लमजुङ एफसीलाई पहिलो पीएनएसबी गोल्ड कपको उपाधि

२१ असार, यूएई । पहिलो पीएनएसबी (प्रवास नेपाली सम्पर्क विभाग) गोल्ड कप प्रतियोगिताको उपाधि लमजुङ एफसीले हात पार्न सफल भएको छ । रास्वपाको चौथो स्थापना दिवस तथा प्रथम महाधिवेशनको अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, यूएईद्वारा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ २१ मेमा दुबईको अबुहेलमा रहेको स्पोर्टस् बेमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

यूएईमा क्रियाशील रहेका करिब २६ नेपाली क्लबहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा लमजुङ एफसीले लालीगुराँस एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजेता बनेको हो । प्रतियोगिताको उपविजेता लालीगुराँस एफसी बनेको छ ।


प्रतियोगिताको विजेता टिमलाई पुरस्कारस्वरुप ७७७७ यूएई दिहराम (करिब ३ लाख नेपाली रुपैयाँ) दिइएको थियो । यो पुरस्कार रकम यूएईमा हुने अन्तर नेपाली क्लबहरुको प्रतियोगितामध्येकै ठूलो हो । त्यसैगरी उपविजेता टिमलाई ३८८८ यूएई दिहराम (करिब १ लाख ५० हजार नेपाली रुपैयाँ) प्रदान गरिएको प्रवास नेपाली सम्पर्क विभाग, यूएईका खेलकुद संयोजक दिवस चापागाईंले जानकारी गराए ।
त्यसैगरी फेयर प्ले अवार्ड नवबुद्ध एफसीले प्राप्त गरेको छ ।

सर्वाधिक गोलकर्ता लालीगुराँस एफसीका खेलाडी सुमन लिम्बुले पाएका छन् । सर्वोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट गोलरक्षकमा क्रमशः लमजुङ एफसीका आशिष थापा मगर, सञ्जीब लामा भएका छन् । कार्यक्रमकै बीचमा प्रवास नेपाली सम्पर्क विभाग यूएईका प्रमुख सुजन थापाले चौथो स्थापना दिवसको अवसरमा केक काटेर मनाइएको थियो ।