नेपाल र यूएईबीच दोस्रो खेल आज

८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।