काठमाडौँ, २ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल जारी छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर बोर्डमा १९५ रन जोडेको छ । अब नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ । अमेरिकाका लागि समिट पटेलले ८३ र शेहान जयसूर्याले ५० रनको योगदान गरे ।
मिलिन्द कुमारले २८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिएनन् । बलिङमा दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो । अब नेपाल जवाफी ब्याटिङमा निस्कने तयारीमा छ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।