उहाँ सधैं मलाई भन्नुहुन्थ्यो, म आफ्नो करियर अल–नासरमा नै समाप्त गर्नेछु,” जेससले अगाडि भने । सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा गर्दैछन् र सामान्य अवस्थामा जेससले त्यतिबेलासम्म पोर्चुगलको नेतृत्व गर्नेछन् ।

  • स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ, २७ असारः बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो ।

    खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

  • फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

    फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

    काठमाडौंँ, २६ असारः कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।

    फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो । आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो । फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

  • विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

    विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

    अटलान्टा, २५ असार (रासस–एएफपी) । इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ।

    सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको जनाएको छ।

    इजिप्टल अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो।इजिप्ट फुटबल सङ्घका अनुसार टोली १–० ले अघि रहेका बेला मोस्ताफा जिकोले गरेको एक गोल भीएआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो। उक्त गोलअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको भन्दै रेफ्रीले निर्णय परिवर्तन गरेका थिए।

    इजिप्टले एन्जो फर्नान्डेजको निर्णायक गोलअघि एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ।

    सङ्घले केही भिडियो फुटेज समीक्षा गर्न अस्वीकार गरिएको आरोप लगाउँदै त्यसबाट आफ्नो टोलीको वैध गोल र पेनाल्टीको दाबी पुष्टि हुने उल्लेख गरेको छ।

    इजिप्टका प्रशिक्षक होसाम हसनले पनि खेलपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नो टोलीले अन्याय भोगेको टिप्पणी गरेका थिए । 

  • भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    हनोई, २४ असार (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई पक्राउ गरेको जनाएको छ ।

    मङ्गलबार सार्वजनिक गरिएको प्रहरी विज्ञप्तिअनुसार जुनको अन्त्यतिर गरिएको छापामा उच्च तहको सङ्गठित संरचना र कडा नियन्त्रणमा सञ्चालित दुई सट्टेबाजी सञ्जाललाई लक्षित गरिएको थियो । ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध सट्टेबाजी कारोबार सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार गिरोहका मुख्य सञ्चालकहरूले कम्बोडियाबाट प्राप्त ‘मास्टर’ स्तरका सट्टेबाजी खाता प्रयोग गरी ती खातालाई विभिन्न एजेन्ट र सदस्यमार्फत विभाजन गरेर जुवाडेहरूलाई अनलाइन पहुँच उपलब्ध गराउने गरेका थिए ।

    भियतनाममा अनलाइन जुवा कानूनी रूपमा प्रतिबन्धित भए पनि विशेषगरी विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अवैध सट्टेबाजी उल्लेखनीय रूपमा बढ्ने गरेको छ । त्यसैले सरकारले प्रतियोगिता अवधिभर देशव्यापी निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।

    भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार गत सातामात्र देशभर सञ्चालनमा रहेका ७३ वटा अवैध जुवा सञ्जाल ध्वस्त पारिएको छ । विश्वकप सुरु भएको पहिलो २० दिनमै अवैध जुवा तथा फुटबल सट्टेबाजीमा संलग्न ३४६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

    सार्वजनिक सुरक्षा मन्त्रालयका कर्नेल बुई तुआन आनका अनुसार ती घटनामा हजारौँ अर्ब भियतनामी डोङ अर्थात् सयौँ करोड अमेरिकी डलर बराबरको अवैध कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    यस वर्षको विश्वकप फुटबल प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुने तालिका छ । 

  • फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    काठमाडौँ, २४ असारः कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो ।

    प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो । यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ । 

  • इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    काठमाडौँ, २४ असारः इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।

    खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।

    त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

  • विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    वाशिङ्टन, २३ असार (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् । 

    ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा भन्न चाहन्न । तर उनी अत्यन्त शङ्कास्पद देखिएका छन् ।” 

    ब्राजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकार प्रयोग गर्दै उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए ।

  • आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ ।

    बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एकएक गोल गरे । खेल सुरुआती नवौँ मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक–एक बराबरीमा ल्याए ।

    त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो । खेलको ३३ औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५७औँ मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाए ।

    त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को जित निकाल्यो ।

  • पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ(१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

    यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

  • मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    काठमाडौँ, २२ असारः इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

    इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे । इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए । इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।

  • ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौँ, २२ असारः एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे । त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।

  • लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

    लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

    २१ असार, यूएई । पहिलो पीएनएसबी (प्रवास नेपाली सम्पर्क विभाग) गोल्ड कप प्रतियोगिताको उपाधि लमजुङ एफसीले हात पार्न सफल भएको छ । रास्वपाको चौथो स्थापना दिवस तथा प्रथम महाधिवेशनको अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, यूएईद्वारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ २१ मेमा दुबईको अबुहेलमा रहेको स्पोर्टस् बेमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

    यूएईमा क्रियाशील रहेका करिब २६ नेपाली क्लबहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा लमजुङ एफसीले लालीगुराँस एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजेता बनेको हो । प्रतियोगिताको उपविजेता लालीगुराँस एफसी बनेको छ ।


    प्रतियोगिताको विजेता टिमलाई पुरस्कारस्वरुप ७७७७ यूएई दिहराम (करिब ३ लाख नेपाली रुपैयाँ) दिइएको थियो । यो पुरस्कार रकम यूएईमा हुने अन्तर नेपाली क्लबहरुको प्रतियोगितामध्येकै ठूलो हो । त्यसैगरी उपविजेता टिमलाई ३८८८ यूएई दिहराम (करिब १ लाख ५० हजार नेपाली रुपैयाँ) प्रदान गरिएको प्रवास नेपाली सम्पर्क विभाग, यूएईका खेलकुद संयोजक दिवस चापागाईंले जानकारी गराए ।
    त्यसैगरी फेयर प्ले अवार्ड नवबुद्ध एफसीले प्राप्त गरेको छ ।

    सर्वाधिक गोलकर्ता लालीगुराँस एफसीका खेलाडी सुमन लिम्बुले पाएका छन् । सर्वोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट गोलरक्षकमा क्रमशः लमजुङ एफसीका आशिष थापा मगर, सञ्जीब लामा भएका छन् । कार्यक्रमकै बीचमा प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सुजन थापाले चौथो स्थापना दिवसको अवसरमा केक काटेर मनाइएको थियो ।

  • सन्तोषको संघर्ष र सफलता

    सन्तोषको संघर्ष र सफलता

    भरत गिरी\ न्यूयोर्क
    २० असार, काठमाडौं । अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन् । उनको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको थियो र हरेक अवसर कडा मेहनतबाट मात्र प्राप्त हुन्थ्यो ।


    बुबा कमलबहादुर राई र आमा सयनकुमारी राईले सानैदेखि सन्तोषमा मेहनत, इमानदारी र दृढ संकल्पका मूल्यहरु रोप्नुभयो । करातेसँगको उनको यात्रा अप्रत्याशित रुपमा शुरु भयो । बाल्यकालमा उनले आफ्नी दिदीबाट आत्मरक्षाका आधारभूत सीपहरु सिके । शुरुमा केवल आत्मरक्षाको माध्यम बनेको कराते बिस्तारै उनको जीवनको उद्देश्य बन्न पुग्यो । करातेले उनलाई अनुशासन, आत्मविश्वास र जीवनको दिशा प्रदान ग¥यो ।


    धेरै महान खेलाडीहरु जस्तै सन्तोषको यात्रा पनि सजिलो थिएन । आर्थिक अभाव, सीमित स्रोतसाधन, कठिन प्रशिक्षण अवस्था र सफलता टाढा देखिने समयहरु पनि आए । तर, प्रत्येक बाधाले उनको संकल्पलाई अझ बलियो र खेलप्रतिको समर्पणलाई अझ गहिरो बनायो ।


    माध्यमिक शिक्षा जारी राख्दै गर्दा सन्तोषले प्रशिक्षक वीरकृष्ण शाहीको मार्गदर्शनमा औपचारिक रुपमा कराते यात्रा शुरु गरे । प्रशिक्षक शाहीको मार्गदर्शनले उनको प्रारम्भिक खेल जीवनलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको थियो । पछि प्रशिक्षक शाहीको व्यस्तताका कारण उनलाई प्रशिक्षक ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको बालाजु डोजोमा प्रशिक्षण जारी राख्न प्रोत्साहित गरियो ।

    यो निर्णय उनको जीवनको एउटा महत्वपूर्ण मोड साबित भयो । उनले अथक मेहनतका साथ प्रशिक्षण गरे । थकान, चोटपटक र निराशाका दिनहरु पनि आए, तर उनको विश्वास अटल रह्यो कि निरन्तर मेहनत र धैर्यले अन्ततः सफलता दिलाउनेछ । सन्तोषले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा पदक जितेर आफ्नो पहिचान बनाउन शुरु गरे ।


    ती सफलताले उनलाई आत्मविश्वास दियो र अझ ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा पनि प्रदान ग¥यो । नवौं राष्ट्रिय खेलकुदमा उनले आफ्नो पहिलो राष्ट्रिय स्वर्ण पदक जिते । यो उनको खेल जीवनको परिभाषित क्षण थियो, जसले उनको त्याग, समर्पण र अथक मेहनतलाई प्रमाणित ग¥यो ।


    सन्तोषका प्रत्येक पदकले एउटा कथा बोकेको छ । प्रत्येक सफलताका पछाडि अनगिन्ती घण्टौंको प्रशिक्षण, पीडा, त्याग र दृढ संकल्प लुकेको छ, जुन प्रायः मानिसले देख्न पाउँदैनन् । केवल १५ वर्षको उमेरमा सन्तोष इचिगु कराते डोजोका प्रमुख प्रशिक्षक बने । अरुलाई सिकाउनु उनको यात्राको सबैभन्दा अर्थपूर्ण पक्षहरुमध्ये एक बन्यो ।

    उनका लागि सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित थिएन; करातेमार्फत अरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै उनको वास्तविक सफलता थियो । वर्षौंको अवधिमा उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरे । उनका आठ जना विद्यार्थीहरुले नेपाल सशस्त्र प्रहरी क्लबको प्रतिनिधित्व गर्दै सातौं, आठौं र नवौं दक्षिण एसियाली च्याम्पियनसिपमा दर्जनौं स्वर्ण पदक जिते । आफ्ना विद्यार्थीहरुलाई विजेताको मञ्चमा उभिएको देख्नु उनका लागि आफैंले पदक जित्नु जत्तिकै गर्वको विषय बनेको छ ।


    सन् २०२६ मा सन्तोषलाई नेपालको उपराष्ट्रपतिको उपस्थितिमा मनकुमारी साम्पाङ राई खेल पुरस्कारबाट सम्मानित गरियो । त्यसै वर्ष उनलाई किरात राई सोसाइटी अफ अमेरिकाद्वारा एलम्बर हाङ खेल पुरस्कार प्रदान गरियो, जुन पुरस्कार नेपालका महावाणिज्यदूतबाट हस्तान्तरण गरिएको थियो ।


    यी पुरस्कार र सम्मानहरुले धेरै ठूलो अर्थ राख्ने सन्तोष बताउँछन् । ‘परिवार, प्रशिक्षकहरु, विद्यार्थीहरु र कठिन यात्रामा साथ दिने सबै व्यक्तिहरुप्रतिको यो सम्मान हो,’ उनी भन्छन्– ‘मानिसहरुले प्रायः पदक र ट्रफीहरु मात्र देख्छन्, तर ती सफलताका पछाडि लुकेका संघर्षहरु देख्दैनन् ।’

    सन्तोषको कथा एउटा सानो गाउँका केटाको कथा हो, जसले आफ्नो परिस्थितिभन्दा ठूलो सपना देख्ने साहस ग¥यो । करातेले उनलाई सिकायो कि च्याम्पियन जन्मँदैनन्, उनीहरु अनुशासन, त्याग र अटुट आत्मबलबाट निर्माण गरिन्छन् । उनको यात्रा अझै जारी छ र सायद महत्वपूर्ण विजयहरु अझै भविष्यमा उनले पर्खिरहेका छन् ।

    प्रमुख उपलब्धिहरु

    – स्वर्ण – गोलबजार राष्ट्रिय कराते प्रतियोगिता तथा उत्कृष्ट खेलाडी पुरस्कार

    – स्वर्ण – छथर राष्ट्रिय कराते प्रतियोगिता
    – स्वर्ण – सताक्षी राष्ट्रिय कराते प्रतियोगिता
    – स्वर्ण – प्रथम कपिलाशगढी आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता
    – रजत – यूके ईकेईई १ सिरिज, वर्सेस्टर
    – रजत – २२ माइल्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप, मलेसिया
    – रजत – २६औं हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५
    – काँस्य – यूएसए कराते च्याम्पियनसिप, डलास, टेक्सास (२०२६)
    – स्वर्ण र रजत – २७औं हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप (२६ अप्रिल, २०२६)
    – रजत – ५५०आंै राष्ट्रिय खेलकुद

  • फुटबल विश्वकप : मानवताको महाउत्सव

    फुटबल विश्वकप : मानवताको महाउत्सव

    कुमार न्यौपाने/ हाल : न्युयोर्क
    २० असार, काठमाडौं । आजको विश्व अनेकौं चुनौतीहरुबाट गुज्रिरहेको छ । एकातिर युद्ध, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, धार्मिक विवाद र जातीय संघर्षहरु छन् भने अर्कोतिर मानव समाजलाई एकताबद्ध गर्ने प्रयासहरु पनि जारी छन् । यस्ता विभाजनकारी परिस्थितिहरुबीच एउटा यस्तो शक्ति छ जसले भाषा, धर्म, जाति, संस्कृति, राजनीतिक विचारधारा र राष्ट्रिय सीमाहरुलाई पार गरेर अर्बौं मानिसहरुलाई एउटै भावनामा बाँध्ने काम गर्छ । त्यो शक्ति हो– फुटबल र विशेषगरी फुटबल विश्वकप ।


    फुटबल विश्वकप संसारको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मानिन्छ । विश्वका झण्डै सबै देशहरुले यसको छनोट प्रतियोगितामा भाग लिन्छन् र अन्तिम चरणमा पुग्ने अवसरका लागि संघर्ष गर्छन् । विश्वकप केवल ट्रफी जित्ने प्रतिस्पर्धा होइन, यो मानवताको साझा उत्सव हो । धेरै अवस्थामा फुटबलले राजनीतिले गर्न नसकेको काम गरेको छ– मानिसहरुलाई एकताबद्ध बनाउने काम ।

    केही समय अघिसम्म सिमानाका तातो बहस गर्दै गरेका तीन छिमेकीहरुलाई एउटै मञ्चमा विश्वकप २०२६ को आयोजकको रुपमा उभ्याएको छ । सबै महादेशका ४८ देशहरुको कुम्भमेला या विश्वकपको लोकप्रियता कुनै पनि राजनीतिक सम्मेलन, अन्तर्राष्ट्रिय शिखर बैठक वा सांस्कृतिक कार्यक्रमभन्दा धेरै ठूलो छ ।


    सन् २०२२ को कतार विश्वकपलाई विश्वभर करिब ५ अर्ब मानिसले कुनै न कुनै रुपमा हेरेको अनुमान गरिएको थियो । फाइनल खेल मात्र १.५ अर्बभन्दा बढी दर्शकले हेरेका थिए । यो संख्या संयुक्त राष्ट्रसंघका अधिकांश कार्यक्रम, अन्य कुनै खेल, विश्व आर्थिक मञ्च वा अन्य अन्तर्राष्ट्रिय राजनीतिक कार्यक्रमहरुको दर्शक संख्याभन्दा धेरै गुणा बढी हो । यो बढ्नेक्रम जारी छ ।


    यसबाट स्पष्ट हुन्छ कि फुटबल विश्वकप आजको विश्वको सबैभन्दा ठूलो साझा अनुभव बनेको छ । पृथ्वीका विभिन्न कुनामा रहेका मानिसहरुले एउटै समयमा एउटै खेल हेरेर खुसी, निराशा, उत्साह र आशा साझा गर्छन् ।

    राजनीतिले विभाजन गर्छ, खेलले जोड्छ
    राजनीतिक दलहरु, सरकारहरु र विचारधाराहरुले प्रायः समाजलाई विभिन्न समूहमा विभाजन गर्छन् । चुनाव, सीमा विवाद, राष्ट्रिय हित र शक्ति संघर्षका कारण देशहरुबीच मतभेद उत्पन्न हुन्छन् । तर फुटबलले यस्ता विभाजनहरुलाई केही समयका लागि भए पनि कमजोर बनाइदिन्छ ।


    विश्वकपको समयमा मानिसहरु विपक्षी दलका समर्थक होइनन्, उनीहरु फुटबलप्रेमी बन्छन् । उनीहरु धर्म, जाति वा भाषाअनुसार विभाजित हुँदैनन्, बरु एउटै खेलप्रतिको प्रेमले जोडिन्छन् । यही कारणले फुटबललाई ‘विश्वको साझा भाषा’ भनिन्छ ।
    युद्ध र द्वन्द्वका बीचमा पनि फुटबल
    इतिहासमा धेरै यस्ता उदाहरण छन् जहाँ राजनीतिक तनाव र युद्धका बीचमा पनि फुटबलले संवाद र सम्बन्धको ढोका खोलेको छ ।
    सन् १९१४ को प्रथम विश्वयुद्धको समयमा बेलायत र जर्मनीका सैनिकहरुले क्रिसमसको दिन केही घण्टाका लागि युद्धविराम गरेर फुटबल खेलेको ऐतिहासिक घटना उल्लेखनीय छ । युद्धको मैदानमा एकअर्कालाई गोली हानिरहेका सैनिकहरु फुटबल खेल्दा केही समयका लागि शत्रु होइन, खेलाडी बनेका थिए । यसले देखाउँछ कि फुटबलमा मानिसलाई साझा मानवताको आधारमा जोड्ने अद्भूत क्षमता छ ।

    दक्षिण अफ्रिका : खेलद्वारा राष्ट्रिय एकता
    सन् २०१० मा दक्षिण अफ्रिकाले पहिलोपटक अफ्रिकी महादेशमा विश्वकप आयोजना ग¥यो । रंगभेदको लामो इतिहास बोकेको देशका लागि यो केवल खेलकुद प्रतियोगिता थिएन ।


    विश्वकपले दक्षिण अफ्रिकाका विभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायहरुलाई एउटै राष्ट्रिय पहिचान अन्तर्गत ल्याउन मद्दत ग¥यो । विश्वभरका लाखौं पर्यटक र दर्शकहरुले अफ्रिकालाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर पाए । यो कार्यक्रमले अफ्रिकी महादेशलाई विश्व नक्सामा नयाँ सम्मान दिलायो ।

    फ्रान्सको बहुसांस्कृतिक सफलताको उदाहरण
    सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा विश्वकप जित्दा टोलीमा अफ्रिकी, अरब, युरोपेली र क्यारिबियन मूलका खेलाडीहरु थिए । त्यो टोलीलाई ‘ब्ल्याक, ब्लयाङ्क, बुर’ अर्थात् कालो, गोरा र अरबहरुको संयुक्त फ्रान्स भनेर चिनिन्थ्यो ।
    त्यो जितले फ्रान्समा बहुसांस्कृतिक समाजको सफलताको प्रतीकको रुपमा काम ग¥यो । विभिन्न समुदायहरुले आफूलाई एउटै राष्ट्रको हिस्सा भएको महसुस गरे ।
    यही विश्वकपमा इरानको उपस्थिति, युद्धविराम र हुन गइरहेको शान्ति सम्झौताले यो खेल मात्र खेल हैन, विश्वशान्तिको प्रतीक हो ।

    मेस्सी, रोनाल्डो र नेयमारको ख्याति र एकता
    विश्व फुटबलका महानहरु पेले, माराडोना, गारिन्चा, क्रुएफ, रोनाल्डो नाजारियो र हालका मेस्सी, रोनाल्डो र नेयमारको लोकप्रियता कुनै एक देशमा सीमित छैन । नेपाल, भारत, चीन, जापान, अमेरिका, अफ्रिका र युरोपका करोडौं मानिसहरु उनीहरुका समर्थक छन् ।


    विभिन्न सामाजिक सञ्जालहरुमा उनीहरुको समर्थकहरुको संख्या जोड्ने हो भने झण्डै आधा विश्व हुनजान्छ । यसले प्रमाणित गर्छ कि फुटबलले राष्ट्रियताको सीमाभन्दा बाहिर गएर विश्वव्यापी समुदाय निर्माण गरेको छ ।

    विश्वकप र आप्रवासी समुदाय
    आज विश्वका अधिकांश ठूला शहरहरु बहुसांस्कृतिक छन् । उदाहरणका लागि न्यूयोर्क सिटीमा विश्वका लगभग सबै देशका मानिसहरु बसोवास गर्छन् ।
    विश्वकपको समयमा न्यूयोर्कका सार्वजनिक पार्क, रेस्टुरेन्ट, बार र खुला मैदानहरुमा अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको, मोरक्को, जापान र अन्य देशका समर्थकहरु एकै ठाउँमा बसेर खेल हेर्छन् । खेल समाप्त भएपछि फरक राष्ट्रका मानिसहरु एकअर्कासँग फोटो खिच्छन्, गीत गाउँछन् ।

    आर्थिक र सांस्कृतिक प्रभाव
    विश्वकपले केवल खेलकुद होइन, पर्यटन, व्यापार, पूर्वाधार विकास र सांस्कृतिक आदानप्रदानलाई पनि बढावा दिन्छ । विश्वभर ८०–१०० अर्ब डलरको आर्थिक गतिविधि गर्न सक्ने खेल एक अर्थको संसार हो । आयोजक देशमा लाखौं पर्यटक पुग्छन् । उनीहरुले स्थानीय संस्कृति, खानपान, कला र इतिहाससँग परिचित हुने अवसर पाउँछन् । यसले विभिन्न देशका नागरिकहरुबीच प्रत्यक्ष सम्पर्क बढाउँछ ।
    कूटनीतिक सम्बन्ध निर्माण गर्न कहिलेकाहीं वर्षौं लाग्छ, तर खेलमार्फत मानिसहरु केही घण्टामै मित्र बन्न सक्छन् ।

    सामाजिक सञ्जालको युगमा विश्वकप
    आज फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालहरुले विश्वकपलाई अझ विश्वव्यापी बनाएका छन् ।
    काठमाडौंबाट गरिएको पोस्टलाई अर्जेन्टिनाको समर्थकले लाइक गर्छ । ब्राजिलको समर्थकले मोरक्कोको उपलब्धिको प्रशंसा गर्छ । अफ्रिकाको एउटा कथा एसियाका लाखौं मानिसले साझा गर्छन् । यसरी विश्वकपले डिजिटल युगमा विश्व नागरिकताको भावना अझ बलियो बनाएको छ ।

    साना राष्ट्रहरुको ठूलो सपना
    विश्वकपको अर्को सुन्दर पक्ष भनेको यसले साना र ठूला राष्ट्रलाई समान अवसर दिन्छ । मोरक्कोले २०२२ मा सेमिफाइनल पुग्दा सम्पूर्ण अफ्रिका र अरब विश्व उत्साहित भएको थियो । आइसल्याण्डले युरोपेली प्रतियोगितामा सफलता हासिल गर्दा विश्वभर प्रशंसा पाएको थियो ।


    फुटबलले आर्थिक वा सैनिक शक्तिलाई होइन, प्रतिभा, मेहनत र सामूहिक प्रयासलाई सम्मान गर्छ । २०२६ मा कुरासाओ र केप भेर्डजस्ता थोरै जनसंख्या र क्षेत्रफल भएका मुलुकहरुले विश्वकप खेल्दै गर्दा कसरी विश्व मञ्चमा चम्किन सक्छन्, यो ज्वलन्त उदाहारण हो ।

    किन फुटबल कहिलेकाहीं सरकारभन्दा ठूलो देखिन्छ ?
    सरकारहरुको प्रभाव सीमित भूगोलभित्र हुन्छ । तर फुटबलको प्रभाव विश्वव्यापी हुन्छ । सरकारहरु परिवर्तन हुन्छन्, प्रधानमन्त्री र राष्ट्रपति बदलिन्छन्, राजनीतिक गठबन्धनहरु टुट्छन् । तर फिफा वल्र्डकपको सम्झना पुस्तौंसम्म रहन्छ ।
    धेरै मानिसलाई आफ्नो देशको पुरानो सरकारको नाम याद नहुन सक्छ, तर उनीहरुलाई अर्जेन्टिनाले कहिले विश्वकप जित्यो, ब्राजिलले कति पटक जित्यो वा मेस्सी वा एम्बाप्पेले ट्रफी कहिले उठाए भन्ने कुरा याद हुन्छ । यसले फुटबलको सांस्कृतिक प्रभाव राजनीतिक प्रभावभन्दा फराकिलो हुन सक्ने संकेत गर्दछ ।

    निष्कर्ष
    फुटबल विश्वकप केवल ९० मिनेटको खेल होइन । यो मानवताको साझा उत्सव, विश्व एकताको प्रतीक र सांस्कृतिक पुल हो । यसले भाषा, धर्म, जाति, विचारधारा, आर्थिक अवस्था र राष्ट्रिय सीमाहरुलाई पार गरेर मानिसहरुलाई एउटै भावनात्मक बन्धनमा बाँध्छ ।


    आजको विभाजित विश्वमा फुटबल विश्वकपले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ । हामी फरक देशका, फरक संस्कृतिका र फरक भाषाका हुन सक्छौं, तर हाम्रो खुसी, सपना, आशा र भावना साझा छन् ।


    त्यसैले फुटबल विश्वकप केवल खेलकुद प्रतियोगिता होइन; यो विश्व मानवताको सबैभन्दा ठूलो उत्सव हो, जसले सरकार र राजनीतिभन्दा पनि शक्तिशाली रुपमा मानिसहरुको हृदयलाई जोड्ने काम गर्छ ।

  • कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, २० असारः कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

    यस खेलसँगै विश्वकपको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । जसमा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया रहेका छ्न् ।

  • केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश

    केप भर्डेमाथि जीत निकाल्दै अर्जेटिना विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, २० असारः साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा आज सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३-२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

    खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

    खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरे । त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर खेलको १११औँ मिनेटमा केप भर्डेका खेलाडी डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो ।

  • क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ, १९ असारः फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

    त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

  • अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ १९ असार । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।

    स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

  • इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, १८ असार । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

    खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

  • विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

  • विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
    अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे ।

    खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।

  • मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    कोलालम्पुर, १६ असार (रासस–सिन्ह्वा) । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

    मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन ९एमसीएमसी० को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताए । उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन् ।

  • फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    काठमाडौँ, १६ असारः फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो ।

    जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

  • ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

    ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

    कर्णाली, १४ असारः ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए ।

    उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।


    प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले रु एक लाख एक हजार र उपविजेताले रु ५१ हजार पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख सहयोग गरेको छ ।

  • विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    काठमाडौँ, १३ असारः एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

    आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।

  • फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    काठमाडौँ, १३ असारः उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो । फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो ।

    अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२आँै मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको २१आँै मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

    खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो । आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ । यससङै समूह आइमा अमेरिकाले नौ अङ्क बटुलेको छ भने नर्बेको ६ अङ्क छ । तेस्तै सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कबिहीन रहँदै विश्वकपबाट बाहिरियो ।

  • एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    काठमाडौँ, १३ असारः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

    विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पु¥याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

  • शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै

    शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै

    लस एन्जलस, १२ असार (रासस÷एएफपी) । फ्रान्स र नर्वेबीच शुक्रबार विश्वकपको महत्वपूर्ण समूह ‘आई’ को निर्णायक खेलमा लयमा रहेका गोलकर्ता किलियन एमबाप्पे र एर्लिङ हालान्डबीच रोमाञ्चक भिडन्त हुने भएको छ । रियल मड्रिडका स्टार एमबाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर हाल्यान्डले प्रतिस्पर्धाको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी पाँच गोलसहित गोल्डेन बुटको दौडमा पहिलो स्थानमा रहेपनि एमबाप्पे र हाल्यान्ड दुवैले ४–४ गोल गरेका छन् र गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् ।

    स्थानीय समय अनुसार शुक्रबार दिउँसो ३ः०० बजे बोस्टनको फक्सबरोमा हुने यो भिडन्तमा समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सेनेगल र इराकलाई सहजै हराएको फ्रान्सको प्रदर्शन प्रभावशाली छ । उनीहरूको राम्रो गोल अन्तरका कारण फ्रान्सलाई समूहको पहिलो स्थानमा रहनका लागि बराबरी मात्र काफी छ ।

    त्यसैगरी नर्वेको पनि अहिलेसम्मको खेलमा निकै राम्रो प्रदर्शन भइरहेको छ । नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो भने सोमबार सेनेगललाई ३–२ ले पराजित गरेको थियो । पहिलो पटक विश्वकप खेलिरहेका २५ वर्षीय हाल्यान्डप्रतिको विश्वव्यापी ध्यानाकर्षणले उहाँलाई थप उत्साहित बनाएको छ । उनको आक्रामक र उत्साही खेलशैलीले फ्रान्सको अनुभवी प्रतिरक्षालाई पनि चुनौती दिन सक्छ ।

    सेनेगलमाथिको जितपछि अन्तिम ३२ मा स्थान बनाएपछि हल्यान्डले फ्रान्ससँग खेल्नु कुनै चिन्ताको बिषय नभएको बताएका थिए । नर्वेलाई उपाधि दाबेदार हो भनी सोधिएको सवालमा उनले प्रतिस्पर्धामा रहेको कुनै पनि टोलीको उद्देश्य राम्रो नतिजा हात पार्नु रहने बताएका थिए । “बिल्कुल पनि विश्वकप जित्ने अभिलाषा कुनै पनि खेलाडीको लागि सुनौलो सपना हुन्छ,तर निर्णय ९० मिनेटको प्रतिस्पर्धामा खेलमा टोलीले समात्ने लयले निर्धारण गर्छ,” उनले फक्स टेलिभिजनसँग भने ।


    “हामीले अहिले १२ खेलमा लगातार जित हासिल गरेका छौँ। म एउटा विशेष कुराको हिस्सा बनेको छु, इतिहास रचिरहेको छु र नर्वेजियन भएकोमा अत्यन्त गर्व गरिरहेको छु”, उनले भने, “फ्रान्ससँग खेल्नु ‘मेरो लागि कुनै विशेष होइन ।” “हामीहरूले उनीहरूमाथि जित्ने सम्भावना जति रहेको छ त्यति नै सम्भावना उनीहरूको रहन्छ । त्यो सबै खेलले बताउनेछ,” उनले भने ।

    फ्रान्स र एमबाप्पेको तयारीमा यस हप्ता टोलीका व्यवस्थापक दिदिएर देसाम्प्सको आमाको निधनले टोलीलाई अस्थायी रूपमा सहायक प्रशिक्षक गाई स्टेफानले देसाम्प्सले हेर्नेछन् । यद्यपि फ्रान्स समूहमा दोस्रो भएमा जुलाई १९ को फाइनलसम्मको बाटो थप कठिन हुन सक्ने भएकाले कुनै गल्ती गर्न चाहँदैन । पराजय भएमा उनीहरूले अन्तिम ३२ मा आइभरी कोस्टसँग खेल्नुपर्नेछ, त्यसपछि सम्भवतः ब्राजिलसँग अन्तिम १६ मा खेल्नुपर्नेछ । फ्रान्सको क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेमिफाइनलमा अर्जेन्टिनासँग भेट हुन सक्नेछ ।

    शुक्रबारका अन्य खेलहरूमा, स्पेनले मेक्सिकोको ग्वाडालाहारामा उरुग्वेसँगको खेलमा समूह ‘एच’ को शीर्ष स्थान पक्का गर्न प्रयास गर्नेछ ।

    उरुग्वेलाई अन्तिम ३२ मा पुग्नका लागि यो खेलमा कम्तीमा एक अंक आवश्यक छ, किनकि उनीहरूले दोस्रो खेलमा कमजोर टोली केप भर्डेसँग २–२ को बराबरी खेलेका थिए । स्पेन बराबरीबाटै समूहको पहिलो स्थानमा पुग्नेछ। केप भर्डेले भने साउदी अरबमाथि जित हासिल गर्दै आफ्नो सपना (अभियान) लाई जारी राख्ने प्रयास गर्नेछ ।

    समूह ‘जी’ मा इजिप्टले सियाटलमा इरानलाई हराएर शीर्ष स्थान पक्का गर्न प्रयास गर्नेछ। यो खेल विवादास्पद बनेको छ। यो खेल सियाटलमा गौरवको उत्सवको भाग हो र स्थानीय अधिकारीहरूले यसलाई ‘प्राइड म्याच’ नाम दिएका छन् । इरान र इजिप्टका अधिकारीहरूले यो खेलको क्रममा हुने गौरव गाथाको विरोध गरेका छन् । इरानमा समलिङ्गी सम्बन्ध इस्लामिक कानुनअनुसार अवैध छ र मृत्युदण्डसम्म हुन सक्छ। इजिप्टमा पनि अस्पष्ट कानुनअन्तर्गत यसलाई दण्डनीय बनाइन्छ ।

    समूह ‘जी’को को अर्को खेलमा, केभिन डे ब्रुइन र रोमेलु लुकाकु भएको बेल्जियमको टोलीले न्यूजिल्यान्डलाई हराएर नकआउट चरणमा पुग्ने प्रयास गर्नेछ । यदि उनीहरू सफल भए भने मोरक्को र ब्राजिलसँग हारेर तेस्रो स्थानको दर्जामा पुछारमा रहेको स्कटल्याण्डले बाहिरिनु पर्ने सम्भावना छ ।

    “मलाई लाग्छ हामीले आफैँलाई अलिकति निराश बनायौँ”, स्कटल्याण्डका मिडफिल्डर लुइस फर्गुसनले भने, “केही खेल हेर्न र नतिजा पर्खन अलिक तनावपूर्ण हुनेछ, तर यो पर्खाइको खेल मात्र हो ।” यसैबीच, इक्वेडरले जर्मनीमाथि २–१ को जित हासिल गरी अन्तिम ३२ मा स्थान बनाएको छ । विश्वप्रसिद्ध टोलीलाई हराएको उत्साहमा इक्वेडरमा शुक्रबारलाई सार्वजनिक बिदा दिइएको छ ।

  • विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    काठमाडौँ १२ असार । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो ।

    खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो । त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो ।

    यसैबीच आजै भएको यसै समुहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

    आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

    समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ । इक्वेडरले चार अङ्क बनायो । एक अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।