Category: खेलकुद

  • क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

    क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौँ, ४ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

    तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

    नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

  • इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    तेहरान, ४ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताएका छन् । मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।

    “हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ,” ग्राफस्ट्रमले भने । उनले भने, “मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ।” “हामीले प्रत्येक सदस्य संघसँगजस्तै इरानी टोलीको परिचालनसम्बन्धमा छलफल गर्ने अवसर पाएका छौँ,” उनले अगाडि भने ।


    उनले थपे, “म धेरै खुसी छु, हामी छलफलबाट सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भयौँ । इरान एफए र फिफा दुवै बैठकबाट धेरै खुसी छन् र संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा इरानी फुटबल टोली (टीम मेली) लाई स्वागत गर्न उत्सुक छन्।” इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानको टोलीका लागि भिसा जारी नगरिएको बताएका छन् ।


    उनले शनिबारको बैठकलाई विवरणमा नगई ‘सकारात्मक र रचनात्मक’ पनि भनेका छन् । “हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” उनले भने । टर्की फुटबल फेडरेशनको मुख्यालयमा आयोजित यो बैठक सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरमा जाने तयारी गरिरहेका बेला भएको हो ।

    इरानले अन्टालियामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । उनीहरूले पहिले नै मे २९ मा गाम्बियाबिरूद्ध एक खेलको पुष्टि गरिसकेका छन्, इरानी टीमको लागि मैत्रीपूर्ण खेल सेट गर्ने कम्पनीको नेतृत्व गर्ने एक इरानीमुलका क्यानेडियाली नागरिकसाम मेहदीजादेहले भने ।


    इरान लगातार चौथो पटक फाइनलमा पुगेको छ र टोली अमेरिका पुगेपछि एरिजोनाको टक्सनमा रहनेछ । इरानले समूह–जीमा रहेर जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग विश्वकप अभियान सुरु गर्नेछ, त्यसपछि त्यही शहरमा बेल्जियम र त्यसपछि सिएटलमा इजिप्टको सामना गर्नेछ।

  • अमेरिकामाथि नेपालको सहज जित

    अमेरिकामाथि नेपालको सहज जित

    काठमाडौँ, २ जेठः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।

    यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा ग¥यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक÷एक विकेट लिए ।

    अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन् । यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अङ्क छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अङ्क बनाएको छ भने स्कटल्यान्ड ३८ अङ्कसहित खेल तालिकाको अग्र स्थानमा छ ।

  • आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

    आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

    काठमाडौँ, २ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल जारी छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर बोर्डमा १९५ रन जोडेको छ । अब नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ । अमेरिकाका लागि समिट पटेलले ८३ र शेहान जयसूर्याले ५० रनको योगदान गरे ।

    मिलिन्द कुमारले २८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिएनन् । बलिङमा दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो । अब नेपाल जवाफी ब्याटिङमा निस्कने तयारीमा छ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

    नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

  • एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

    एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

    काठमाडौँ, १ जेठः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिए । उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए ।


    पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई यसअघि राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई एन्फाले अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते निलम्बन गरेको थियो । त्यसअघि राखेपले पटकपटक निर्देशन गरे तापनि एन्फाले गत चैत १३ गते निर्वाचन गर्ने आडान लिएपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको थियो ।

  • विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    वासिङ्टन, १ जेठ, (रासस–एएफपी) । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो ।

    अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी हुने टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकहरूलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा प्राप्त गर्न समर्थकहरूले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।

    ट्रम्प प्रशासनले हालै लागू गरेको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ती नागरिक अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गर्न सकिनेछ ।

    तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुहरूलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदारले अमेरिका विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि बलियो राख्न प्रतिबद्ध रहेको बताइन् ।

    उनले भनिन्, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ। ” उनका अनुसार ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो र उत्कृष्ट फिफा विश्वकप आयोजना गर्ने लक्ष्य राखेको छ । फिफाले पनि अमेरिकी निर्णयलाई स्वागत गरेको छ । फिफाका प्रवक्ताले जारी गरेको वक्तव्यमा अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय कार्यक्रम बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।

    यद्यपि सहजता दिइए पनि केही देशका समर्थकहरू अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका पाँच देशका नागरिक भने अझै भिसा बन्ड नीतिबाट प्रभावित हुनेछन् । ती देशहरूमा अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया रहेका छन् । यसका अतिरिक्त, विश्वकपमा छनोट भएका कम्तीमा दुई देशका नागरिकमाथि ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ । तीमध्ये एक पश्चिमी गोलार्धको सबैभन्दा गरिब राष्ट्र मानिने हाइटी हो । अर्को इरान हो, जहाँ अमेरिका र इजरायलसँगको सैन्य तनाव चर्किरहेका कारण त्यहाँका नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीचको तनाव अझ बढेको थियो । त्यसपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ । ट्रम्प प्रशासनले मित्रवत पश्चिमी मुलुकका यात्रुहरूमाथि समेत निगरानी बढाएको छ । नयाँ व्यवस्थाअनुसार अमेरिका प्रवेश गर्न चाहने कतिपय विदेशी आगन्तुकहरूले आफ्ना सामाजिक सञ्जाल गतिविधि अमेरिकी सरकारलाई हेर्न अनुमति दिनुपर्नेछ । यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको अतिरिक्त छानबिनका रूपमा हेरिएको छ ।

    यसबीच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थकहरू भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकालेको छ । अध्ययनअनुसार हाइटीले आफ्ना खेलहरू घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ । विशेषगरी बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि यो नीति आर्थिक रूपमा निकै भारी बन्ने देखिएको छ । अध्ययनले ती देशहरूमा १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न असम्भवजस्तै बनाउने विश्लेषण गरिएको छ ।

    सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा हेरिएको छ र प्रतियोगितामा लाखौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ ।

  • आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्यान्डको जित

    आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्यान्डको जित

    काठमाडौँ, ३१ वैशाखः आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो । वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ३२ ओभरमा २४९ रन बनाउनुपर्ने थियो । तर अमेरिका आठ विकेट गुमाएर २४६ रनमै सीमित बनेपछि स्कटल्यान्डले जित हात पार्‍यो ।

    अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले शानदार शतक प्रहार गरे । उनले ७५ बलमा ५ चौका र आठ छक्का प्रहार गर्दै १०४ रन बनाए । त्यस्तै स्मित पटेलले ५६ बलमा १२ चौका र एक छक्कासहित ७२ रन जोडे । यी दुईले अमेरिकालाई जित नजिक पुर्‍याए पनि अन्तिम ओभरतिर लगातार विकेट गुमाउँदा टोली पराजित हुन पुग्यो । अमेरिकाका कप्तान मोनांक पटेल १२, शायन जहाँगिर चार, शेहान जयसूर्या नौ र मिलिन्द कुमार चार रनमा आउट भए । शुभम रञ्जानेले १६ रन बनाए भने हरमित सिंह एक बलमा छक्का प्रहार गर्दै छ रनमा अविजित रहे । स्कटल्यान्डका लागि ब्राड करी, ब्रान्डन म्याकमुलन र सफयान शरिफले समान दुई(दुई विकेट लिए । मार्क वाट र ओलिभर डेभिडसनले एक(एक विकेट हात पारे ।

    त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा छ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा छ चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमै आठ चौका र दुई छक्कासहित ५८ रन जोडे ।

    त्यस्तै, ब्रान्डन म्याकमुलनले ४० बलमा पाँच चौका र तीन छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले । माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ र माइकल लिस्कले अविजित २८ रन बनाए । कप्तान रिची बेरिङ्टन १० रनमा आउट भए भने जर्ज मुन्सीले २० रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान दुईदुई विकेट लिए । मिलिन्द कुमार र शुभम रन्जानेले एक–एक विकेट हात पारे ।

  • आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

    आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

    काठमाडौँ, ३० वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।

    त्यस्तै एकदिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ अङ्क १५३ छ । त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन् । एकदिवसीय वरियताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन् । त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन् ।

  • विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय पारी खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए । उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का हाने । कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।


    बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए । अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए ।


    २० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारे । यस्तै करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पारे आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर नन्दन यादवले दुई विकेट लिए । नेपालका लागि १० ओभर बलिङ गरेका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बने । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोहित पौडेलसमेत विकेटबिहीन बने ।


    जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलबाट ३६ अङ्क बनायो । पराजित नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २४ खेलबाट ३६ अङ्क जोड्दै शीर्षस्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

  • ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

    ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

    काठमाडौँ, वैशाख २९ । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ । नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिजिसिएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबको सहभागिता रहेको छ ।

    प्रतियोगिताका खेल हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ । आइतबार सम्पन्न पहिलो साताको खेल तालिका अनुसार खुकुरी सिसी र रमाइलो सिसी, त्यसैगरी माया सिसी र नेपालीज रोयल्स सिसी, नया युवा सिसी र हिमालयन सिसी तथा एभरेस्ट राइनोज सिसी र साथी सिसीबिचको खेल समपन्न भयो ।

    बिजिसिएल बेलायतमा नेपाली समुदायलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र क्रिकेट लिग हो । हालसम्म पाँच सफल संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको लिग ह्याम्पशायर क्रिकेट बोर्ड, नेसनल एसियन क्रिकेट काउन्सिल र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।

    आयोजकका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली युवालाई क्रिकेटमार्फत एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ । ब्रिज इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता मे १० देखि अगस्टसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

    इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

    तेहरान, वैशाख २७ गते । इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ । इरानी सङ्घका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग सम्बन्ध रहेको भन्दै क्यानाडाले गत महिना फिफा कङ्ग्रेसमा सङ्घका प्रमुखलाई प्रवेश गराउन अस्वीकार गरेपछि देखिएको अन्योलबिच इरानको यो भनाइ आएको हो ।

    जुन ११ देखि जुलाई १९ सम्म हुने प्रतियोगितामा इरानको उपस्थिति अमेरिका र इजरायलको आक्रमणपछि फेब्रुअरीमा मध्य पूर्वमा युद्ध सुरु भएदेखि अनिश्चितताबिच गुज्रेको थियो । “हामी सन् २०२६ को विश्वकपमा आवश्य सहभागी हुनेछौँ, तर आयोजकले हाम्रो चिन्तालाई मनन गर्नुपर्नेछ,” इरानी महासङ्घले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “हामी विश्वकप प्रतियोगितामा भाग लिनेछौँ, तर हाम्रो विश्वास, संस्कृति र विश्वासबाट पछि हट्ने छैनौँ ।” इरानी फुटबल महासङ्घ (एफएफआइआरआई) का अध्यक्ष ताजले शुक्रबार सरकारी टेलिभिजनसँग भन्नुभयो, “तेहरानसँग विश्वव्यापी प्रदर्शनमा भाग लिनका लागि दश सर्त छन् ।” सर्तमा राष्ट्रिय टोलीका सबै कर्मचारीलाई भिसा प्रदान गर्ने, सम्मान गरिनुपर्ने प्रतियोगिताको क्रममा टोलीको झन्डा र राष्ट्रिय गानको सम्मानका साथै विमानस्थल, होटल र स्टेडियमको मार्गमा उच्च सुरक्षाको माग समावेश गरिएका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओले प्रतियोगितामा इरानका फुटबलरलाई हार्दिकताका साथ स्वागत गरिने बताए । उनले भने, “अमेरिकाले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेका र अहिले पनि आईआरजीसीसँग सम्बन्ध भएका इरानी प्रतिनिधिमण्डलका सदस्यलाई प्रवेशमा रोक लगाउन सक्छ ।”

    इरानी फुटबल प्रमुख ताजले भन्नुभयो, “सबै खेलाडी र प्राविधिक कर्मचारी, खास गरी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) मा सैन्य सेवा गरेका मेहदी तारेमी र एहसान हजफीलाई बिना कुनै समस्या भिसा दिइनुपर्छ ।” विश्व फुटबलको सर्वोच्च निकाय फिफा प्रमुख जियानी इन्फान्टिनोले विश्वकप फुटबलका इरानका खेल निर्धारित तालिकाअनुसार नै अमेरिकामा हुने बताए ।

    विश्वकपका लागि एरिजोनाको टक्सनमा रहने इरानले समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टको सामना गर्ने छ । इरानले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्ने छ । इरानले शनिबार भनेको छ, “कुनै पनि बाह्य शक्तिले इरानलाई योग्यताका साथ छनोट भएको कपमा सहभागी हुनबाट वञ्चित गर्न सक्दैन ।” रासस-एएफपी

  • यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    १८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दोस्रो जित निकालेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको हो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।

    यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ बलमा ५६ रनको योगदान दिए ।

    गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए । अब नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्नेछ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

    आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

    १६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।
    नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

  • एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

    खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भइरहेको बताए ।

    ‘‘राखेपको छानबिन उपसमितिले विभिन्न राष्ट्रिय खेल सङ्घमा देखिएको विवाद मिलाउने काम गरिरहेको छ । अब हामी खेलकुदमा विगतदेखि भइरहेको खराब राजनितिक गतिविधि अन्त्य गर्ने अभियानमा छौँ । कानुन सबैले पालना गर्न आवश्यक छ,’’ मेहताले भने ।


    राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
    तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ (फिफा) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए ।

  • आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    काठमाडौँ, वैशाख १२ गते । बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार जितका लागि दुई सय एक रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटियो ।

    युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान मोहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, ओपनर आर्यान्स शर्मा र निलांश केसवानीले समान १८\१८ रन बनाए । बलिङमा नेपालका करण केसीले चार विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दै जम्मा १९ रन खर्चिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी एक एक विकेट लिए ।
    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने । ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५–१५ तथा भीम सार्कीले १० रन बनाए । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्दै पेभेलियन फर्किए । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिए ।

    खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिए । जितसँगै २१ खेलबाट १४ अङ्क बनाएको नेपाल सातौँ स्थानमा यथावत छ । समान खेलबाट १० अङ्क बनाएको युएई अन्तिम तथा आठौँ स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन अबका हरेक खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।

    सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकप छनोटका लागि सन् २०२४ बाट आठ टोलीले प्रस्पिर्धा गरिरहेका छन् । हाल २४ खेलमा १८ खेल जितेको अमेरिका ३६ अङ्कसहित शीर्षस्थानमा छ । यस्तै २८ खेलबाट ३४ अङ्क बनाएको स्कटल्यानन्ड दोस्रो, २४ खेलबाट २९ अङ्क बनाएको ओमान तेस्रो, २४ खेलबाट २८ अङ्क बनाएको नेदरल्यान्ड्स चौथो स्थानमा छ ।

    २८ खेलबाट २२ अङ्क बनाएको नामिबिया पाँचौँ र २४ खेलबाट २१ अङ्क बनाएको क्यानडा छैटौँ स्थानमा छ । हरेक टोलीले ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकपमा सोझै छनोट हुने छन् । बाँकी चार टोलीले छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने छन् ।

  • यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    ८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

    नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिएका थिए ।

  • नेपाल र यूएईबीच दोस्रो खेल आज

    नेपाल र यूएईबीच दोस्रो खेल आज

    ८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

    त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

  • घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    ७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।

    त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए । कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए । नेपाल र युएईबिचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ ।

  • फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

    फ्लडलाइटमा नेपालले पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै

    ७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका छन् । नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।

    नेपाल र यूएई हालसम्म टी २०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो । नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए । यस्तै नेपाली क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ । पछिल्लोिटक सन् २०२४ मार्चमा भएको टी–२०आई शृंखला खेलेको थियो ।

  • विराट गोल्डकपको उपाधि झापा–११ लाई

    विराट गोल्डकपको उपाधि झापा–११ लाई

    मोरङ, ६ वैशाख । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि झापा–११ ले जितेको छ । आज भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलको अन्तरले पराजित गरी झापाले उपाधि हात पारेको हो । उपाधिसँगै झापाले ११ लाख रूपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ ।

    फाइनल खेलका ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल भए । उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी सम्राटका अशोक खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भई ५१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक झापाका विशाल सुनार र उत्कृष्ट प्रशिक्षकमा सन्तोष बस्नेत घोषित भई १५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे ।

    विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा खेल सञ्चालन हुँदै आएको थियो । कोशी प्रदेशका सभामुख अम्बरवहादुर विष्ट, प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगर प्रमुख नागेश कोइराला र ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले विजेता एवं उपविजेतालाई ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो ।

  • तीन महिनाका लागि एन्फा निलम्वन

    तीन महिनाका लागि एन्फा निलम्वन

    काठमाडौँ, ११ चैतः राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्वन गरेको राखेपको पत्रमा उल्लेख गरेको छ ।

    विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ । यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासङ्घको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्वनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।

  • अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    काठमाडौँ, ५ चैतः राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

    अध्यागमन विभागले आजै एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन आग्रह गरेको थियो । विभागले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीका आधारमा आजैदेखि छानबिन अगाडि बढाउने जनाएको थियो ।

  • पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    गण्डकी, ५ चैतः पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था ९ना० को आयोजनामा ‘एक्युरेसी’ विधामा सुरु गरिएको सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ खेलाडी सहभागी छन् ।

    प्रतियोगिता यही चैत ७ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए । सहभागी खेलाडीलाई पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोैदीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । यस अघि कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा देशभर सोलो उडानमा रोक लगाएका कारण २०औँ संस्करणको प्रतियोगिता हुन सकेको थिएन ।

    पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाउँदा प्रतियोगिता रोकिएको थियो । यस अघि प्याराग्लाइडिङ प्रतिको बढ्दो आकर्षणसँगै नेपालले १८औँ एसियाली खेलकुदमा सो खेलमा रजत पदक जितेको थियो । नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा उक्त उपलब्धी हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको अध्यक्ष केसीको भनाइ छ ।

    “खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्ज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो । अहिलेको विषम् परिस्थितिमा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म माथि उठाउन सक्ने विश्वास लिएका छौँ”, उनले भने ।
    प्रतियोगितामा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउने छन् । महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार तथा टिम स्पर्धामा पहिलो हुनेले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने छन् ।

    यसैबीच प्रतियोगिताको उद्घाटन गर्र्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रुपमा विश्वमाझ परिचित बनेको बताए । कतिपय विदेशी पर्यटक प्याराग्लाइडिङकै लागि पोखरा आउने गरेकाले यो केवल खेल मात्र नभएर पोखराको पहिचान जस्तै बनिसकेको उनले भने ।
    प्रतियोगिताका प्राविधिक निर्देशक योगेश भट्टराईका अनुसार हवाइ खेलकुदको अन्तरराष्ट्रिय संस्थाको मापदण्डअनुसार हुने यस प्रतियोगिताका खेलाडीले प्राप्त गर्ने नम्बरले अन्य खेलका लागि अन्तरराष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स, कोरिया, स्पेनलगायत देशका खेलाडी सहभागी भएका छन् ।

  • म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दी, ५ चैतः रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।

    आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन रु २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि रु १४ लाख ३९ हजार सहयोग गरिएको थियो ।

  • हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    मेक्सिको सिटी, १५ फागुन (रासस–एपी) । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन् । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनएका छन् ।


    उनले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको बताउँदै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायहरूमाथि पूर्ण विश्वास रहेको उल्लेख गरे । उनका अनुसार विश्वकपका खेलहरू सकेसम्म सहज रूपमा सम्पन्न हुनेमा फिफा आशावादी छ । “मेक्सिको महान् देश हो, संसारका अन्य देशमा जस्तै यहाँ पनि घटनाहरू हुन्छन्स हामी चन्द्रमामा बस्दैनौँ”, उनले भने । व्यवस्था र सुरक्षाको प्रत्याभूति सरकार, प्रहरी र अधिकारीहरूले दिने उनको विश्वास छ ।

    हालै मेक्सिकाली सेनाले ‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो रुबेन ओसेगुरा सर्भान्टेसलाई कारबाहीका क्रममा मारेपछि देशका विभिन्न भागमा हिंसा फैलिएको थियो । उनी जलिस्को न्यु जेनेरेसन लागुऔषध गिरोहका प्रमुख मानिन्थे । त्यसपछिका दिनहरूमा लागुऔषध गिरोहका समूहले करिब एक दर्जन राज्यमा सवारीसाधन जलाउने, सडक अवरुद्ध गर्ने लगायतका गतिविधि गरेका थिए । अधिकारीहरूका अनुसार कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

    हिंसाको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । स्थानीय लिगका चार उच्चस्तरीय खेल गत आइतबार स्थगित गरिएका थिए, जसमा मध्य सहर क्वेरेटारोमा तय गरिएको खेल पनि समावेश थियो । सोही सहरमा मैत्रीपूर्ण खेलमा मेक्सिकोले आइसल्यान्डलाई ४–० ले पराजित गरेको थियो । खेल सुरु हुनुअघि ओसेगुरालाई पक्राउ गर्ने अभियानका क्रममा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा कोरेगिडोरा रङ्गशालामा एक मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रमअनुसार जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा १३ वटा विश्वकप खेल आयोजना हुनेछन् । जलिस्को लागुऔषध गिरोहको प्रभाव क्षेत्र मानिने ग्वाडलाजाराले चार खेल आयोजना गर्ने तालिका छ । कोलम्बियाले एक खेल मेक्सिको सिटीमा र अर्को ग्वाडलाजारामा खेल्ने तयारी गरेको छ ।

    कोलम्बियाली फुटबल महासङ्घका अध्यक्ष रामोन जेसुरुनले आफ्ना प्रारम्भिक दुई खेल मेक्सिकोमा भए पनि देशले अवस्था पार गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो अस्थायी समस्या मात्र भएको र छिट्टै समाधान हुने धारणा राखेका छन् ।
    तर सबै राष्ट्रहरू समान रूपमा आश्वस्त छैनन् । पोर्चुगल फुटबल महासङ्घले मार्चमा मेक्सिकोसँग हुने मैत्रीपूर्ण खेलअघि घटनाक्रम नजिकबाट हेरिरहेको जनाएको छ ।

    जमैकाले मार्च २६ मा ग्वाडलाजारामा इन्टरकन्टिनेन्टल प्लेअफ सेमिफाइनलमा न्यु क्यालेडोनियासँग खेल्ने कार्यक्रम छ, जसको विजेताले विश्वकप स्थानका लागि कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ । जमैकन फुटबल महासङ्घका अध्यक्ष माइकल रिकेट्सले खेलहरू महिनाको अन्त्यतिर भएकाले केही समय अझै बाँकी रहेको बताउँदै वर्तमान अवस्थाले आफूलाई चिन्तित बनाएको स्वीकार गरेका छन् । उनले कनकाकाफ र फिफाबाट आवश्यक निर्देशनको प्रतीक्षा गरिरहेको बताए ।


    मोन्टेरीमा अर्को प्लेअफ खेल हुने कार्यक्रम छ, जहाँ बोलिभियाले सुरिनामसँग खेल्नेछ र विजेताले प्रतियोगितामा स्थानका लागि इराकसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार राष्ट्रपति सेनबामले ग्वाडलाजारामा हुने विश्वकप खेलहरू योजनाअनुसार नै हुने र कुनै जोखिम नरहेको स्पष्ट पारेका थिए ।

    इन्फ्यान्टिनोले फिफा मेक्सिकाली सरकारसँग नियमित सम्पर्कमा रहेको र परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताए । उनका अनुसार आगामी विश्वकप ‘अविश्वसनीय उत्सव’ बन्नेछ र वर्तमान चुनौतीबीच पनि मेक्सिकोले आफ्नो दायित्व सफलतापूर्वक पूरा गर्ने विश्वास फिफासँग रहेको छ ।

  • साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह

    साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, रकम सङ्कलन रोक्न आग्रह

    काठमाडौँ १२ फागुनः नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छिन् । कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छिन् । उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छिन् ।


    भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन् । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ । उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब रु ४५ लाख (५२ हजार न्युजिल्यान्ड डलर) सङ्कलन भइसकेको जानकारी दिएकी छिन् ।


    यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले आजैदेखि दुवै खातामा रकम सङ्कलन रोक्न अनुरोधसमेत गरेका छन् । भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारीसमेत दिएकी छिन् । छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

    चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छिन् । “अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु”, भण्डारीले प्रतिबद्धता व्यक्त गरेकी छिन् । करिब दुई महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छिन् ।

  • खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

    खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

    काठमाडौं, ७ फागुन : नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्लेख गरिएको छ । प्रतिज्ञापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।”

    विश्वका अन्य देशहरूमा बाहिरका खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो र तेस्रो पुस्ताका युवा खेलाडीहरूले देशको प्रतिनिधित्व गर्न नपाएको उल्लेख गर्दै कांग्रेसले गैरआवासीय नेपालीलाई राष्ट्रिय खेलमा सहभागीता गराउन विद्यमान खेलकुद विकास ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

  • विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल

    विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल

    ५ फागुन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध सान्त्वना जित निकालेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखडे स्टेडियममा समूह चरणको अन्तिम खेलमा दुई एशोसिएट राष्ट्र नेपाल र स्कटल्याण्ड भिडेका थिए । नेपालको जितमा बलिङमा सोमपाल कामी र ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी चम्किए ।

    दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका कारण आजको खेल प्रतिष्ठाका लागि मात्र थियो । नेपालले १७१ रनको लक्ष्य ३ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा भेट्टायो । दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक बनाए । स्कटल्याण्डमाथि ७ विकेटको जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जितको स्वाद समेत चाखेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई हराएको थियो ।


    यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

    आजको खेलमा दीपेन्द्रले २३ बलमा ५० रन जोडे । यो प्रतियोगितामा उनले लगातार दुई अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन बनाए । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।

  • स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो

    स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो

    काठमाडौँ, ५ फागुनः आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ । भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो ।

    स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए । त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक÷एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

    टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

    काठमाडौँ, ३ फागुनः आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो ।

    यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।