नेपाली र इण्डियन पाककलामार्फत यूएईमा परिचित कर्णबहादुर बुढाथोकी

२० असार, काठमाडौं । संयुक्त अरब इमिरेट्समा अहिले नेपाली तथा इन्डियन पाककला क्षेत्रको परिचित नाम हो–काठमाडौंको तारकेश्वर–९, बालाजुका कर्णबहादुर बुढाथोकी । विगत झण्डै दुई दशकदेखि यूएईमै रहेर पाककलाको क्षेत्रमा योगदान दिँदै आएका बुढाथोकी हाल जेहनग्रीस रेष्टुरेन्टमा हेड अफ कुलिनरी आर्टको जिम्मेवारी सम्हालिरहेका छन् ।


सन् २००७ देखि यूएईको आतिथ्य क्षेत्रमा यात्रा शुरु गरेका बुढाथोकीले निरन्तर मेहनत, अनुभव र सीपका आधारमा आफूलाई स्थापित गरेका हुन् । प्रारम्भिक दिनमा साधारण किचन स्टाफका रुपमा काम थालेका उनले समयसँगै आफ्नो पाककला, नेतृत्व क्षमता र व्यवस्थापन दक्षताका कारण शीर्ष तहसम्मको यात्रा तय गरे ।


उनको व्यावसायिक जीवनको सबैभन्दा उल्लेखनीय पक्ष– यूएईका उच्च तहका विशिष्ट व्यक्तित्वहरुसम्म आफ्नो कला पु¥याउनु हो । उनले अबुधाबीका शेख अब्दुल्लाह लगायत शाही परिवारका सदस्यलाई आफ्नै हातले परिकार पस्किने अवसर पाएका छन् । लामो यात्रामा धेरै संघर्ष भए पनि तर सिकाइ र अनुभवले जीवनलाई नयाँ उचाइ दिएको उनको बुझाइ छ ।


विदेशमा लामो समय काम गर्दा परिवारदेखि टाढा रहनुपर्ने चुनौती भए पनि आफ्नो पेशाप्रतिको लगावले उनलाई अगाडि बढाइरहेको छ । लामो अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमै उपयोग गरेर केही नयाँ र उदाहरणीय काम गर्ने लक्ष्य उनले राखेका छन् ।


जेहनग्रीस रेष्टुरेन्ट
यूएई