Category: कानुनी कुरा

  • महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    काठमाडौँ, १७ चैतः सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्ने खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

  • प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    जुम्ला, १७ चैत । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

    प्रअमहतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ । विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।

  • आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।

    पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

  • गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    काठमाडौँ, १७ चैत । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

    गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर्न अनुरोध गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ बमोजिम जुवा खेल्न र खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्थाको समेत बोर्डले स्मरण गराएको छ ।

  • अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    ताप्लेजुङ, १६ चैत : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।

    सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए । घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बाँया हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

    यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

    काठमाडौँ, १६ चैतः यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ ।

    त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिइओ अर्याललाई आज पक्राउ गरेको हो । अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिको विवरण फरकफरक निकायमा पेस गरेकाले पक्राउ गरिएको जानकारी दिए । अर्यालले गरेको उक्त काम धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर भएकाले पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका अर्यालसँग थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

  • एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

    एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

    काठमाडौँ, १६ चैतः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवेदनमा आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

    आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको जादेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनुनपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरुको नाउँमा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाइ म्यादभित्र लिखितजवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।”

    अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को प्रतिकूल जरुरी पक्राउपुर्जी जारी भएको भन्ने निवेदकका तर्फबाट बहस पैरवी गर्न उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू तथा अधिवक्ताहरूले तर्कपूर्ण बहस गर्नुभएको हुँदा निवेदकलाई जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे नरहेको के हो प्रत्यर्थीहरूबाट जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनु भनेको छ ।

    साथै, सुनुवाइको दिन कार्की आयोगको छानबिन प्रतिवेदनसमेतको अनुसन्धानको मिसिल इजलाससमक्ष देखाइ फिर्ता लानेगरी मगाउन भनिएको छ । अध्यक्ष ओलीको पत्नी राधिका शाक्यले आइतबार गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
    सो रिट निवेदनमा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको थियो।

  • राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

    काठमाडौँ, १६ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

    यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसैबीच,संघीय संसद् सचिवालयले राष्ट्रपतिको आह्वानअनुसार दुवै सदनका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा सबै सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको सभाकक्षमा उपस्थितका लागि अनुरोध गरिएको छ ।

  • एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    काठमाडौँ, १६ चैतः एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

    धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । यो विषय गत साल नै महानगरपालिकाले गम्भीर रुपमा लिएर कारवाही गर्न सरकारलाई भनेको थियो । तर, तत्कालिन सरकारले शर्मालाई उन्मुक्ति दिएपछि मेयर बालेनले स्टाटस लेख्दै बालिकालाई न्याय दिलाउने प्रतिवद्धता जनाएका थिए ।

  • बालिकालाई काममा लगाएको आरोपमा पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    बालिकालाई काममा लगाएको आरोपमा पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    गण्डकी, १६ चैत । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेको कार्यालयले जनाएको छ ।

    मापदण्ड विपरीत स्पा सेन्टर चलाएको, बालिकाहरूलाई कामदार बनाएको र स्पा सेन्टरभित्र अवान्छित क्रियाकलाप गर्ने–गराउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

  • अध्यक्ष ओली र नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    अध्यक्ष ओली र नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १५ चैतः जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

    “प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान गर्न, बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज गर्न तथा मिति २०८२-०५-२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरुलाई प्रहरी हिरासतमा राख अनुमति माग गरेको देखिन्छ, आदेशमा भनिएको छ, “अनुमति माग गरेको व्यहोरा मनासिव देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ ९६० बमोजिम ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ ।”

    आदेशमा एमाले अध्यक्ष ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न भनिएको छ । सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री थिए ।

    उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान पक्राउ गरिएको थियो । अध्यक्ष ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत ‘भर्चुअल’ उपस्थित हुनुभएको थियो भने नेता लेखक आफैँ उपस्थित थिए ।

  • अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

    अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

    काठमाडौँ, १५ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि भोलि नै हुनेछ ।

  • ओली क्याविनेटका मन्त्री दीपक खड्का पक्राउ

    ओली क्याविनेटका मन्त्री दीपक खड्का पक्राउ

    काठमाडौँ, १५ चैतः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

  • एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ, १४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । “उनको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उनले भने ।


    अस्पतालका प्रवक्ता डा सेढार्इंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए । अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात एमाले कार्यकर्ता पक्राउ

    एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात एमाले कार्यकर्ता पक्राउ

    काठमाडौँ, १४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
    त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए । आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

  • ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

    ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

    १४ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले देशैभरी सडक प्रदर्शन थालेको छ । सो क्रममा काठमाडौंमा उग्र प्रदर्शन भएको छ । प्रदर्शनकारीले अहिले माइतीघर–बानेश्वर सडक खण्डमा टायर बाल्दै प्रूदर्शन गरिरहेका छन् । सो क्रममा पटक पटक झडप समेत भएको छ । कार्की आयोगको सिफारिसका आधारमा सरकारले ओलीलाई आज बिहान पक्राउ गरेको हो ।

  • ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री

    काठमाडौँ, १४ चैतः गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे । “कानुनभन्दा माथि कोही छैन ।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् । उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो ।

  • पुर्व प्रधानमन्त्री ओली पक्राउ

    पुर्व प्रधानमन्त्री ओली पक्राउ

    १४ चैत, काठमाडौं । प्रहरीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । उनलाई गुन्डुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले स्टाटस लेख्दै यो प्रतिसोध नभइ कानुनी शासन भएको बताएका छन् ।

  • ओली पक्राउ गर्न निवासमा प्रहरी

    ओली पक्राउ गर्न निवासमा प्रहरी

    १४ चैत, काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी भक्तपुर स्थित निवासमा पुगेको छ । त्यहा एमाले कार्यक्रता समेत भेला भएका छन् । अहिले ओलीले कानुनी परामर्श गरिरहेको बताइएको छ ।

  • काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    १४ चैत, काठमाडौं । पुर्व गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । २३/२४ भदौको जेन जि आन्दोलन दमन गरेको कसुरमा उनी पक्राउ परेका हुन् । अहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

  • सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

    सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

    काठमाडौँ, १३ चैतः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । उनले भने, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।” आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

    “सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ”, उनले भने । जेनजीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उनले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

    निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाएका थिए । त्यसअघि मन्त्रालयमा उहाँलाई गृहसचिव राजकुमार श्रेष्ठ नेपाल प्रहरीका महानिरीक्षक सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मन्त्रालयको उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

  • कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

    कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

    नवीन पौडेल\रासस
    काठमाडौँ, १३ चैतः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन् ।


    शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन् । त्यसपछि उहाँले कानुन विषयमा स्नातक पूरा गरेकी छिन् । हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन् । राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् ।

    कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ । त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उहाँमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी छन् । उनले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।

    युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सञ्चार क्षेत्रमा पनि परिचित थिइन् । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पारेकी थिइन् ।


    सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् । रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् । नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनी संसद्मा सक्रिय छिन् ।

  • यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ

    यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ

    काठमाडौँ, ११ चैतः ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् ।

    प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

  • सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

    सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

    काठमाडौँ, ११ चैत । सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतमा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आव २०८१–०८२ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

    उक्त प्रतिवेदन अनुसार उच्च अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन–प्रतिवेदनको सङ्ख्या २५ हजार २२५ थान र यस आवमा नयाँ दर्ता भएका ५८ हजार १८५ गरी मुद्दाको जम्मा लगत ८३ हजार ४१० कायम भएकामा ६१ हजार ४५४ मुद्दा अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ । जुन गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको हो । जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख १० हजार २६ र यस आवमा नयाँ दर्ता भएका एक लाख ८५ हजार १५ गरी मुद्दाको जम्मा लगत दुई लाख ६८ हजार ४४ कायम भएकामा एक लाख ६६ हजार ४६७ मुद्दा अर्थात् ६२ दशमलव १० प्रतिशत फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो ।

    प्रतिवेदनमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधीकरणमा अघिल्लो आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख ६२ हजार ३४४ रहेको जनाइएको छ । गत आवमा नयाँ दर्ता भएका दुई लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत तीन लाख ९६ हजार ५९३ कायम भएकामा दुई लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भई एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    काठमाडौँ, ११ चैतः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले आज भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यसअघि हिजो (मङ्गलबार) उनले नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।

    त्यस्तै गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छिन् । यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ ।

  • आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार

    आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार

    काठमाडौँ, १० चैतः नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा संशोधन गरिएको छ । त्यस्तै, मूल नियमावलीको नियम ५, ७, ८ र १४ मा संशोधन गरिएको छ । मूल नियमावलीमा नियम १६ (क) थप गरिएको छ भने मूल नियमावलीको अनुसूचीमा संशोधन गरिएको छ । नयाँ व्यवस्थाअनुसार बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को अभिभावक नागरिकता नपाउँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा तथा नेपाली आमाबाट विदेशमा जन्मिएर बुबाको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानको हकमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

    नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा लिइनेछ । त्यसका लागि आवश्यक ढाँचासमेत संशोधित नियमावलीले व्यवस्था गरेको छ । यसअघि वैवाहिक अङ्गीकृतबाहेकका अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने व्यवस्था थियो । नयाँ कानुनी व्यवस्थाअनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था गरिएको छ, जसले नागरिकता वितरण प्रक्रियामा स्थानीय तहको भूमिका र जिम्मेवारी बढाएको छ ।

    संशोधनले यसअघि कानुनले स्पष्ट रूपमा समेट्न नसकेको नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि समावेश गरेको छ । साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको अवस्थामा वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्नुअघि निजको नेपाल बसाइँ अनुमति ९भिसा० नियमित हुनुपर्ने व्यवस्था स्पष्ट गरिएको छ ।

  • लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने

    लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने

    काठमाडौँ, १० चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने भएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरू भए पनि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौँ, १० चैतः गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।

    मन्त्रालयले त्यस्तो सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा जानकारी गराइदिन अनुरोध गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम मन्त्रालयले सो आग्रह गरेको हो ।

  • लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

    लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

    काठमाडौँ, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नकिएपछि हेर्दाहेर्दैमा मङ्गलबारका लागि राखिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए ।


    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

    विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

    काठमाडौँ, ५ चैतः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।


    उनले भने, “आज चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ द्वारा काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका निज यात्रुलाई विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा निजहरुले अमेरिकी डलरहरु बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेलापरी पक्राउ गरिएको हो ।”

    प्रहरीले अनिताका साथबाट अमेरिकी डलर १०० दरको १०० थान गरी १० हजार, सङ्गीता लामाको साथबाट अमेरिकी डलर एक सय दरको १०० थान गरी १० हजार तथा विनोद लामाका साथबाट अमेरिकी डलर एक सय दरको ८९ थान आठ हजार ९०० गरी कुल अमेरिकी डलर २८ हजार ९०० बरामद गरिएको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर बुझाइएको प्रवक्ता सिलवालले बताए ।