Category: कानुनी कुरा

  • आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    १८ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

    त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । बस्ती खाली गर्ने सूचनालाई अटेर गरी बस्दा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो । काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेको देखिएको थियो । सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।

    बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ वटा काम तत्काल गर्न भनेको छ ।

    यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–

    १. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।

    २. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

    ३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।

    ४. तपाईंको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला ।

    ५. २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला ।

    ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

    ७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।

    ८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडि नलाग्नुहोला ।

    ९. नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।

    १०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईंको हक अधिकार सुरक्षित रहनेछ ।

    ११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईंको समेत कर्तव्य र जिम्मेवारी हो ।

    १२.सरकारले तपाईंलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईंका बालबालिकाको शिक्षाको प्रबन्ध सरकारको तर्फबाट हुनेछ ।

    १३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाईं स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।

  • राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताए ।

  • एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    १७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ । पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरेको र २९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले भनेको छ । सरकारले सार्वजनिक सेवालाई बिचौलियारहित, नागरिक मैत्री, कानुनसम्मत, पारदर्शी र छिटो छरितो बनाउने भनेको थियो । सोहीअनुसार देशभरका सेवा कार्यालयमा रहेका बिचौलियामाथि प्रहरीले धरपकड सुरु गरेको थियो ।

  • विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    १६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ । विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए । पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

    विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ । विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको विभागले आफ्नो सूचनामा जनाएको छ ।

  • ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

    ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

    पश्चिम नवलपरासी, वैशाख १५ गते । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।

    मृत्यु दर्ता गर्न झुटा विवरण पेस गर्ने नारायणी पारीको सुस्तागाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् । मियाँले वडा नम्बर ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

    मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् ।

    साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेको र आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

  • पहुँचका भरमा प्रयोग भएका ६२२ सवारी साधन फिर्ता

    पहुँचका भरमा प्रयोग भएका ६२२ सवारी साधन फिर्ता

    काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधन प्रयोग गरिरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सरकारले हालसम्म ६२२ वटा सवारी साधन फिर्ता लिइसकेको छ।

    कानुन विपरीतको सुविधामा रोक

    प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधन पाउने कानुनी व्यवस्था छ। तर, सोभन्दा तल्लो तहका कर्मचारीहरूले समेत व्यापकरूपमा चार पाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फिर्ता गर्ने प्रक्रिया सुरु गरेको हो।

    यसअघि वैशाख १० गते प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै कानुनले तोकेबाहेकका कर्मचारीले प्रयोग गरिरहेका सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा हालसम्म ६२२ वटा गाडी फिर्ता भएका हुन्।

    सामूहिक प्रयोगको नयाँ नियम

    अब आगामी दिनमा कानुनले तोकेका पदाधिकारीबाहेक कसैले पनि सरकारी सवारी साधनको एकल प्रयोग गर्न पाउने छैनन्। यद्यपि, कामको विशेष प्रकृति वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    आर्थिक भार कटौतीको लक्ष्य

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले यो कदम चालेको हो। यसबाट इन्धन, मर्मत सम्भार र सुविधाका नाममा भइरहेको ठुलो व्ययभार कम हुने विश्वास गरिएको छ। कानुन विपरीत सवारी साधन प्रयोग हुँदा राज्यलाई कति आर्थिक भार परेको थियो भन्नेबारे पनि विस्तृत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

  • बीमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

    बीमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

    काठमाडौं, वैशाख १५ गते । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो ।

    नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ ।

    सोही प्रतिवेदनका आधारमा ब्यूरोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गर्न वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिएको थियो । पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता र कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    प्रचलित कानुन अनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्न प्राधिकरणले गरेको छानबिनका आधारमा यो कारबाही अगाडि बढाइएको ब्यूरोको भनाइ छ ।

  • काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा निजहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ परेकासँग १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ ।

    काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • खाद्य प्रविधिका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

    खाद्य प्रविधिका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, वैशाख १४ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाद्य उद्योग अनुमतिपत्र नवकिरणको काम गरिदिनको लागि विभिन्न बहाना बनाइ दुख हैरानी दिइ घुस बार्गेनिङ गरी चौधरीले सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएको पुष्टि भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रकम ३० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

    खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भइरहेको बताए ।

    ‘‘राखेपको छानबिन उपसमितिले विभिन्न राष्ट्रिय खेल सङ्घमा देखिएको विवाद मिलाउने काम गरिरहेको छ । अब हामी खेलकुदमा विगतदेखि भइरहेको खराब राजनितिक गतिविधि अन्त्य गर्ने अभियानमा छौँ । कानुन सबैले पालना गर्न आवश्यक छ,’’ मेहताले भने ।


    राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
    तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ (फिफा) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए ।

  • राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, यस्तो छ कारण

    राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, यस्तो छ कारण

    ११ वैशाख, काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको बताए ।

    पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरुमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

    सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । उक्त मुद्दामा हालसम्म जम्मा नौजना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । रासस

  • शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप

    शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप

    ११ वैशाख, काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ । गोल्छालाई प्रहरीले बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ परेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।

    नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

    गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।

  • सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

    सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

    ११ वैशाख, काठमाडौं । सरकारले उपत्यका भित्रका अव्यवस्थित बस्ती हटाउनका लागि सबै सरोकारवाला निकायहरूलाई जोडेर विस्तृत कार्ययोजना तयार गरेको छ । बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ११ बुँदे निर्णय गरेको छ ।

    उक्त निर्णय अनुसार बस्तीबाट हटाएर सुरक्षित स्थलमा लैजाने, खानपानको व्यवस्था गर्ने र भेरिफिकेसन क्याम्पमार्फत सुकुम्बासी पहिचान गरिने छ । बस्तीका मानिसहरू सार्नका लागि सरकारी गाडी प्रयोग गरेर लगायतका निर्णय छन् ।

    यस्तो छ सरकारको योजना

    १. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचनाहरू भत्काउनु पूर्व नै उक्त स्थानहरू खाली गर्ने तर्फ जोड दिने ।

    २. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना एवम् माइकिङ बमोजिम २०८३ बैशाख १२ र १३ गते बस्ती संरचनाहरू हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सर सामानका लागि विभिन्न कार्यालयबाट पत्राचार भए बमोजिमका निकायहरूबाट आवश्यक प्रबन्ध तत्काल गर्ने ।

    ३. बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने सन्दर्भमा मानवीय मद्दत उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध-वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

    यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने । सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने ।

    ४. बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने ।

    ५. पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलहरूमा लगी अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थाहरू मिलाउने कार्य शहरी विकास मन्त्रालयले गर्ने ।

    ६. यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा प्रत्येक परिवारको भेरिफिकेशन क्याम्प खडा गर्ने र निजहरूलाई फोटो सहितको परिचयपत्र वितरण गर्ने । भेरिफिकेशन हुन नसकेका व्यक्तिहरूलाई क्रमशः उक्त स्थानबाट समेत बिदा गर्दै जाने कार्य शहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने ।

    ७. बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने ।

    ८. अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्ने समेतका कार्यहरू काठमाडौं महानगरपालिकाले गर्ने । यस कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने ।

    ९. यी माथिका निर्णयहरू बमोजिमका कार्यहरू गर्न केन्द्रीय समन्वय समितिको रूपमा देहायबमोजिमको समिति गठन गर्ने । उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने ।

    देहाय

    १. माननीय शहरी विकास मन्त्री – संयोजक

    २. काठमाडौं महानगरपालिका प्रमुख – सदस्य

    ३. गृह मन्त्रालयका सचिव – सदस्य

    ४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव – सदस्य

    ५. शहरी विकास मन्त्रालयका सचिव – सदस्य

    ६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव – सदस्य

    ७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव – सदस्य

    १०. माथि निर्णय नम्बर ९ बमोजिम गठन भएको केन्द्रीय समन्वय समितिको अधीनमा रही सम्बन्धित मन्त्रालय, निकायहरूबाट आ आफ्ना क्षेत्रगत विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति एक्सन टिम बनाई तोकिए बमोजिमका कार्यहरू गर्ने र सोको नियमित रिपोर्टिङको कार्य केन्द्रीय समन्वय समितिलाई गर्ने ।

    ११. बस्तीहरू खाली गर्ने, सुरक्षाकर्मीहरू परिचालन एवम् आश्रयस्थलहरूमा व्यवस्थापन र पुनर्वाससमेतका कार्यहरू गर्दा प्रत्येक चरणमा क्षेत्र स्तरमा आउनसक्ने सम्भावित समस्याहरू र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायहरूबाट उपलब्ध गराउने ।

  • खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

    खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौँ, वैशाख १० गते । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी सो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।

    निज यादव सार्वजनिक पदमा नियुक्ति भएको मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार संगोलमा रहेका व्यक्तिहरुले उपर्युक्त अवधिमा विभिन्न आयस्रोतहरुबाट कानुनी रुपमा आर्जन गरेका वैधानिक आय तीन करोड ४६ लाख २१ हजार ४०१ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सोही अवधिमा निजको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च, ऋण सापटी, बैङ्क मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रुपियाँ कुल व्यय देखिएको छ ।

    समग्रमा कुल आयभन्दा बढी देखिएको कुल व्ययतर्फको स्रोत नखुलेको एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ बिगो रकम कायम गरी निजको श्रीमती निर्मला कुमारीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

    उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

    १० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग हुने गरेको प्रतिवेदन धितोपत्र बोर्डले तयार पारेको थियो । विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

    सोही अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान रहेको उल्लेख गरेको छ । उनीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजार प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार सम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ । भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी हिरासतमा राखेको छ । चाचान भने पक्राउ परेका छैनन् ।

    त्यस्तै सोही कार्यमा सहयोगी भूमिका खेलेका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ ।

    बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो । शुभी अग्रवाल सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान क्रममा हाल हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन् । सुलभ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत हुन् ।

  • काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ

    काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ

    १० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका थिए । उक्त बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो । उक्त छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

    जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ (आज) थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरिरहेको छ । भोलि साँझ ७ बजेसम्म अतिक्रमित सुकुमवासी बस्ती खाली गराउने निर्णयअनुसार माइकिङ भइरहेको बताइएको छ । शुक्रबार साँझसम्म खाली नभए शनिबारबाट अतिक्रमित संरचनामा डोजर चल्छ । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ ।

  • अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

    अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

    न्युयोर्क, वैशाख १० गते । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गरेका छन् । इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गरेका छन् ।

    इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरमा जहाज कब्जा गरेको पुष्टि गरेका छन् । जबरजस्ती जहाज आक्रमणको धम्कीले जहाजका चालक दल र उनीहरूका परिवारको जिवन खतरामा परेको उनले उल्लेख गरेका छन् । कानुनी र सुरक्षा चिन्ता व्यक्त पार्दै उहाँले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताए ।


    इरवानीले जहाज जफत संयुक्त राष्ट्रसङ्घ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन भएको जनाइएको छ । यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्वले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उनले उल्लेख गरेका छन् । इरवानीले संयुक्त राष्ट्र सङ्घलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विना सर्त रिहा गर्न दबाब दिन आग्रह गरेका छन् । रासस-एएनआइ

  • वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

    ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् । नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
    उनले भने, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” उनले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिए ।
    सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ ।

    साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
    वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । रासस

  • सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    ९ वैशाख, काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराए ।

    जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।

    आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

    आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ। कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

    यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट (स्क्रिनिङ) गरिरहेको छ। आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    ९ वैशाख, काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधबार बिहान मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी हुन् । लगत्तै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरिन् ।

    समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा. कँडेलले मन्त्रीलाई जानकारी गराएका थिए । अनुसन्धानको अवस्थाबारे एआईजी केसीले ब्रिफिङ गरेका थिए । छलफलपछि महान्यायाधिवक्ता डा. कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    महान्यायाधिवक्ता डा. कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले आवश्यक भूमिका खेल्ने बताए । ‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ’ उनले भने ।

    एआईजी केसीले सीआईबीले पनि आवश्यक समन्वय गर्ने बताए । एआईजी केसीले भने, ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने छ ।’ छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरे ।

  • राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    ९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि–बजेट छलफलसमेत हुनेगर्छ । आजै सभामुख डिपी अर्याल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी बजेट अधिवेशनको तयारीबारे छलफल समेत भएको छ ।

  • मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    ९ वैशाख, काठमाडौं । सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताए ।

    ‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङले भने ।

    गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् । राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’

  • गृहमन्त्री गुरुङले दिए राजीनामा

    गृहमन्त्री गुरुङले दिए राजीनामा

    ९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । सम्पत्ति विवरण सार्वजनिक र दिपक भट्टको लगानी रहेको कम्पनीमा शेयर कारोबारको खुलासा पछि गुरुङमाथि प्रश्न उठिरहेको थियोे । भट्ट अहिले प्रहरी हिरासतमा छन् ।

    यस्तो छ गुरुङको स्टाटस

    म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
    मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
    त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
    मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
    For my country and For the respect of our security forces and For the youths of Nepal.

  • गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    ९ वैशाख, काठमाडौं । सेयर कारोबारको विषयलाई लिएर तिव्र आलोचनाका बीच गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग मध्यरातीसम्म छलफल गरेका छन्। मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्। झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।


    छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले के विषयमा छलफल भएको भनेर सोधेका थिए। जबाफमा उनले भने, अब पछि भनौला’ उनले उल्टै पत्रकारलाई किन यति रातीसम्म दुख पाएको भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

  • कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    ८ वैशाख, काठमाडौं । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

  • सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    ८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
    वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    केही स्थानीय तथा सुनचाँदी व्यवसायीहरुलाई अपिरिचित व्यक्तिहरुले अल्मल्याउने र सुन चोरेर भाग्ने गरेको सूचनाको आधारमा कपिलवस्तु प्रहरी अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा गत चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट पाएको सूचना समेतको आधारमा यही वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जना पुरुषलाई पनि पक्राउ गरिएको हो ।

    उनीहरुलाई कपिलवस्तु पुर्‍याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका यी व्यक्तिहरुमाथि सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवनमा समेत सुनका गरगहना चोरीको जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ ।

  • चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    ७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।
    सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् ।

    ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’ दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुस्ख गरेर लागेको आफूले नदेखेको उनको भनाइ छ ।

  • कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    ७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
    जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

  • प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    ७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।’

    पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा छ । कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।

    गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ । ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

  • गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

    गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

    ७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको बता्रएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताए । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,’ उनले भनेका छन् । साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् ।

    ‘अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०–०५–२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’

    आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ । ‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,’ गुरुङले भनेका छन् । यद्दपी उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो ऋणबारे उल्लेख नगरेका कारण उनको दाविमाथि अझ प्रश्नहरु थपिएका छन् । सुधन गुरुङको अस्वभाविक सम्पत्ति र त्यसको स्रोतमाथिका प्रश्नलाई लिएर सर्वसाधारणले भने नैतिक प्रश्न उठाइरहेका छन् ।