डिएसपीले ‘नेपाल प्रहरी बालेनको होइन, राज्यको हो’ भन्दा जिल्ला तानिएको घटनामा प्रहरीको स्पष्टीकरण

काठमाडौँ, २५ असारः नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्टीकरण दिएका छन् । कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको दावि छ ।

प्रवक्ता काफ्लेले भनेका छन्, “उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ । नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो । यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ । कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन ।”

प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए । उनले भने, “विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ । विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ । त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौँ ।”

प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट गरे । तर, सामाजिक संजालमा भने उनीमाथि प्रहरी प्रशासनले गरेको कारवाही प्रक्रियाको व्यापक आलोचना भइरहेको छ । सार्वजनिक भएको भिडियोमा चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति विशेषको नभई राज्यको हुने र राज्यका लागि उत्तरदायी भएर काम गर्ने भन्दै अहिले पनि बालेनको नभएको बताएका छन् ।