Category: कानुनी कुरा

  • संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम

    संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम

    काठमाडौँ, २६ असार । कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संबैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनमाथि भएको छलफलमा उनले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताइन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले संबैधानिक निकाय सरकारबाट स्वतन्त्र हुने र संसदप्रति जवाफदेही हुने भएकाले सरकार संबैधानिक निकायका प्रतिवेदनका सिफारिस कार्यान्वयनमा मात्र सीमित हुने उल्लेख गरे ।
    यस अघि कार्यव्यवस्था समितिको बैठकमा यस्ता छलफल हुने गरिएको भएपनि सदनमा भएको यो छलफल नयाँ प्रयोग र नौलो अभ्यास भएको उनको भनाई थियो ।

    उक्त प्रतिवेदनमाथिको छलफल माथि भाग लिँदै यसअघि सांसदहरु पदमबहादुर परियार, मदनकुमारी शाह, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, धर्मेन्द्र पासवान, सुरेशकुमार आलेमगर, रोशनी मेचे, कृष्णप्रसाद अधिकारी, सोमनाथ पोर्तेल, विष्णुबहादुर विश्वकर्माले आफ्ना धारणा व्यक्त गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठकमा यही असार ३१ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

  • सम्पत्ति छानबिन आयोगलाई पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति तत्काल छानबिन नगर्न अन्तरिम आदेश

    सम्पत्ति छानबिन आयोगलाई पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति तत्काल छानबिन नगर्न अन्तरिम आदेश

    काठमाडौँ, २६ असारः सर्वोच्च अदातलले सम्पत्ति जाँचबुझ आयोगलाई पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति तत्काल छानबिन नगर्न अन्तरिम आदेश दिएको छ । आज न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनको पूर्णइजलासबाट टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न र यो मुद्दालाई पूर्णइजलासमा पठाउन आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, “पेस हुन आएको सम्पत्ति विवरणउपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नू र कसैउपर पनि कुनै किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्नु÷नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९–२ (क)बमोजिम अन्तरिम आदेशसमेत जारी गरिएको छ ।” आयोगविरुद्ध अधिवक्ता डा प्रेमराज सिलवालले रिट दायर गरेका थिए ।

  • पठाओ चालकले राहदानी विभाग अगाडी आत्मदाहको प्रयास घटनामा सरकारको आलोचना

    पठाओ चालकले राहदानी विभाग अगाडी आत्मदाहको प्रयास घटनामा सरकारको आलोचना

    २५ असार, काठमाडौं । काठमाडौंमा पठाओ चलाइरहेका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेपछि सो घटनामा सरकारको व्यापक आलोचना भइरहेको छ । विगतमा प्रधानमन्त्री बालेनले यस्तै घटनामा राज्यलाई दोष दिँदै कडा स्टाटस राख्ने गर्थे आजको घटनमा भने उनी मौन छन् । उनीमात्र होइन, राज्यका सबै निकाय मौन छन् । प्रहरीका अनुसार नेपालीको गम्भीर अवस्थामा विर अस्पतालमा उपचार जारी छ ।

    उनले आत्महत्या प्रयास गर्नुमा महानगर प्रहरीसँग ह्विललकको विवाद रहेको देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपालीलाई गरिबी र राज्यको नियतीले मर्न बाध्य बनाएको भन्दै आलोचना भएको हो । नेपालीको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । अस्पतालमा गणेशले आफ्ना दाइसँग भनेका थिए, ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो‘। आमा–बुवालाई राम्रो गर्नू ।’


    ‘भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका उनी विदेश जाने तयारीमा थिए । गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । उता, महानगरले भने नियमित रुपमा आफ्नो काम कानून अनुसार काम गरेको भन्दै यो घटनाको कारक महानगर नभएको बताएको छ ।

    काठमाडौंमा महानगरपालिकालाई उग्र बन्न उक्काउने तत्कालिन मेयर बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डे भएको भन्दै आलोचनामा उनीहरु निसानामा परेका छन ।

  • सुनसरीबाट तीन सय आठ किलो गाँजा बरामद

    सुनसरीबाट तीन सय आठ किलो गाँजा बरामद

    इनरुवा (सुनसरी), २५ असारः कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ किलो गाँजा गएराति बरामद भएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ किलो गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • डिएसपीले ‘नेपाल प्रहरी बालेनको होइन, राज्यको हो’ भन्दा जिल्ला तानिएको घटनामा प्रहरीको स्पष्टीकरण

    डिएसपीले ‘नेपाल प्रहरी बालेनको होइन, राज्यको हो’ भन्दा जिल्ला तानिएको घटनामा प्रहरीको स्पष्टीकरण

    काठमाडौँ, २५ असारः नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्टीकरण दिएका छन् । कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको दावि छ ।

    प्रवक्ता काफ्लेले भनेका छन्, “उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ । नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो । यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ । कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन ।”

    प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए । उनले भने, “विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ । विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ । त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौँ ।”

    प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट गरे । तर, सामाजिक संजालमा भने उनीमाथि प्रहरी प्रशासनले गरेको कारवाही प्रक्रियाको व्यापक आलोचना भइरहेको छ । सार्वजनिक भएको भिडियोमा चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति विशेषको नभई राज्यको हुने र राज्यका लागि उत्तरदायी भएर काम गर्ने भन्दै अहिले पनि बालेनको नभएको बताएका छन् ।

  • गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    गण्डकी, २५ असारः गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे । त्यसअघि आजको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेल सहभागी भए ।


    विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधि र औद्योगिक उत्पादनका लागि गाँजाखेती गर्ने बाटो खुलेको छ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टिएचसी’को मात्रा शून्य दशमलव तीन प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ । गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ । गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

  • भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    हनोई, २४ असार (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई पक्राउ गरेको जनाएको छ ।

    मङ्गलबार सार्वजनिक गरिएको प्रहरी विज्ञप्तिअनुसार जुनको अन्त्यतिर गरिएको छापामा उच्च तहको सङ्गठित संरचना र कडा नियन्त्रणमा सञ्चालित दुई सट्टेबाजी सञ्जाललाई लक्षित गरिएको थियो । ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध सट्टेबाजी कारोबार सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार गिरोहका मुख्य सञ्चालकहरूले कम्बोडियाबाट प्राप्त ‘मास्टर’ स्तरका सट्टेबाजी खाता प्रयोग गरी ती खातालाई विभिन्न एजेन्ट र सदस्यमार्फत विभाजन गरेर जुवाडेहरूलाई अनलाइन पहुँच उपलब्ध गराउने गरेका थिए ।

    भियतनाममा अनलाइन जुवा कानूनी रूपमा प्रतिबन्धित भए पनि विशेषगरी विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अवैध सट्टेबाजी उल्लेखनीय रूपमा बढ्ने गरेको छ । त्यसैले सरकारले प्रतियोगिता अवधिभर देशव्यापी निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।

    भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार गत सातामात्र देशभर सञ्चालनमा रहेका ७३ वटा अवैध जुवा सञ्जाल ध्वस्त पारिएको छ । विश्वकप सुरु भएको पहिलो २० दिनमै अवैध जुवा तथा फुटबल सट्टेबाजीमा संलग्न ३४६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

    सार्वजनिक सुरक्षा मन्त्रालयका कर्नेल बुई तुआन आनका अनुसार ती घटनामा हजारौँ अर्ब भियतनामी डोङ अर्थात् सयौँ करोड अमेरिकी डलर बराबरको अवैध कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    यस वर्षको विश्वकप फुटबल प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुने तालिका छ । 

  • यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

    यूएईमा बस्ने नेपालीका लागि कानुनी सचेतना

    २२ असार, काठमाडौं । यूएईमा बसोवास गर्दा निम्न कार्यहरु नगर्नु हुन अनुरोध छ ।

    सार्वजनिक स्थानमा झगडा, गालीगलौज वा अश्लील हाउभाउ प्रदर्शन नगर्ने ।


    सामाजिक सञ्जालमा कसैलाई अपमान, बदनाम वा धम्की नदिने ।

    ह्वाट्सएप, फेसबुक, टिकटकलगायत माध्यममा अपुष्ट सूचना, अफवाह वा झुटा समाचार शेयर नगर्ने ।


    अरुको फोटो वा भिडियो अनुमतिबिना खिच्ने वा पोस्ट नगर्ने ।


    साइबर अपराध, ह्याकिङ, नक्कली वेबसाइट सञ्चालन, अनलाइन ठगी वा अरुको डिजिटल खातामा अनधिकृत पहुँच नगर्ने ।


    धार्मिक आस्था, धर्मस्थल वा धार्मिक प्रतीकप्रति अपमानजनक व्यवहार नगर्ने ।


    लागूऔषध (ड्रग्स)सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने ।


    मदिरा सेवन गरेर सार्वजनिक रुपमा हंगामा नगर्ने वा सवारी नचलाउने ।


    सार्वजनिक शिष्टाचारविपरीत अशोभनीय व्यवहार नगर्ने ।


    सरकारी अनुमतिबिना चन्दा संकलन नगर्ने ।


    अनुमतिबिना प्रदर्शन, ¥याली वा राजनीतिक गतिविधिसम्बन्धी कार्यक्रम आयोजना वा प्रचारप्रसार नगर्ने ।


    क् सरकारी, सुरक्षा तथा अन्य संवेदनशील स्थानहरुको फोटो वा भिडियो खिचेर अनधिकृत रुपमा प्रसारण नगर्ने ।


    युद्ध वा सुरक्षा घटनासँग सम्बन्धित भिडियो तथा तस्बिर नखिच्ने ।


    सामाजिक सञ्जालमा युद्ध, सुरक्षा अवस्था वा अन्य संवेदनशील विषयका अपुष्ट सामग्री लाइक, शेयर वा प्रसारण नगर्ने ।


    कम्पनीको अनुमति वा कानुनी प्रक्रिया पूरा नगरी जागिर छाडेर अन्यत्र बसोवास नगर्ने ।


    आफ्नो राहदानी, एमिरेट्स आईडी, बैंक कार्ड (एटीएम) वा अन्य महत्वपूर्ण कागजात अपरिचित व्यक्तिलाई नदिने ।


    सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने वा त्यस्ता गतिविधिमा संलग्न नहुने ।


    सवारी चालक तथा सर्वसाधारणले ट्राफिक नियमहरुको पूर्ण पालना गर्ने, किनकि पालना नगरेमा यसले गम्भीर कानुनी तथा सुरक्षा समस्या निम्त्याउन सक्छ ।

    ध्यान दिनुपर्ने कुरा
    सामाजिक सञ्जालमा रिसको भरमा लेखिएको टिप्पणी, पोस्ट वा सन्देशसमेत कानुनी प्रमाण बन्न सक्छ ।


    अपुष्ट समाचार वा अफवाह फैलाउँदा कानुनी कारबाही हुन सक्छ ।


    यस्ता गतिविधिमा संलग्न भए जरिवाना, कैद सजाय वा विदेशी नागरिकको हकमा देश निकाला (डिपोर्ट)सम्म हुन सक्छ ।


    रोजगार सम्झौता, कम्पनीका नियम तथा यूएईको श्रम कानुनको पालना गर्नु प्रत्येक श्रमिकको दायित्व हो ।

    यूएईका कानुन, स्थानीय संस्कृति र सामाजिक मूल्य–मान्यताको सम्मान गर्नु नै सुरक्षित र सफल प्रवासी जीवनको आधार हो । कानुनको सम्मान गरौं, जिम्मेवार नागरिकको परिचय दिऔं ।

  • काठमाडौंमा चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौंमा चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौँ, २२ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।

    साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ ।

  • एमालेका पूर्वसांसद कोइरी पक्राउ

    एमालेका पूर्वसांसद कोइरी पक्राउ

    महोत्तरी, १९ असारः नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

    कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे ।

    यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार थिए । कोइरी यसपालि पराजित भए । नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहेका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ ।

    सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

  • न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ

    न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ

    १८ असार, काठमाडौं । काठमाडौं, वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४२ वर्षीय भारतीय नागरिक संजय कुमारलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार, कुमारले आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै एक जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ असुल गरेका थिए। रकम लिएपछि लामो समयसम्म झुक्काएर राखेको र अन्ततः सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।


    भारतको बिहार राज्य, गोपालगंज स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १८ मा बस्दै आएका कुमारलाई २०८३ असार १७ गते काठमाडौंको वडा नं १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिए ।

  • उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १८ असारः विशेष अदालतले नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

    विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र अहिले तेस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकामा आज तेस्रो पटक ६ दिन म्याद थप भएको छ ।” उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

    नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

    काठमाडौँ, १८ असार । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    पक्राउ पर्नेमा रुपन्देहीका डोलराज सेन, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही, बाँकेका मिलन भण्डारी, दाङका रमेश खत्री र विकास घर्ती, रोल्पाका किरण पुन, रुपन्देहीका रोहित विक, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, दाङका प्रकाश खत्री रहेका छन् ।

    रुपन्देहीका रवीन विश्वकर्मा, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, दाङका विजय नेपाली, कैलालीका पदम ओली, दाङका रिजन घर्तीमगर, स्याङ्जाका कमल ज्ञवाली, कैलालीका दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए । नयाँबसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

  • ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ, १७ असार । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट–सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुटरसहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

    विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो । कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुटरसहुलियत पाउनुपर्नेमा पाउन नसकेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

  • भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, १७ असारः अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

    आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

    काठमाडौँ, १६ असार । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाउनुभएको हो । पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आब्हान गरिएकोे छ ।

    नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पु¥याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिने शाखा अधिकृत सापकोटाद्वारा जारी परिपत्रमा भनिएको छ । गृह मन्त्रालयले देशभर सञ्चालित कतिपय होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकहरूबाट प्राप्त व्यापक गुनासाहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    गृह मन्त्रालयले आमनागरिकका गुनासाहरू सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रूत सेवा डेस्क) तुरुन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ । नागरिकस्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न अनुरोध गरिएको छ । स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न साना–तिना विषयमा गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्णरूपमा अन्त्य गर्ने परम्पराको अन्त्य गर्न भनिएको छ ।

  • तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

    तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

    रसुवा, १६ असारः चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो ।

    भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो । बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री रहेका छन् । बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

    भन्सार कार्यालयका सूचना अधिकारी गैह्रेलेसुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको बताउनुभयो ।

    जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार प्रहरीको गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको छ ।

    यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकले गरेको र गैरकानुनी क्रियाकलाप गरेको भेटेपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट रसुवा प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि चालकलाई धरौटीमा रिहा गरिएको गरी एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ ।

    राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई थप प्रभावकारी बनाउँदै जाने भन्सार अधिकारीले बताएका छन् ।

  • भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

    भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १५ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५–७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि रु ४५ लाख बराबरको रकम विनियोजन भएको थियो ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो । स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ रु दुई लाख २५ बराबरको बजेट थियो ।

    निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ ।

    आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ ।

    छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ । बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

  • कोहलपुरमा भाइद्वारा दाजुको हत्या

    कोहलपुरमा भाइद्वारा दाजुको हत्या

    नेपालगञ्ज, १५ असार । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ ।


    प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।

  • पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १५ असार । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

    विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।”

    नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालत उपस्थित गराइएको थियो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ, १३ असारः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ््तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख लिई सम्पर्कविहीन भएको पाइएको छ ।

    पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका–२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ–१४ बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

  • पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

    पेस्तोल र गोलीसहित जनकपुरबाट दुई पक्राउ

    जनकपुरधाम, १३ असारः प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पेस्तोल र गोेलीसहित धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियलाई पक्राउ गरेको हो ।

    होटलमा आज दिउँसो खाना खान आएका दुई जना युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हतियारसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनाका साथबाट एक थान पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७।६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद भएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    काठमाडौँ, १३ असारः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

    विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पु¥याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

  • अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    काठमाडौँ, १० असारः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै सङ्गठित अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताए ।

    नेपाल पुलिस क्लबमा आज आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरीको सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

  • गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै बिरामीलाई औषधि सिफारिस गरिएको ‘प्रेस्क्रिप्सन’ फेला परेपछि नेपाल मेडिकल काउन्सिलको कारबाहीका लागि ब्यूरोलाई अनुरोध गरेको थियो ।

    प्रारम्भिक अनुसन्धानपश्चात काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । निजमाथि मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना पक्राउ परेका छन् । पीडित महिलाको अश्लिल तस्बिर–भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।

    उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौँ, १० असारः नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

  • एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    काठमाडौँ, ९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, निर्देशक रवीन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इञ्जिनियर विपीन प्रसार्इं, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।

    आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुस्करराज नेपाल (कानुन), उपसचिव (लेखा) भेषप्रसाद भूर्तेल विरुद्ध समान बिगो माग दाबी गरेको छ । राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जिएमबिएचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध रु आठ अर्ब २२ करोड ३५ लाख चार हजार ४४४ बराबरको बिगो माग दाबी गरिएको छ ।

    म्यूलबैरका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल विरुद्ध रु एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ बराबरको बिगो दाबी गरिएको छ । बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितात र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो ।

    राष्ट्रसेवक कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ । प्रचलित कानुनको प्रतिकूल हुने गरी बदनियमतपूर्वक बोलपत्र मूल्याङ्कन गरे गराएको, साथै प्रचलित कानुन विपरीत बोलपत्रहरुको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर छ ।

    बदनियतपूर्वक राहदानी विभागलाई रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।