फुटबल विश्वकप : मानवताको महाउत्सव

Argentina's Lionel Messi (10) scores their first goal against Cape Verde goalkeeper Vozinha (1) and Diney Borges (3) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Marta Lavandier)

कुमार न्यौपाने/ हाल : न्युयोर्क
२० असार, काठमाडौं । आजको विश्व अनेकौं चुनौतीहरुबाट गुज्रिरहेको छ । एकातिर युद्ध, राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, धार्मिक विवाद र जातीय संघर्षहरु छन् भने अर्कोतिर मानव समाजलाई एकताबद्ध गर्ने प्रयासहरु पनि जारी छन् । यस्ता विभाजनकारी परिस्थितिहरुबीच एउटा यस्तो शक्ति छ जसले भाषा, धर्म, जाति, संस्कृति, राजनीतिक विचारधारा र राष्ट्रिय सीमाहरुलाई पार गरेर अर्बौं मानिसहरुलाई एउटै भावनामा बाँध्ने काम गर्छ । त्यो शक्ति हो– फुटबल र विशेषगरी फुटबल विश्वकप ।


फुटबल विश्वकप संसारको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मानिन्छ । विश्वका झण्डै सबै देशहरुले यसको छनोट प्रतियोगितामा भाग लिन्छन् र अन्तिम चरणमा पुग्ने अवसरका लागि संघर्ष गर्छन् । विश्वकप केवल ट्रफी जित्ने प्रतिस्पर्धा होइन, यो मानवताको साझा उत्सव हो । धेरै अवस्थामा फुटबलले राजनीतिले गर्न नसकेको काम गरेको छ– मानिसहरुलाई एकताबद्ध बनाउने काम ।

केही समय अघिसम्म सिमानाका तातो बहस गर्दै गरेका तीन छिमेकीहरुलाई एउटै मञ्चमा विश्वकप २०२६ को आयोजकको रुपमा उभ्याएको छ । सबै महादेशका ४८ देशहरुको कुम्भमेला या विश्वकपको लोकप्रियता कुनै पनि राजनीतिक सम्मेलन, अन्तर्राष्ट्रिय शिखर बैठक वा सांस्कृतिक कार्यक्रमभन्दा धेरै ठूलो छ ।


सन् २०२२ को कतार विश्वकपलाई विश्वभर करिब ५ अर्ब मानिसले कुनै न कुनै रुपमा हेरेको अनुमान गरिएको थियो । फाइनल खेल मात्र १.५ अर्बभन्दा बढी दर्शकले हेरेका थिए । यो संख्या संयुक्त राष्ट्रसंघका अधिकांश कार्यक्रम, अन्य कुनै खेल, विश्व आर्थिक मञ्च वा अन्य अन्तर्राष्ट्रिय राजनीतिक कार्यक्रमहरुको दर्शक संख्याभन्दा धेरै गुणा बढी हो । यो बढ्नेक्रम जारी छ ।


यसबाट स्पष्ट हुन्छ कि फुटबल विश्वकप आजको विश्वको सबैभन्दा ठूलो साझा अनुभव बनेको छ । पृथ्वीका विभिन्न कुनामा रहेका मानिसहरुले एउटै समयमा एउटै खेल हेरेर खुसी, निराशा, उत्साह र आशा साझा गर्छन् ।

राजनीतिले विभाजन गर्छ, खेलले जोड्छ
राजनीतिक दलहरु, सरकारहरु र विचारधाराहरुले प्रायः समाजलाई विभिन्न समूहमा विभाजन गर्छन् । चुनाव, सीमा विवाद, राष्ट्रिय हित र शक्ति संघर्षका कारण देशहरुबीच मतभेद उत्पन्न हुन्छन् । तर फुटबलले यस्ता विभाजनहरुलाई केही समयका लागि भए पनि कमजोर बनाइदिन्छ ।


विश्वकपको समयमा मानिसहरु विपक्षी दलका समर्थक होइनन्, उनीहरु फुटबलप्रेमी बन्छन् । उनीहरु धर्म, जाति वा भाषाअनुसार विभाजित हुँदैनन्, बरु एउटै खेलप्रतिको प्रेमले जोडिन्छन् । यही कारणले फुटबललाई ‘विश्वको साझा भाषा’ भनिन्छ ।
युद्ध र द्वन्द्वका बीचमा पनि फुटबल
इतिहासमा धेरै यस्ता उदाहरण छन् जहाँ राजनीतिक तनाव र युद्धका बीचमा पनि फुटबलले संवाद र सम्बन्धको ढोका खोलेको छ ।
सन् १९१४ को प्रथम विश्वयुद्धको समयमा बेलायत र जर्मनीका सैनिकहरुले क्रिसमसको दिन केही घण्टाका लागि युद्धविराम गरेर फुटबल खेलेको ऐतिहासिक घटना उल्लेखनीय छ । युद्धको मैदानमा एकअर्कालाई गोली हानिरहेका सैनिकहरु फुटबल खेल्दा केही समयका लागि शत्रु होइन, खेलाडी बनेका थिए । यसले देखाउँछ कि फुटबलमा मानिसलाई साझा मानवताको आधारमा जोड्ने अद्भूत क्षमता छ ।

दक्षिण अफ्रिका : खेलद्वारा राष्ट्रिय एकता
सन् २०१० मा दक्षिण अफ्रिकाले पहिलोपटक अफ्रिकी महादेशमा विश्वकप आयोजना ग¥यो । रंगभेदको लामो इतिहास बोकेको देशका लागि यो केवल खेलकुद प्रतियोगिता थिएन ।


विश्वकपले दक्षिण अफ्रिकाका विभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायहरुलाई एउटै राष्ट्रिय पहिचान अन्तर्गत ल्याउन मद्दत ग¥यो । विश्वभरका लाखौं पर्यटक र दर्शकहरुले अफ्रिकालाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर पाए । यो कार्यक्रमले अफ्रिकी महादेशलाई विश्व नक्सामा नयाँ सम्मान दिलायो ।

फ्रान्सको बहुसांस्कृतिक सफलताको उदाहरण
सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा विश्वकप जित्दा टोलीमा अफ्रिकी, अरब, युरोपेली र क्यारिबियन मूलका खेलाडीहरु थिए । त्यो टोलीलाई ‘ब्ल्याक, ब्लयाङ्क, बुर’ अर्थात् कालो, गोरा र अरबहरुको संयुक्त फ्रान्स भनेर चिनिन्थ्यो ।
त्यो जितले फ्रान्समा बहुसांस्कृतिक समाजको सफलताको प्रतीकको रुपमा काम ग¥यो । विभिन्न समुदायहरुले आफूलाई एउटै राष्ट्रको हिस्सा भएको महसुस गरे ।
यही विश्वकपमा इरानको उपस्थिति, युद्धविराम र हुन गइरहेको शान्ति सम्झौताले यो खेल मात्र खेल हैन, विश्वशान्तिको प्रतीक हो ।

मेस्सी, रोनाल्डो र नेयमारको ख्याति र एकता
विश्व फुटबलका महानहरु पेले, माराडोना, गारिन्चा, क्रुएफ, रोनाल्डो नाजारियो र हालका मेस्सी, रोनाल्डो र नेयमारको लोकप्रियता कुनै एक देशमा सीमित छैन । नेपाल, भारत, चीन, जापान, अमेरिका, अफ्रिका र युरोपका करोडौं मानिसहरु उनीहरुका समर्थक छन् ।


विभिन्न सामाजिक सञ्जालहरुमा उनीहरुको समर्थकहरुको संख्या जोड्ने हो भने झण्डै आधा विश्व हुनजान्छ । यसले प्रमाणित गर्छ कि फुटबलले राष्ट्रियताको सीमाभन्दा बाहिर गएर विश्वव्यापी समुदाय निर्माण गरेको छ ।

विश्वकप र आप्रवासी समुदाय
आज विश्वका अधिकांश ठूला शहरहरु बहुसांस्कृतिक छन् । उदाहरणका लागि न्यूयोर्क सिटीमा विश्वका लगभग सबै देशका मानिसहरु बसोवास गर्छन् ।
विश्वकपको समयमा न्यूयोर्कका सार्वजनिक पार्क, रेस्टुरेन्ट, बार र खुला मैदानहरुमा अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको, मोरक्को, जापान र अन्य देशका समर्थकहरु एकै ठाउँमा बसेर खेल हेर्छन् । खेल समाप्त भएपछि फरक राष्ट्रका मानिसहरु एकअर्कासँग फोटो खिच्छन्, गीत गाउँछन् ।

आर्थिक र सांस्कृतिक प्रभाव
विश्वकपले केवल खेलकुद होइन, पर्यटन, व्यापार, पूर्वाधार विकास र सांस्कृतिक आदानप्रदानलाई पनि बढावा दिन्छ । विश्वभर ८०–१०० अर्ब डलरको आर्थिक गतिविधि गर्न सक्ने खेल एक अर्थको संसार हो । आयोजक देशमा लाखौं पर्यटक पुग्छन् । उनीहरुले स्थानीय संस्कृति, खानपान, कला र इतिहाससँग परिचित हुने अवसर पाउँछन् । यसले विभिन्न देशका नागरिकहरुबीच प्रत्यक्ष सम्पर्क बढाउँछ ।
कूटनीतिक सम्बन्ध निर्माण गर्न कहिलेकाहीं वर्षौं लाग्छ, तर खेलमार्फत मानिसहरु केही घण्टामै मित्र बन्न सक्छन् ।

सामाजिक सञ्जालको युगमा विश्वकप
आज फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालहरुले विश्वकपलाई अझ विश्वव्यापी बनाएका छन् ।
काठमाडौंबाट गरिएको पोस्टलाई अर्जेन्टिनाको समर्थकले लाइक गर्छ । ब्राजिलको समर्थकले मोरक्कोको उपलब्धिको प्रशंसा गर्छ । अफ्रिकाको एउटा कथा एसियाका लाखौं मानिसले साझा गर्छन् । यसरी विश्वकपले डिजिटल युगमा विश्व नागरिकताको भावना अझ बलियो बनाएको छ ।

साना राष्ट्रहरुको ठूलो सपना
विश्वकपको अर्को सुन्दर पक्ष भनेको यसले साना र ठूला राष्ट्रलाई समान अवसर दिन्छ । मोरक्कोले २०२२ मा सेमिफाइनल पुग्दा सम्पूर्ण अफ्रिका र अरब विश्व उत्साहित भएको थियो । आइसल्याण्डले युरोपेली प्रतियोगितामा सफलता हासिल गर्दा विश्वभर प्रशंसा पाएको थियो ।


फुटबलले आर्थिक वा सैनिक शक्तिलाई होइन, प्रतिभा, मेहनत र सामूहिक प्रयासलाई सम्मान गर्छ । २०२६ मा कुरासाओ र केप भेर्डजस्ता थोरै जनसंख्या र क्षेत्रफल भएका मुलुकहरुले विश्वकप खेल्दै गर्दा कसरी विश्व मञ्चमा चम्किन सक्छन्, यो ज्वलन्त उदाहारण हो ।

किन फुटबल कहिलेकाहीं सरकारभन्दा ठूलो देखिन्छ ?
सरकारहरुको प्रभाव सीमित भूगोलभित्र हुन्छ । तर फुटबलको प्रभाव विश्वव्यापी हुन्छ । सरकारहरु परिवर्तन हुन्छन्, प्रधानमन्त्री र राष्ट्रपति बदलिन्छन्, राजनीतिक गठबन्धनहरु टुट्छन् । तर फिफा वल्र्डकपको सम्झना पुस्तौंसम्म रहन्छ ।
धेरै मानिसलाई आफ्नो देशको पुरानो सरकारको नाम याद नहुन सक्छ, तर उनीहरुलाई अर्जेन्टिनाले कहिले विश्वकप जित्यो, ब्राजिलले कति पटक जित्यो वा मेस्सी वा एम्बाप्पेले ट्रफी कहिले उठाए भन्ने कुरा याद हुन्छ । यसले फुटबलको सांस्कृतिक प्रभाव राजनीतिक प्रभावभन्दा फराकिलो हुन सक्ने संकेत गर्दछ ।

निष्कर्ष
फुटबल विश्वकप केवल ९० मिनेटको खेल होइन । यो मानवताको साझा उत्सव, विश्व एकताको प्रतीक र सांस्कृतिक पुल हो । यसले भाषा, धर्म, जाति, विचारधारा, आर्थिक अवस्था र राष्ट्रिय सीमाहरुलाई पार गरेर मानिसहरुलाई एउटै भावनात्मक बन्धनमा बाँध्छ ।


आजको विभाजित विश्वमा फुटबल विश्वकपले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ । हामी फरक देशका, फरक संस्कृतिका र फरक भाषाका हुन सक्छौं, तर हाम्रो खुसी, सपना, आशा र भावना साझा छन् ।


त्यसैले फुटबल विश्वकप केवल खेलकुद प्रतियोगिता होइन; यो विश्व मानवताको सबैभन्दा ठूलो उत्सव हो, जसले सरकार र राजनीतिभन्दा पनि शक्तिशाली रुपमा मानिसहरुको हृदयलाई जोड्ने काम गर्छ ।