२१ असार, यूएई । यूएईमा रहेको नेपाली महावाणिज्य दूतावास दुबईले श्रमिक संवाद एवं सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महावाणिज्य दूतावास दुबईको सभाहलमा २१ जुनमा आयोजित कार्यक्रममा यूएईमा रहेका नेपाली श्रमिक लक्षित विभिन्न जनचेतनामूलक विषयमा संवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुका साथै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो । नेपाली महावाणिज्य दूतावास दुबईका महावाणिज्यदूत हरिप्रसाद ओडारीले महावाणिज्य दूतावास दुबई नेपाली श्रमिकहरुलाई आइपर्ने हरेक समस्याहरुको समाधानको लागि निरन्तर लागिपरेको बताए । उनले श्रमिकहरुका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताको आधारमा सेवा दिइरहेको जानकारी दिए ।
महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत तथा सूचना अधिकारी कुञ्जन शाहले सञ्चालन गरेको कार्यक्रममा उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । त्यसैगरी यूएईमा नेपालीद्वारा सञ्चालित निको पोलिक्लिनिकका डा. भुवन सुवेदीले श्रमिकहरुका स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक प्रस्तुति राखेका थिए ।
नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरीले सामाजिक सुरक्षाकोषको बारेमा प्रकाश पारेका थिए भने नेपाली समाज यूएईका कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले कानुनी सचेतना प्रदान गरेका थिए ।