Category: खेलकुद

  • विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

    विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

    काठमाडौँ, ३० जेठः तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए ।

    स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो । त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए ।

    त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।

  • फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    काठमाडौँ, ३० जेठः फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
    क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अङ्क बाडेका छन् ।

    खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

    क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एकरएक गोलको बराबरीमा टुङ्गियो । आजै विश्वकपको चौथो तथा समूह डी को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा भइरहेको छ । सो खेलमा अमेरिकाले अग्रता लिएको छ ।

  • फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    ग्वाडलाजारा (मेक्सिको), २९ जेठ (रासस–एएफपी) । विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो । ८० औँ मिनेटसम्म चेकले खेल आफ्नो पक्षमा मोड्ने सङ्केत दिएको थियो, तर प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले निर्णायक गोल गर्दै कोरियालाई जित दिलाए ।


    दक्षिण कोरियाले खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको थियो । स्टार खेलाडी सोन ह्युङ–मिनको नेतृत्वमा कोरियाली टोलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन । उनले गरेको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास थोरै फरक दिशामा गएको थियो । दोस्रो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो । लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । जसपछि खेलमा तनाव थपिएको थियो ।

    तर कोरियाले दबाब बढाउँदै पुनरागमन गर्‍यो । ह्वाङ इन–बिओमले ६७ औँ मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गरे । जसले कोरियाली समर्थकमा उत्साह भरेको थियो । त्यसपछि चेक रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै ह्वाङले नै निर्णायक पास उपलब्ध गराए । जसलाई ओह ह्योन–ग्यूले दायाँतर्फबाट आएको बललाई सहजै गोलमा परिणत गरे ।


    खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भए पनि दक्षिण कोरियाले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो । अन्तिम सिटी बज्नेबित्तिकै कप्तान सोन ह्युङ–मिनले मैदानमै खुसी व्यक्त गरे । यस जितसँगै दक्षिण कोरियाले आफ्नो अर्को खेल सह–आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । चेक गणतन्त्रले भने आफ्नो अर्को खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

  • विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    काठमाडौँ, २९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

    मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

    त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

    विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

  • विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    काठमाडौँ, २९ जेठ । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका हरायो । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए ।

    खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

    विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो । ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

    दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

    जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिकाबा६ट पनि सुरुमै दबाब परेको छ । सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।

    सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यसपटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलोपटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।

    विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हँुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

    आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा यो प्रतियोगिता समापन हुनेछ । विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुनेछ । तीनवटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।

    मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तरराष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाट गर्नेछ । उक्त खेल नेपाली समयअनुसार भोली बिहान ६ः४५ बजे हुनेछ ।

    त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेको अनुभव छ ।

  • काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    काठमाडौँ, २८ जेठः फिफा विश्वकप फुटबल–२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।

    उनले पूर्वस्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न÷नगराउन सबैलाई अनुरोध गरेका छन् । खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकाले उक्त निवेदनमा उल्लेखित शर्तहरुको अधिनमा रही सङ्घसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइने जनाइएको छ ।

    काठमाडौँ प्रशासनले आजै एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी कोहीकसैले यस कार्यालयको स्वीकृति बेगर आज रातिदेखि हुने फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणका नाममा भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भए कानुनबमोजिम कारबाही हुने जानकारी दिएको छ ।

  • विश्वकपअघि भिसा विवाद

    विश्वकपअघि भिसा विवाद

    वासिङ्टन, २८ जेठ (रासस-एएफपी)

    आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ ।

    विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उन्ल्े कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए ।


    गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिएको अधिकारीको भनाइ थियो ।

    सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ ।

    गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे ।


    उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो ।

    विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए ।

  • फूटबल विश्वकपको महाकुम्भ आजबाट, अहिलेसम्मकै ठूलो ग्लोबल इभेन्ट

    फूटबल विश्वकपको महाकुम्भ आजबाट, अहिलेसम्मकै ठूलो ग्लोबल इभेन्ट

    २७ जेठ, काठमाडौं । युनिभर्सल गेमका रुपमा परिचित फूटबलको एक उपाधी, विश्वकप, जसलाई उचाल्ने लक्ष्यका साथ महाशक्ति राष्ट्रहरु आजबाट मैदानमा उत्रिँदैछन् । फिफा विश्वकप २०२६ को महासंग्राम उत्तर अमेरिकामा आजबाट शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे शुरु हुनेछ ।

    यसपटक ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना साथ मैदान उत्रिँदैछन् । यसअघि ३२ टोली मात्र खेलाउने गरिएकोमा फिफा विश्वकप २०२६ मा देशहरु थपिएका छन् । यस पटकको मुख्य विशेषता भनेको विश्वकपमा अहिलेसम्मकै धेरै ४८ राष्ट्र सहभागी हुँदैछन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ । जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो ।

    फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाबाट ६(६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् । टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ ।

  • नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    काठमाडौँ, २७ जेठः एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो ।

    थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनमा समेटियो । नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन् । यस्तै, सोनी पाख्रिनले १५ तथा सम्झना खड्का र सीता रानामगरले समान १२÷१२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रनको योगफल बनाएको थियो ।थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको योगदान दिइन् । यस्तै, फानिता मायाले २६ रन बनाइन् भने चानिदा सुथिरूवाङले १६ तथा कप्तान नारूमोइ चाइवाइ ८ रन बनाइन् ।

    बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १÷१ विकेट लिए । यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो । एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ ।

  • मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    टक्सार (भोजपुर), २५ जेठः ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ अन्तर्गत भएको दौडमा खुला पुरुषतर्फ प्रताप थामसुहाङ र महिलातर्फ पुष्पा शेर्मा प्रथम भएका छन् । अठार किलोमिटरको दौडमा एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै प्रताप र दुई घण्टा ३३ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै पुष्पा प्रथम भइन् ।


    रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा आज सञ्चालन पुरुष तथा महिला खुला र ४० वर्षमाथि महिला, पुरुष (भेट्रान) दौड प्रतियोगितामा ५८ जनाको सहभागिता थियो । चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ, पाँचधारे हुँदै चखेवासम्म सञ्चालन भएको दौडको खुला पुरुषतर्फ चन्द्रबहादुर लिम्बु द्वितीय, दीपक राई तृतीय हुनुभयो भने महिलातर्फ रुष्मा राई द्वितीय, दीर्पा बस्नेत तृतीय भए ।


    एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिएको हो । ४० वर्षमाथि पुरुष (भेट्रान) तर्फ दुई घण्टा १२ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै जङ्गवीर कुलुङ प्रथम, किरण कुलुङ द्वितीय र विजयकुमार राई तृतीय भए ।


    महिलातर्फ तीन घण्टा २९ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै जमूना राई प्रथम, विनिता राई द्वितीय र निर्वा राई तृतीय भएको आयोजक संस्थाका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । उनले मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गरिएको बताए ।


    खुला पुरुष तथा महिला दुवैतर्फ प्रथमले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । उक्त विधामा उत्कृष्ट सात जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । भेट्रान पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट तीनस्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

  • इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

    इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

    तेहरान, २५ जेठ (रासस–सिन्ह्वा) । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ ।

    महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ । महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिसा उपलब्ध गराइनु आवश्यक छ ।

    इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष पनि उठाएको जनाएको छ । महासंघले प्रतियोगितामा सहभागी टोलीका आवश्यक अधिकारीहरूको भिसा सुनिश्चित गराउने जिम्मेवारी फिफाको समेत रहेको उल्लेख गरेको छ । इरानी फुटबल महासंघले आयोजक राष्ट्रको यो कदमलाई विभेदपूर्ण र लक्षित व्यवहारको संज्ञा दिएको छ । महासंघका अनुसार यस्तो निर्णयले प्रतियोगितामा सहभागी राष्ट्रहरूका लागि समान र निष्पक्ष वातावरणको सिद्धान्तमाथि प्रश्न उठाएको छ र खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको छ ।

    यद्यपि, अमेरिकाले इरानी राष्ट्रिय टोलीका खेलाडीहरूका लागि आवश्यक भिसा प्रक्रिया सम्पन्न भएको जनाएको छ । टर्कीएस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूको भिसा प्रक्रिया सम्पन्न गर्न अमेरिकी दूतावासले गरेको कार्यको प्रशंसा गर्दै खेलकुदले सीमाना नाघेर विश्वलाई जोड्ने माध्यम भएको उल्लेख गरेका छन् ।

    उनले विश्वभरबाट आउने खेलाडी तथा समर्थकहरूलाई स्वागत गर्न अमेरिका उत्साहित रहेको पनि बताए । इरानी सञ्चारमाध्यमहरूका अनुसार भिसा नपाउने व्यक्तिहरूमा इरान फुटबल महासंघका अध्यक्ष, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक, महासंघका महासचिव तथा टोलीका सञ्चार निर्देशक रहेका छन् । उनीहरू टोलीको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारीमा संलग्न प्रमुख अधिकारीहरू मानिन्छन् ।


    सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । इरान समूह ‘जी’ मा परेको छ र उसले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । त्यसपछि जुन २१ मा बेल्जियमसँग सोही मैदानमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध खेल्ने कार्यक्रम रहेको छ ।

    विश्वकपको तयारी तीव्र भइरहेका बेला देखिएको यो भिसा विवादले खेलकुद र कूटनीतिक सम्बन्धबीचको संवेदनशील सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ । इरानले यस विषयमा अन्तर्राष्ट्रिय खेलकुद निकायहरूको ध्यानाकर्षण गराउँदै समाधान खोज्न आग्रह गरेको छ ।

  • विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    तेहरान, २३ जेठ (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको छ । यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । खेलको उद्घाटन यही जेठ २९ गते हुनेछ ।

    आयोजक राष्ट्रमध्ये एक अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण आयोजक राष्ट्र अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको आरोप इरानले अमेरिकामाथि लगाएको छ। टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकले खेलाडीहरूलाई भिसा प्रदान गरिएको घोषणा गरेको उल्लेख गर्दै भनेको छ, “व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको छ भनेर तपाईं किन भन्नुहुन्न ?”

    दूतावासले अगाडि भनेको छ, “इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको छ ।” इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए ।


    शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् । शुक्रबार ताजले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “टोलीका सबैजनालाई भिसा जारी गरिनेछ भन्ने आफ्नो मूल्याङ्कन रहेको र यस सम्बन्धमा कुनै समस्या नहुने आशा गरिएको छ।”

    इरानीहरूले आफ्नो विश्वकप खेलमा टोली रहने स्थानलाई स्थानान्तरण गरेका छन् । सुरुमा टक्सन, एरिजोनामा हुने भनिएको उक्त बसाईलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती शहर तिजुआनामा स्थानान्तरण गरिएको छ। टोलीका सबै तीन समूह चरणका खेलहरू संयुक्त राज्य अमेरिकामा हुने कार्यतालिका सार्वजनिक भएको छ । टोलीले जुन १५ मा न्युजिल्यान्डसँग जुन २१ मा बेल्जियमसँग दुई खेल लस एन्जलसमा र जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ ।

  • विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    तेहरान, २४ जेठ (रासस–एएफपी) । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उडेको हो । इरानको राष्ट्रिय टोली २० घण्टाको उडानपछि तिजुआना पुग्नेछ ।

    इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए । शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।

  • रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवा, २३ जेठ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।


    मुख्यमन्त्री बानियाँले स्थानीय हावापानी अनुकूल कृषि उत्पादन वृद्धि गरी पर्यटकलाई स्वस्थ तथा सन्तुलित भोजन उपलब्ध गराउन सके पर्यटन क्षेत्र थप आकर्षक बन्ने बताए । समुद्र सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याङ्जेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरी पार गर्नुपर्नेछ । प्रतियोगितामा दुई विदेशी महिलासहित एक सय तीन खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

    बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो । पर्यटनमन्त्री श्रेष्ठले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधतालाई विश्वसामु चिनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले लाङटाङ पदमार्गलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वातावरण संरक्षण, सरसफाइ र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए ।


    आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे । खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए ।


    रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार यस्ता कार्यक्रमले लाङटाङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न थप मद्दत पुग्नेछ । यहाँ आयोजित साहसिक दौड प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई लाङटाङको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा हेरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङको भनाइ छ ।

  • खेलकुदका माध्यमबाट अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति

    खेलकुदका माध्यमबाट अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति

    काठमाडौँ, २० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे । उनले भने, “यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो ।”

    खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज यो आकर्षक पेसा र राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले भने, “खेलकुदको यो विशिष्ट महत्त्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालयतहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम र गतिविधि बढाएर खेलप्रति आकर्षित र प्रोत्साहन गर्न सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्दछ । खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय र सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।”

    राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितमा मेरो भविष्य सुरक्षित छ भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्त्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई सङ्घ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्न हुँदैन ।” उनले जित र हार खेलको स्वभाविक पक्ष भए पनि खेलकुदका प्रतियोगितमा सहभागिता, निरन्तर अभ्यास एवं प्रयास, सिकाइ र अनुभव नै महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

  • कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    धरान (सुनसरी), १९ जेठः कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

    प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताबाट राष्ट्रियस्तरका लागि छनोट भएका ११५ खेलाडी तथा अफिसियललाई आज साँझ बिदाइ गरी काठमाडौँ पठाइएको छ । बिदाइ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई अनुशासन, मेहनत र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।


    त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही जेठ २० गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सातै प्रदेशका कुल ६८६ खेलाडीको सहभागिता रहने (राखेप)ले जनाएको छ ।

    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएका छन् । ती खेलमा कुल ६६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    राखेपका सदस्य सचिवका रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुने छन् ।

  • फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    पेरिस, १८ जेठ (रासस–एएफपी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्। पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबीच भीड नियन्त्रणका क्रममा झडप भएको थियो ।

    प्रशासनले गत वर्षको बिजयोत्सबपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो । कानून प्रवर्तनलाई लक्षित आतिशबाजीको बढ्दो प्रयोग र झडपलाई प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने, “फ्रान्समा ५७ सुरक्षाकर्मी र २१९ जना बिजयोत्सवमा सहभागी व्यक्ति घाइते भएका छन्भने उनीहरूमध्ये आठ गम्भीर रूपमा घाइते भएका छन् ।”

    पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटनामा एक युवकको मृत्यु भएको घोषणा गरेको छ र राजधानीमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताएको छ । नुनेजले गत वर्ष पिएसजीको च्याम्पियन्स लिग जितको खुसियालीको तुलनामा यो सङ्ख्या ३२ प्रतिशतले बढी भएको बताए ।

  • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    अमरगढी (डडेल्धुरा), १७ जेठः सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ । त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

    डडेलधुराले ६ स्वर्ण, सात रजत र १७ कास्य पदक जित्यो । बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे । प्रतियोगिताभर कुल २३२ पदक वितरण गरिएको थियो । जसमा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश रहेका थिए ।

    समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्र युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै प्रदेश सरकारले खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीबीच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल, कबड्डीलगायत खेलमा प्रतिस्पर्धा भएको थियो । छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना तथा खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

  • नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    टेरेसोपोलिस, ब्राजिल, १६ जेठ । रासस–एएफपी) । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् ।

    विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने खेलका लागि निको हुने गरी उपचार भइरहेको बताएका हुन् ।


    “हामीलाई विश्वास छ कि उनी चाँडै मैदानमा फर्कनेछन्, यदि उनी पहिलो खेल खेल्न सकेनन् भनेपनि दोस्रो खेलका लागि तयार हुनेछन्,” इटालियन एन्सेलोट्टीले भने ।
    बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार नेइमारले विश्वकपअघि पानामा र इजिप्टविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्ने छैनन् । ब्राजिलले पानामासँग आइतबार माराकाना रङ्गशालामा खेल्नेछ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

    विश्वकपका लागि एन्सेलोट्टीको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गर्नु आश्चर्यको कुरा थियो किनभने उनी चोटपटक पछिल्लो समय खेलमा कमजोर प्रदर्शन कारण लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन् । यद्यपि, नेयमार सेलेकाओका लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो उनको विश्वकप खेलमा चौथो प्रवेश हो ।

  • फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी

    फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी

    तेहरान, १५ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोली (फिफा) का लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ । फिफाका अध्यक्ष मेहदी ताजले भने, “फिफाले ‘मल्टिपल इन्ट्री (बहुप्रवेशी)’ भिसा दिने अपेक्षा गरिएको छ ताकि खेलाडीहरू अमेरिका प्रवेश गर्न र मेक्सिको फर्कन सकून्।”

    ‘टिम मेली’ को रूपमा चिनिने इरानी टोलीले सुरुमा प्रतियोगिताको क्रममा एरिजोनाको टक्सनमा रहने योजना बनाएको थियो तर पछि यसको प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ । यसले अमेरिका र क्यानडासँगै विश्वकपको सह–आयोजना गर्नेछ। अमेरिकी भिसासँग सम्बन्धित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमा सिधै मेक्सिको यात्रा गर्न अनुमति दिनका लागि यो कदम चालिएको ताजले यसअघि बताएका थिए ।


    इरानले समूह ‘जी’ का सबै तीन खेल अमेरिकामा खेल्नेछ । उनले भने, “अब मेक्सिको जाने निश्चित भएको छ । टोली तयारी गरिरहेको छ।” फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले गरेको बमबारी अभियानपछि सुरु भएको मध्यपूर्व युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता महिनौँदेखि अनिश्चित थियो।

    टोलीले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग खेल्नेछ भने समूह चरणमा बेल्जियमसँग सोही शहरमा र इजिप्टसँग सियाटलमा खेल्नेछ। बिहीबार ताजले इरानका प्रसिद्ध स्ट्राइकरलाई सङ्केत गर्दै ‘सरदार अजमुनको अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
    टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक टोलीको सूचीबाट उनलाई हटाइएको बताएका िथए । बायर लेभरकुसेन र एएस रोमाबाट खेलिसकेका अज्मौनले यसअघि पनि सरकार विरोधी प्रदर्शनको समर्थन गरेका थिए ।


    उनले इरानी मिडियाबाट पनि आलोचनाको सामना गर्नुपरेको थियो । मार्चमा प्रकाशित एक फोटोले उहाँलाई दुबईका शासकसँग देखाइएको थियो, जहाँ उनी हाल खेल्छन् र बस्छन् । सोमबार इरानका एक उपराष्ट्रपतिले अज्मौनलाई राष्ट्रिय टोलीमा पुनस्र्थापित गर्न आह्वान गरेका थिए । हालैको इन्स्टाग्राम पोस्टमा अजमौनले भनेका छन्, “उनले एक पटक ‘अर्को देशको धेरै ठूलो वित्तीय प्रस्ताव’ अस्वीकार गरेका थिए र आफूलाई ‘इरानको सन्तान’ भनेका छन् ।

  • विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

    विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

    मेक्सिको सिटी, १२ जेठ (रासस–एएफपी) । विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ । मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताइन् । इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो ।

    राष्ट्रपति शेनबामले इरानी टोलीको व्यवस्थापनबारे गरिएको पत्रकार सम्मेलनमा भनिन्, “अमेरिका इरानी फुटबल समूह र इरानी शुभेच्छुकलाई आफ्नो भूमिमा राख्न चाहँदैनथ्यो । त्यसैले इरानले मेक्सिकोमा बस्नका लागि अनुमति मागेका थिए र हामीले उनीहको प्रस्तावलाई स्वीकार गरेका छौँ । उनीहरूलाई राख्न कुनै समस्या छैन ।”

  • नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    काठमाडौँ, ११ जेठः नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।
    क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका छन् ।

    सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसीलाई ‘ए’ श्रेणीमा समावेश गरिएको छ । यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् भने ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह परेका छन् ।

    विकासतर्फको ‘डी’ श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल समावेश छन् । यसैगरी महिला क्रिकेट टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा परेका छन् ।

    कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् । त्यसैगरी इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा ‘सी’ श्रेणीमा समावेश हुँदा विकासतर्फको ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सवित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् ।

    क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक रु एक लाख २० हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले रु एक लाख, ‘बी’ श्रेणीका खेलाडीले रु ७५ हजार, ‘सी’ श्रेणीका खेलाडीले रु ५५ हजार तथा विकासतर्फ ‘डी’ श्रेणीका खेलाडीले मासिक रु ३५ हजार पाउनेछन् ।
    यस्तै महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई मासिक रु ५५ हजार, ‘बी’ श्रेणीलाई रु ४० हजार, ‘सी’ श्रेणीलाई रु ३० हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई मासिक रु २५ हजार पारिश्रमिक दिइने क्यानले जनाएको छ ।

  • एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    काठमाडौँ, १० जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि रहेका छन् ।

  • अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

    अन्तरराष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

    काठमाडौँ, ९ जेठः राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

    नेपालले आज कीर्तिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो । त्यसैगरी, खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जित हासिल गर्न सफल भयो । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् । यस जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

    नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै कीर्तिस्तान, माल्दिभ्स र भारत छन् । त्यसैगरी, समूह ‘बी’ मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् ।

    प्रतियोगितामा आइतबार तीन खेल हुनेछ । पहिलो खेल १२ बजे इरान र श्रीलङ्काबीच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशवीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।

  • विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

    विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

    ८ जेठ, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

    अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे ।

    अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए । आजको जितसँगै नेपाल अङ्क तालिकामा २८ खेलपछि ११ जित, १५ हार र दुई वटा अनिर्णितसहित २४ अङ्क जोडेको छ ।

  • मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

    फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन् ।


    खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताउनुभयो । “खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो”, नगरप्रमुख पोखरेलले भने, “यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।”

    पछिल्लो समय भद्रपुरमा अन्तरराष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्को मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ ।

    फ्लडलाइट प्रणाली जडानकार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

  • महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

    महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

    काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे । मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए ।


    उनले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

    अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

    काठमाडौँ, ६ जेठः आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

    अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७\३७ रन बनाए । कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए । मिलिन्द कुमार २४ रनमा अविजित रहँदा शुभम रन्जानेले ११ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनाएको थियो ।

    स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए । त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए ।

    बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारे । त्यस्तै शुभम रञ्जनेले दुई विकेट लिँदा हरमित सिहले एक विकेट लिए । जितसँगै अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । समान ३८ नै अङ्क रहेको स्कटल्याण्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यस त्रिकोणात्मक शृङ्खलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।

  • विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    तेहरान, ५ जेठ (रासस–एएफपी) । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार बिहान टर्कीको अन्टालियातर्फ प्रस्थान गरेको हो । टोलीमा प्रशिक्षक समूहसहित घरेलु लिगमा खेलिरहेका २२ खेलाडी समावेश छन् । विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्नेछ । मुख्य प्रशिक्षक अमिर घालेनोईले शनिबार टोली टर्कीमा रहँदा अमेरिकी भिसाका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिने जानकारी दिनुभएको थियो । इरान र अमेरिकाबीचको जटिल राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रिया टोलीका लागि विशेष चासोको विषय बनेको छ ।

    संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपमा इरानको सहभागिता दुई देशबीचको संवेदनशील राजनीतिक परिस्थितिका बीच हुँदैछ । फेब्रुअरी २८ बाट सुरु भएको ४० दिन लामो युद्धपछि इरान र अमेरिकाबीच हाल नाजुक युद्धविराम कायम छ । इस्लामिक क्रान्तिपछि अमेरिकी दूतावासमा भएको बन्धक सङ्कटका कारण अमेरिकाले सन् १९८० मा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव खेलकुद गतिविधिमा समेत देखिने गरेको छ ।

    इरानले टर्कीको अन्टालियामा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल व्यवस्थापन गर्ने कम्पनीका प्रमुख इरानी–क्यानेडियन साम मेहदिजादेहका अनुसार इरानले मे २९ मा गाम्बियाविरुद्ध खेल्ने खेल निश्चित भइसकेको छ । अर्को मैत्रीपूर्ण खेलबारे भने छलफल जारी रहेको बताइएको छ ।

    इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले बिहीबारसम्म खेलाडीहरूको अमेरिकी भिसा जारी नभएको जानकारी दिएका थिए । उनका अनुसार भिसा प्रक्रियाअन्तर्गत खेलाडीहरूले टर्कीमा औँठाछाप दिनुपर्ने व्यवस्था गरिएको छ । तर टोलीले अन्टालियाबाट अङ्कारासम्म करिब ३८० किलोमिटरभन्दा बढी यात्रा गर्न नपरोस् भन्ने चाहना राखिएको ताजले उल्लेख गरे । त्यसैले प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।

    यसैबीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले शनिबार टर्कीमा इरानी फुटबल महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई उनले ‘उत्कृष्ट र रचनात्मक’ भएको प्रतिक्रिया दिए । इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठक सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको बताउनुभयो । यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन ।

    विश्वकपका लागि अमेरिका पुगेपछि इरानी टोलीले एरिजोनाको टक्सनमा आफ्नो आधार शिविर स्थापना गर्नेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ । त्यसपछि इरानले सोही सहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ । विश्वकपअघि भइरहेको टर्की भ्रमणलाई इरानी टोलीले खेल तयारी मात्र नभई, राजनीतिक तथा प्रशासनिक चुनौती व्यवस्थापनसँग पनि जोडेर हेरिएको छ ।

  • विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

    विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

    काठमाडौँ, ४ जेठः राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन् । इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे ।

    बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलनले एक विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो । स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा छ चौका र छ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन् । त्यसैगरी माइकल इङ्ग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए । जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे ।

    बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एकरएक विकेट लिए । यो जितसँगै विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोतिगामा नेपाल २२ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यता पराजित स्कटल्यान्ड भने ३८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा यथावत छ ।