Category: कानुनी कुरा

  • गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    काठमाडौँ, ६ असारः लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
    उनले भने,“काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।”
    उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी निजसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याई अहिले उपचार भइरहेको प्रवक्ता रेग्मीले बताए । ब्यूरोको टोलीले पक्राउ परेकाहरूका साथबाट लागूऔषध खैरो हेरोइन ३०० ग्राम, मोबाइल चार थान बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र रु एक लाख चार हजार जरिवाना भुक्तान गरी मिति २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

  • तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    दमौली (तनहुँ), ६ असारः तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेला परेका छन् । बाँकी व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिए ।
    “हराएका व्यक्तिहरूलाई सकुशल फेला पार्न प्रहरी निरन्तर सक्रिय छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

    त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् । प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोड दिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ । फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका प्रतिवादीबाट चार वर्ष दुई महिनाको कैद तथा रु दुई लाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताए । “अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको छ,” उनले भने, “समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ ।”

  • नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

    नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

    नेपालगन्ज (बाँके), ५ असारः यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए । प्रहरीले रु २०० लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

  • भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ असारः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगले बडीकेदार गाउँपालिका डोटीका अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सवइञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बम विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

    यस्तै, सोही गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा राजश्व रकम संकलन नगरी हानी नोक्सानी पुर्‍याएको अभियोगमा बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लेखापाल, युवराज भट्ट, गाउँपालिकका सबइञ्जिनियर दानबहादुर पछेरा र भागरथी निर्माण सेवा धनगढी कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यीक्त केशवबहादुर बम विरुद्ध समान रु ४६ लाख ९५ हजार ६०० बराबरको बिगो र कैद सजायको माग गर्दै आजै अर्को मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रासस
    सिद्धार्थनगर (भैरहवा), २ असारः जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएको जानकारी दिए ।


    फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४६ जनालाई पक्राउ गरी रु ५२ लाख ६६ हजार ४१२ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको उनले बताए । महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा घरेलु हिंसासम्बन्धी ९३ तथा झैझगडासम्बन्धी ७२ उजुरी प्राप्त भएको जनाइएको छ । तीमध्ये घरेलु हिंसाका ८३ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ ।

    हराएका व्यक्ति खोजतलास अभियानअन्तर्गत १०८ जनाको खोजीका लागि निवेदन प्राप्त भएकामा ६१ जनालाई फेला पारिएको तथा अघिल्लो अवधिदेखि खोजीमा रहेका नौ जनालाई समेत परिवारको सम्पर्कमा ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक आशीष विश्वकर्माका अनुसार जेठ महिनामा लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले डाइजेपाम २५२ एम्पुल, फेनार्गन ५८ एम्पुल, बुप्रेनोर्फिन १४७ एम्पुल, ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्रामभन्दा बढी तथा गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको छ ।

    यसैबीच, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली मुद्रा छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन तथा अन्य उपकरण बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । शान्तिसुरक्षालाई प्रभावकारी बनाउन जेठ महिनामा ४९३ प्रहरी पिकेट, ५१० सवारी चेकिङ, ८६८ ग्रामीण गस्ती तथा अन्य विशेष सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा आठ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

    सवारी दुर्घटना न्यूनीकरणका प्रयास जारी रहे पनि जेठ महिनामा जिल्लाभर १५८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको तथा २५६ जना घाइते भएको प्रहरीले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने तीन हजार ५६६ सवारीसाधनलाई कारबाही गरी रु ५६ लाख तीन हजार राजस्व सङ्कलन गरिएको छ ।

    भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु दुई करोड ४३ लाख ४० हजार १६६ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा ४० वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो ।

    प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा लिनुका साथै अवैध रूपमा ओसारपसार गरिएका ५६४ कुखुरा, ९०० चल्ला तथा विभिन्न वन पैदावार बरामद गरिएको जनाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, घरेलु हिंसा, आत्महत्या रोकथाम, सडक सुरक्षा तथा मानव बेचबिखनविरुद्ध १५० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममार्फत छ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    नागरिक सहायता कक्षमार्फत एक हजार ६५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा हटलाइन र सम्पर्क नम्बरमा चार हजार ४८ फोन कल प्राप्त भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक चन्दले अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताए ।

  • लागुऔषधसहित ३१ जना पक्राउ

    लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ, ३१ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच\पाँच, झापा र ललितपुरबाट चार\चार, सिरहा र काठमाडौँबाट तीन\तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

    चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

    काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।

    जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले राससलाई जानकारी दिए । उनले भने, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी अहिले काठमाडौँ ल्याइएको छ ।”

  • ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो ।

  • अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    काठमाडौँ, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन् ।  


    समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।


    मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।


    मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ । यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।

  • विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, २९ जेठः काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

    उनले भने, “रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए ।

  • विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

    विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौँ, २८ जेठः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् । पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् ।

    निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ । सुटकेशभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा नगदसहित फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

  • नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय

    नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय

    काठमाडौँ, २६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने, “अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने छु, मन्त्रालय गम्भीर भएर लाग्ने छ ।”

    मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने–नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।

    गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुष्म निगरानी गरी कारबाही गरी सुरक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजेलिन्स टिम (एसआइभीटी) गठन गर्ने उनले बताए । उनले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र टुङ्गामा पुर्‍याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक, सङ्गठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टिकृत समूह गठन गर्ने निर्णय गरेका छन् ।

  • स्पा’ सञ्चालिका पक्राउ

    स्पा’ सञ्चालिका पक्राउ

    काठमाडौँ, २४ जेठः ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।

    निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • अवैध लागुऔषधसहित ११ जना पक्राउ

    अवैध लागुऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ, २४ जेठः नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नाइट्राजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    काठमाडौँ, २३ जेठः पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

    कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

    कञ्चनपुर, २२ जेठः कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् ।

    उनका अनुसार चौधरी जबर्जस्ती करणी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । यस्तै खड्का लागुऔषध (खैरो हेरोइन) मुद्दामा पाँच वर्ष कैद तथा रु पाँच हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् । कारागारबाट फरार भएपछि दुवै जनाको खोजीकार्य तीव्र बनाइएको थियो ।

  • यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

    यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

    तेह्रथुम, २१ जेठः अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए ।


    म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मङ्गलबार २०–२५ जनाले यार्सागुम्बा सङ्कलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिए ।

    डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सा सङ्कलन गर्न पाइने बताए । अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा रु ३१ पनि लाग्नेछ ।


    डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुनेबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुँदै आएको छ ।

  • चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

    चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

    काठमाडौँ, १९ जेठ । प्रहरीले चोरीका पाँच वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, राजदेवी नगरपालिका घर भइ हाल काठमाडौँको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुर, बागमती गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा गोरखा, गण्डकी गाउँपालिका–५ घर भइ हाल काठमाडाँै तारकेश्वर नगरपालिका–५ लोलाङ्ङ बस्ने २२ वर्षीय अमृत पुर्जा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनले भने, “बा ७५ प ६८२४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, बा ७६ प १५०२ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०६३ प १६४१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, लु ४६ प ५०५२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, बाग्मती प्रदेश ०२–०६२ प ३३८४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो ।” पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विदेशी मुद्रासहित विदेश जान लागेका एक जना पक्राउ

    विदेशी मुद्रासहित विदेश जान लागेका एक जना पक्राउ

    काठमाडौँ, १९ जेठ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका एक व्यक्तिलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ गरिएको छ ।
    गएराति अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका–१ घर भएका ५० वर्षीय कमलनारायण विश्वासलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।


    उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेका उनको साथबाट झण्डै ५५ लाख बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली रु ११ लाख, अमेरिकी डलर १४ हजार ८५०, जापानी येन ४१ हजार, स्विस फ्रैङ्क एक हजार, मलेसियन रिङ्गिट २३ हजार ६३२, श्रीलङ्कन रूपी सात हजार ७७०, पाकिस्तानी रूपी तीन हजार ५४० र ओमानी रियाल दुई हजार ९७० फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

  • वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गरे ।

    “हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ”, उनले भने । नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

    पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्न भनेको थियो ।

  • तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    कर्णाली, १९ जेठः सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट रु तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।


    उनका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित रु तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको हो । पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, १८ जेठः विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ करोड ७८ लाख ६८ हजार ९५ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

  • न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    काठमाडौँ, १८ जेठः प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।


    प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि तयार गरिएको सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रति जनताको विश्वास र आस्था कायम राख्नुपर्ने उनको जोड छ ।

    निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापन सुधार गर्ने, विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन भनिएको छ ।

    गुनासो सुनुवाइका प्रभावकारी संयन्त्र सञ्चालन गर्ने, नागरिक बडापत्र, सूचना कक्ष तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अनलाइन बहस, ‘भिडियो कन्फरेन्सिङ’ तथा ‘लाइभ स्ट्रिमिङ’को उपयोग विस्तार गर्ने, स्वचालित पेशी–तारेख प्रणाली र पारदर्शितालाई संस्थागत गर्ने तथा फैसला लेखन र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

    प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने, मेलमिलाप तथा विवाद समाधानका वैकल्पिक उपायलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, बयान, बकपत्र र प्रमाण परीक्षणमा न्यायाधीशको निगरानी सुनिश्चित गर्ने, वित्तीय अनुशासन कायम गर्ने, बजेटको प्राथमिकताका आधारमा पारदर्शी खर्च सुनिश्चित गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

  • ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

    काठमाडौँ, १७ जेठः बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।

  • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    काठमाडौँ, १७ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

    यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका–२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद रु १२ हजार ७१० सहित शुक्रबार पक्राउ गरिएको हो ।

    यसैगरी मोरङ, बेलबारी नगरपालिका–१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका–१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका–८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो ।

  • अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    काठमाडौँ, १२ जेठः सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो ।

    विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान, वकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिएका थिए । उक्त मुद्दामा भएको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो ।

  • सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, “माथिल्लो प्रकरण नं (८) मा उल्लेख र विश्लेषण गरिएअनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्कृय हुने देखियो, तसर्थ काठमाडौँ जिल्ला अदालतबाट निवेदकलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।”

    अनुसन्धानका लागि प्रचलित कानुनको अधिनमा रही पक्राउ गर्न सकिने भए पनि त्यस्तो पक्राउ ‘स्वेच्छाचारी’ हुन नहुने र कानुनी प्रक्रिया तथा स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा भनिएको छ ।

  • गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

    गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

    काठमाडौँ, ९ जेठ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए ।

    उनले भने, “काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।

  • रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    गण्डकी, ८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ ।

  • ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

    ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

    काठमाडौँ, ७ जेठ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाँै महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।