राजदूतावासमा राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद

२१ असार, यूएई । नेपाली राजदूतावास अबुधाबीले राहदानी नवीकरण तथा खुल्ला श्रमिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । २८ जुनमा दूतावासको सभाहलमा आयोजित राहदानी नवीकरण तथा खुल्ला संवाद कार्यक्रममा सहभागी नेपाली श्रमिकहरुलाई संयुक्त अरब इमिरेट्सको श्रम कानून, श्रमिकका अधिकार तथा कर्तव्य, गुनासो व्यवस्थापन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगार, नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।


साथै, श्रमिकहरुलाई विभिन्न सरकारी सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले मोफा मित्र एप, नागरिक एप, मोहरे एपसम्बन्धी जानकारी दिइनुका साथै मोबाइलमा एपहरु स्थापना गर्न र राहदानी तथा कागजात प्रमाणीकरणका विषयमा आवश्यक सहजीकरणसमेत गरिएको थियो ।


उनीहरुलाई राजदूतावासका श्रम सहचारी पंकज लाभ कर्ण र तृतीय सचिव बिमलेशकुमार मिश्रले सम्बन्धित विषयहरुमा जानकारी गराउँदै उठेका सवालहरुको जवाफ दिएका थिए । उनीहरुले श्रमिक अधिकारका विषयमा जानकारी गराउनुका साथै श्रमिकहरुका श्रम समस्या, कानुनी सहायता, दूतावास र महत्वपूर्ण सम्पर्क नम्बरहरुका बारे जानकारी दिएका थिए ।


कार्यक्रममा विद्यमान स्वास्थ्य जनचेतनासम्बन्धी विषयहरुमा नेपाली समुदायका तर्फबाट नेपाल पत्रकार महासंघ, यूएई शाखाका निवर्तमान अध्यक्ष लक्ष्मण खनाल र प्राथमिक उपचार प्रशिक्षक जगन अधिकारीद्वारा व्यावहारिक जानकारी प्रदान गरिएको थियो थियो । सोही दिन दूतावास आएका करिब तीन दर्जन सेवाग्राहीहरुको राहदानी नवीकरण गरेको दूतावासका सूचना अधिकारी भूपदेव घिमिरेले जानकारी गराए ।


यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको विशेष उपस्थिति रहेको कार्यक्रममा करिब ४ दर्जन श्रमिकहरु सहभागी भएका थिए ।