Category: कानुनी कुरा

  • तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

    तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

    काठमाडौँ, ५ वैशाखः गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा सांसदले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गरे ।

    यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका विषयमा सांसदले सुझाव दिए ।

    छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवाल गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।

  • कांग्रेसमा गगन थापा समूहले पायो अदालतबाट वैधानिकता

    कांग्रेसमा गगन थापा समूहले पायो अदालतबाट वैधानिकता

    ४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाए । सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ । शुक्रबार सभापति गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए ।

    रिट निवेदक (देउवा समूह)बाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितले बहस गरेका थिए । गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसका विरुद्ध सर्वोच्च पुगेको थियो । गत माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

    निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि यो रिटमा आज शुक्रबार सुनुवाइ भएको थियो ।

  • गैँडाको खागसहित चार जना पक्राउ

    गैँडाको खागसहित चार जना पक्राउ

    इनरुवा (सुनसरी), ४ वैशाख । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।

    झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुशन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

  • एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    काठमाडौँ, ४ वैशाख । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए–नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए–नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए–नभएको बारेमा अनुमगन गर्दै आएको छ ।

    पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुमगन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुमगन निरीक्षण गरेको हो । विभागले अनुमगन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको स्पष्ट पारेको छ ।

  • नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको हो ।

    “निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन, निजको पक्राउ पुर्जी र म्याद थप कानुन सङ्गत देखिएन”, आदेशमा भनिएको छ, “निज माथिको दाबीको कसुरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुनसक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिइ मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।”

    अदालतले सम्पत्तिको स्रोत खुलाउन नसकेको हदसम्म आन्तरिक राजस्व विभागले कर निर्धारण गरी उपदफा (७) बमोजिम असुल गर्नसक्ने कर असुल गर्नसक्ने भनेको छ आदेशमा भनिएको छ, “निवेदकउपर हाल अनुसन्धान भएको राजस्वसम्बन्धी कसुर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को २०८१ को संशोधनले थप गरेको दफा २४ ‘क’ ले यस ऐनअन्तर्गतको मुद्दामा प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तानी गरी मिलापत्र गरी पाउँ भनी निवेदन दिएमा त्यस्तो मुद्दामा मिलापत्र हुनसक्ने देखिन्छ ।”

    सोमबार राजस्व अनुसन्धान विभागले नेता खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो । नेता खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत गत चैत १५ गते पक्राउ गरेको थियो ।

  • आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


    यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

    यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।

  • इरानमा १६०० बढी मृत्युदण्ड

    इरानमा १६०० बढी मृत्युदण्ड

    पेरिस, ३० चैत (रासस–एएफपी) । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९ पछिकै उच्च सङ्ख्या हो र यसले राज्यद्वारा दमनको औजारका रूपमा मृत्युदण्ड प्रयोग भइरहेको सङ्केत गरेको छ ।

    नर्वेमा आधारित इरान मानव अधिकार ९आइएचआर० र पेरिसस्थित टुगेदर एगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम) ले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार यो सङ्ख्या अघिल्लो वर्ष २०२४ को तुलनामा ६८ प्रतिशतले बढी हो । सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकामध्ये ४८ जना महिला पनि रहेका छन् । यो पछिल्लो दुई दशकयताकै उच्च सङ्ख्या हो ।

    प्रतिवेदनले उल्लेख गरेअनुसार दैनिक औसत चारभन्दा बढी व्यक्तिलाई फाँसी दिइएको देखिन्छ, र यो तथ्याङ्क ‘न्यूनतम अनुमान’ मात्र भएको जनाइएको छ, किनभने धेरै घटनाहरू आधिकारिक रूपमा सार्वजनिक हुँदैनन् । आइएचआरले मृत्युदण्ड पुष्टि गर्न दुई स्वतन्त्र स्रोत आवश्यक पर्ने नीति अपनाउँदै आएको छ । विश्लेषकहरूका अनुसार सन् २०२५ को यो वृद्धि केवल आपराधिक कारबाही मात्र नभई राजनीतिक सन्देश पनि हो । आइएचआरका निर्देशक महमुद अमीरी–मोघद्दमले भने, “दैनिक चारदेखि पाँच मृत्युदण्डमार्फत डरको वातावरण सिर्जना गरेर सरकारले सम्भावित विरोधलाई दबाउने प्रयास गरेको देखिन्छ ।”

    प्रतिवेदनले जनवरी २०२६ मा भएको विरोध प्रदर्शनपछि अवस्था झनै गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । अधिकारकर्मीहरूका अनुसार सयौँ प्रदर्शनकारीहरू हिरासतमा छन् र उनीहरूलाई गम्भीर आरोप लगाएर मृत्युदण्डसम्मको जोखिममा राखिएको छ । यसअघि पनि त्यस्ता प्रदर्शनहरू कडा दमनका साथ नियन्त्रण गरिएको र हजारौँ मानिस मारिएको तथा दशौँ हजार पक्राउ परेका दाबी गरिएको छ ।

    फेब्रुअरी २८ देखि सुरु भएको इजरायल र अमेरिकाविरुद्धको युद्धकै क्रममा पनि इरानले मृत्युदण्डको प्रक्रिया रोकेको छैन । प्रतिवेदनअनुसार जनवरीको विरोधसँग सम्बन्धित सात जनालाई फाँसी दिइएको थियो, जसमा प्रतिबन्धित विपक्षी समूह ‘पिपुल्स मुजाहिदीन अफ इरान’ का सदस्यहरू र एक दोहोरो इरानी–स्विडिस नागरिकसमेत परेका छन् ।

    इसिपिएमका कार्यकारी निर्देशक राफेल चेनुइल–हाजानले मृत्युदण्डलाई ‘राजनीतिक नियन्त्रणको औजार’ का रूपमा प्रयोग गरिएको आरोप लगाए । उनका अनुसार विशेषगरी कुर्द र बलुचजस्ता जातीय तथा धार्मिक अल्पसङ्ख्यकहरू यसबाट असमान रूपमा प्रभावित भएका छन् । मृत्युदण्ड दिइएकामध्ये करिब आधा व्यक्तिहरू लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका थिए । महिला मृत्युदण्डको सन्दर्भमा ४८ मध्ये २१ जना आफ्ना पति वा मङ्गेतरको हत्या अभियोगमा दोषी ठहरिएका थिए । अधिकार समूहहरूले तीमध्ये धेरै महिला हिंसात्मक वा दुव्र्यवहारपूर्ण सम्बन्धमा रहेको दाबी गरेका छन् ।

    प्रतिवेदनले सन् २०२५ मा सार्वजनिक फाँसीको सङ्ख्या पनि बढेको उल्लेख गरेको छ । अधिकांश मृत्युदण्ड जेलभित्रै कार्यान्वयन गरिए पनि सार्वजनिक रूपमा दिइने फाँसी तीन गुणा बढेर ११ पुगेको छ । इरानको कानूनले मृत्युदण्डका विभिन्न तरिका अनुमति दिए पनि पछिल्ला वर्षहरूमा सबैजसो सजाय फाँसीमार्फत कार्यान्वयन हुँदै आएको छ । मानवअधिकार सङ्गठनहरूका अनुसार इरान विश्वमै प्रतिव्यक्ति आधारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमध्ये एक हो । दोस्रो स्थानमा चीन पर्ने दाबी गरिएको छ, यद्यपि चीनका तथ्याङ्कहरू सार्वजनिक रूपमा उपलब्ध छैनन् ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

    काठमाडौँ, ३० चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

  • प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेका युवकलाई आलोचनापछि छाडियो

    काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको युवालाई सामाजिक संजालमा व्यापक आलोचनापछि प्रहरीले छाडेको छ । साइबर अपराधमा जिल्ला अदालत पाँचथरबाट अनुमति लिई कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको थियो । तर, आज व्यापक आलोचना भएको थियो । निजलाई परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

    “सरकारले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्छ”, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।” मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्नेजस्ता क्रियाकलाप प्रचलित कानुनविपरीतका कार्य भएको जनाएको छ ।

  • वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।

    उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । तामाङलाई वन ऐन, २०७६ को दफा ४९ ९घ० अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

    अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

  • पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।

    सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । आयोगले उनीहरुविरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ ।

  • यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

    यस आधारमा रिहा भए अध्यक्ष ओली र नेता लेखक

    काठमाडौं, २६ चैतः प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
    काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

    अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उहाँहरुलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो । अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

  • हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका थिए । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए ।

    अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

  • सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    गोलबजार (सिरहा), २६ चैत । यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ ।

    हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।

  • विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

    विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

    २५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

    पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती नेपालमा भने छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएका छन् । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।

    अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने तयारी रहेको समेत बताइएको छ । प्रहरी स्रोतका अनुसार यसका लागि अदालती कागजात चाहिन्छ ।
    ‘अदालती कागजात इन्टरपोलले माग्छ । अब नोटिसका लागि बाटो खुलेको बताइएको छ । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउने गर्छ । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।

    उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको हो । पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन र अनुसन्धान भइरहेको बताइएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको छ ।

  • पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

    पक्राउ पूर्जी जारी भएपछि देउवा बोले : मेरो जीवन खुला किताव हो

    २५ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् । उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन् । ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु’ उनले भनेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको वक्तव्य यस्तो छ

    आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,

    म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

    म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

    नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

    देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

    मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।

    भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।

    स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

    वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

    जय नेपाल।

    शेरबहादुर देउवा

  • पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

    पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

    झापा, २४ चैतः पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए ।

    लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो ।

  • ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

    “जिल्ला अदालतबाट मिति २०८२-१२-२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

  • अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

    अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

    काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।


    यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ ।

  • काठमाडौंमा गुण्डागर्दी र बिचौलियाविरुद्ध प्रहरीले थाल्यो सर्च अपरेशन

    काठमाडौंमा गुण्डागर्दी र बिचौलियाविरुद्ध प्रहरीले थाल्यो सर्च अपरेशन

    २१ चैत, काठमाडौं । प्रहरीले काठमाडौंमा अमचचयन कायम राख्न गुण्डागर्दीविरुद्ध सर्च अभियान थालेको छ । साथै सार्वजनिक स्थलमा आम सर्वसाधारणलाई दुख दिने गिरोह र बिचौलियाविरुद्ध समेत अभियान सुरु गरिएको छ । सो क्रममा आज काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको हो ।

    गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेका छन् । ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायत १९५ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • व्यवसायी अग्रवाल पक्राउ

    व्यवसायी अग्रवाल पक्राउ

    काठमाडौँ, २१ चैतः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ । विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।

    अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहनु भएका अग्रवाललाई नियन्त्रणमा लिइएको गृह मन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो । यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

  • ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

    ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

    भक्तपुर, २० चैतः आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका-३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका–८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।


    उनका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका(२ घरभई हाल सूर्यविनायक नगरपालिका–५ बस्दै आएका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै निजलाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रनाउ जवेगुले जानकारी दिए ।

  • नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा

    नापी कार्यालयमा सेवाग्राहीसँग बढी रकम असुल्ने प्रहरी नियन्त्रणमा

    लुम्बिनी, २० चैतः रुपन्देही प्रहरीले भैरहवास्थित नापी कार्यालयमा काम गराइदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल्ने दुई जनालाई आज नियन्त्रणमा लिएको छ । जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीस्थित नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम छिटो गराइदिन्छु भनी बढी शुल्क लिई बिचौलियाको काम गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका बिचौलिया व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लह रहेका उनले जानकारी दिए ।

  • श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    बागमती, २० चैतः श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

    चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई रु दुई लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

    अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले राससलाई बताउनुभयो । कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।

  • भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त सुझाव दिन आग्रह

    काठमाडौँ, २० चैत । सरकारले आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई नै जिम्मेवार र जवाफदेही बनाउने भएको छ । त्यसका लागि सरकारको तर्फबाट तत्काल अवलम्बन गर्नुपर्ने नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गर्नुपर्ने सुझाव उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ ।

    सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, कर्मचारीले तटस्थता, पारदर्शिता तथा कानुनमा उल्लिखित नैतिक एवं अनुशासनका विषयलगायत आचारसंहिताको कडाइकासाथ परिपालना गर्ने र गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको मुख्यसचिव अर्यालले उल्लेख गरेका छन् ।


    मुख्यसचिव सुमनराज अर्यालले बिहीबार एक विज्ञप्ति जारी गरी हालै गठन भएको सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत, प्रक्रियागतलगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने नीति सरकारले आत्मसात् गरेको बताए ।

    सरकारी निकायमा हुनसक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सुक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्ने गराउने र भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुनेबित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनुहुन विज्ञप्तिमा अनुरोध गरिएको छ । सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय तथा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोहीबमोजिम गर्ने÷गराउने व्यवस्थाका लागि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउनुपर्ने मुख्यसचिव अर्यालको विज्ञप्तिमा भनिएको छ ।

    सरकारी निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्नेगरी सुशासन र सदाचार कायम गर्न सबैले आवश्यक पहलकदमी लिनुपर्ने प्रष्ट पारिएको छ ।

  • सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

    सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

    काठमाडौँ, २० चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत जफथ हुने ब्यूरोले स्पष्ट पारेको छ ।

    प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम फौजदारी कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा सो कसुरमा संलग्न व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय हुनका साथ सट्टेबाजीबाट आर्जन गरिएको रकम वा प्रयोग गरिएका उपकरणसमेत जफत हुने ब्यूरोले प्रष्ट पारेको छ । बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।

  • गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।

    नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो । गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

    गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए । बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ ।

  • काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

    काठमाडौँ, १८ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

  • घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    काठमाडौँ, १८ चैत । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।
    बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर, १७ चैत स् मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनकालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । कार्यालयमा कर्मचारीले बाहिर रहेका फोटोकपीदेखि फाराम भर्न खोलिएका पसलहरूदेखि आँखा र रगत जाँच गर्नेहरूबाट समेत रकम लिने गरेको र पूर्वप्रहरीदेखि फाराम गर्न खोलिएका पसलहरूबाटै विचौलिया परिचालित हुने गरेको गुनासो आएको प्रहरीले जानकारी दिएको छ ।