विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय पारी खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए । उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का हाने । कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।


बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए । अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए ।


२० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारे । यस्तै करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पारे आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर नन्दन यादवले दुई विकेट लिए । नेपालका लागि १० ओभर बलिङ गरेका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बने । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोहित पौडेलसमेत विकेटबिहीन बने ।


जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलबाट ३६ अङ्क बनायो । पराजित नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २४ खेलबाट ३६ अङ्क जोड्दै शीर्षस्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।