१० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका थिए । उक्त बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो । उक्त छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ (आज) थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरिरहेको छ । भोलि साँझ ७ बजेसम्म अतिक्रमित सुकुमवासी बस्ती खाली गराउने निर्णयअनुसार माइकिङ भइरहेको बताइएको छ । शुक्रबार साँझसम्म खाली नभए शनिबारबाट अतिक्रमित संरचनामा डोजर चल्छ । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ ।