Category: कानुनी कुरा

  • लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    काठमाडौँ, ५ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियोे ।

    आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको लिखित जवाफ साथ पेस भएको नदेखिँदा सो त्रुटि सच्च्याइएको भनिएको मिति २०८२÷१०÷०२ को टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सोसमेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाइ यस अदालतबाट मिति २०८२÷११÷२७ मा भएको आदेशबमोजिम हुनेगरी मिति २०८२÷१२÷०९÷२ मा हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष लगाउका मुद्दासमेत साथै राखी नियमानुसार गर्नु ।”

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निवेदनलाई नियमित सुनुवाइका गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । सो निर्णयविरूद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ, ५ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

  • मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ५ चैतः गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन रु एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए ।

    यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्, यी त आशा, विद्रोह र बलिदानका साक्षी हुन् । भित्तामा टाँसिएका यी तस्बिरलाई नियाल्नुभयो भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन । बाहिर हालैको जेनजी आन्दोलनमा सहिद भएकाहरू र भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्बिर । यसले इतिहास र वर्तमान एउटै कोठामा भेटिएजस्तो लाग्छ ।

    गृहमन्त्री अर्याल भन्छन्, “यी दुवै तस्बिरले नेपालको इतिहास बोक्छन् । कार्यालयमा छिर्दै गर्दा जेनजी आन्दोलनका सहिदहरूका तस्बिरले सुशासनको आह्वान सम्झाउँछ, जसले हामीमाथि भरोसा गरेर आफ्नो जीवन अर्पण गरे । यस्तै, टेबल अगाडि राष्ट्र निर्माताको तस्बिरले पनि हामी यहाँ हुनुको अर्थबोध गराउँछ ।”
    बाहिर सडकमा जीवन सामान्यजस्तै चलिरहेको छ, तर देश भने परिवर्तनको नयाँ मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी हुँदैछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट जनमत छ ।

    मन्त्री अर्याल हरेक पटक ती तस्बिरहरूतर्फ फर्केर हेर्दा अझै पनि आफूलाई हरेर केही जवाफ माग्दै गरेको र केही प्रतिबद्धता खोज्दै गरेको अनुभूति हुने गरेको बताउँछन् । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ? यो प्रश्न म आफैँलाई र अरु सबैलाई हो”, उनी भन्छन् । यो प्रश्नको उत्तर सजिलो छैन, तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत सहिदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ ।

    जेनजी–जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेबमोजिम यहाँ गृह मन्त्रालयमा सुशासन योद्धा र अमर प्रहरीहरूको तस्बिरसहितको विवरण राखिएको छ । यसमा ४५ जना सहिदको तस्बिर, नाम ठेगानासहितको विवरण छ ।

    मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदको तस्बिर, गृहमन्त्रीको कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका गुरु गोरखनाथको तस्बिर पनि छ । यसले पुर्खाप्रतिको सच्चा सम्मान, सहिदको स्मरण र गुरुप्रतिको सत्कार झल्केको छ । जेनजी योद्धा र अमर प्रहरीका तस्बिर गृह मन्त्रालय मात्रै हैन सिंहदरबारको दक्षिण प्रवेशद्वार तथा विभिन्न मन्त्रालय र देशभरका सिडिओ कार्यालयमा पनि राखिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, विभिन्न सडक चोक र महत्त्वपूर्ण सार्वजनिक स्थानमा पनि यी तस्बिर राखिएका छन् । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्यसहित परिवर्तनको मागसहित जेनजी युवाले गरेको बलिदानी र त्यस क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवक अमर प्रहरीको बलिदानीको चीरस्मरणका लागि राष्ट्रका तर्फबाट गरिएको सम्मान हो ।

    जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको प्रमुख कार्यभार फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ । निर्वाचनपछि मुलुक नयाँ सरकार निर्माणको चरणमा प्रवेश गर्दैछ । निर्वाचनको सबै नतिजा आएसँगै राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको सिट बाँडफाँड पनि मिलाएर निर्वाचन आयोगलाई बुझाइसकेका छन् । निर्वाचनबाट झण्डै दुई तिहाइ सांसदसहित रास्वपाले नयाँ सरकारको नेतृत्व गर्र्दैछ ।

    गृहमन्त्री अर्याल गृह मन्त्रालयलगायत विभिन्न निकायमा राखिएका जेनजी योद्धा र अमर प्रहरीको तस्बिरले उनीहरूको बलिदानको उच्च कदर गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सधैँ झक्झक्याइ रहने बताउँछन् । “जेनजी युवाहरूको ऐतिहासिक आन्दोलनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएर सुशासन र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेको छ । अब यो प्रक्रिया र परिवर्तनको आकाङ्क्षाबाट अलमल गर्ने छुट कसैलाई छैन । जेनजीको भावनाअनुरुप देश विकास र सुशासनसहितको समृद्धिको यात्रामा अगाडि बढ्नुको विकल्प छैन । यो कुरा सहिदहरूका यी तस्बिरले हरेक दिन सम्झाइरहने छ”, उनी भन्छन् ।
    जेनजी आन्दोलनको रापमा देशमा ७६ जनाको मृत्यु भयो । सयौँ घाइते भए । त्यसको केही दिनपछि अर्थात् नागरिक सरकार बन्यो । विसं २०८२ असोज ३० गते अर्यालले गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । यसबीचमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग सरकारले १० बुँदे सम्झौता गरेको थियो । अब त्यो सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा आउँदैछ । त्यसमा जेनजी पुस्ताले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचारको अन्त्य गर्दै देश निर्माणका आकाङ्क्षा जोडिएका छन् ।

    गृहमन्त्री अर्यालले नागरिक सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानकहरू स्थापित गरेको बताए । “निर्वाचनमार्फत राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरका छौँ । आगामी सरकारले यी मानकहरूका साथै नवयुवाको चाहनाअनुसार अरु थुप्रै दायित्व निर्वाह गर्नुपर्नेछ । त्यसमा सबैको सकारात्मक पहलकदमी रहनुपर्छ”, उनको भनाइ छ,“यो बीचमा थुप्रै चुनौती थिए, तर हामी सुबैको प्रयास र संयमले कानुनी राज्यको बहाली गरी संविधानमा पुगेको क्षतिलाई निर्वाचनमार्फत परिपूरण गरेका छौँ । विगतको निर्वाचनभन्दा गुणस्तरीय निर्वाचन गरेर सहज रूपमा सत्ता हस्तान्तरणको बाटो बनेको छ ।यसलाई सम्हालेर अगाडि बढ्नुपर्छ ।”

  • कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    ५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

    चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

  • प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    काठमाडौँ, ५ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले हालै सम्पन्न निर्वाचनमा सफल सुृरक्षा व्यवस्थापन गरेको थियो ।

  • तीन फर्ममाथि जरिवाना

    तीन फर्ममाथि जरिवाना

    काठमाडौँ, ४ चैतः खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।

    विभागले स्थलगत अनुमगनको क्रममा कानुन विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर टे«ड एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति टे«ड सप्लायर्स बबरहललाई समान रु पाँच हजार जरिवाना गरेको छ ।

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ । विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुमगन गरिरहेको छ ।

  • बैंकिङ कसुरमा प्रभु बैंकका उच्च अधिकारी पक्राउ

    बैंकिङ कसुरमा प्रभु बैंकका उच्च अधिकारी पक्राउ

    काठमाडौँ, ४ चैतः नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो ।

    सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ । आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

  • आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    दाङ, ३ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश राउतले भने, “हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका छौँ । अब हामी सबै बदलिएर एउटा अठोटका साथ अपेक्षाकृत काम गर्न लाग्नुपर्ने छ ।”

    उनले जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलाश कक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरे । त्यस अवसरमा प्रधानन्यायाशीध राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए ।

    उनले नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले अदालतको भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय परिसरको गाडी ग्यारेजमा अस्थायी इजलाश निर्माणगरी न्यायसम्पान भइरहेको जानकारी दिए ।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायत वक्ताहरूले विषम परिस्थितिमा अदालतले न्यायसम्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।

  • दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    गण्डकी, ३ चैतः जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०५८ वैशाख २० मा पुनःनेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । उनकाअनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

  • क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    काठमाडौँ, २ चैतः प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले भने, “काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित रहेको लेमन ट्री होटलभित्र रहेको ग्राउन्ड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४ सोल्टीमोडस्थित रहेको क्यासिनो महजोङबाट एक जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरिएको हो ।”

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।

  • ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

    ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

    काठमाडौँ, ३ चैतः अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।

    नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ । पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।

    ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ । विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ । सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ । सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४ दशमलव दुई किलोग्राम तौलका छ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ ।

  • लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट ‘’ मा मङ्गलबार सुनुवाइ हुने
    काठमाडौँ, ३ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    काठमाडौँ, २ चैतः बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।

    साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

    ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीका साथ लागि परेको उनले बताए । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

  • पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

    पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

    मलेखु (धादिङ), २ चैत । पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ । विशेषगरी क्षमताभन्दा बढी र असुरक्षित तवरले सामान ढुवानी गर्ने अर्थात् ‘ओभर लोड’ बोकेका सवारीसाधनका कारण जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमनमा कडाइ गरेको हो । गजुरी क्षेत्रबाट मात्र दैनिक २० भन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् ।

    आज बिहान गजुरी गाउँपालिकास्थित घाटबेँसी नजिकै भएको सवारी जाँचमा नियमविपरीत ओभर लोड बोक्ने १५ भन्दा धेरै सवारी चालकलाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।
    थापाका अनुसार सवारीको अवस्था ठिक नभएका, नम्बर प्लेट छोपिने गरी सामान लोड गरेका र असुरक्षित रूपमा सामान बोकेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याइएको हो ।

    यातायात व्यवस्था ऐनअनुसार तोकिएको भन्दा बढी भार बोक्न वा सवारीको ‘बडी’भन्दा बाहिर सामान निकाल्न पाइँदैन । यस्तो कसुर गर्ने सवारीलाई ट्राफिक प्रहरीले घटनास्थलमै जरिवाना गर्न सक्ने प्रावधान छ । पटकपटक गल्ती दोहोर्याएमा चालकको अनुमतिपत्र नै निलम्बनसम्मको गर्न सकिने व्यवस्था छ ।

  • जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    काठमाडौँ, १ चैतः जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन् ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

  • राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उहाँको नाम सिफारिस भएको हो ।

    स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।

  • साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    काठमाडौँ, १ चैत । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साहले आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध उम्मेदवारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशसँगै अब निर्वाचन आयोगको निर्णय सदर भएको छ। यससँगै मातृका यादव सांसद बनेका छन् ।

  • लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    काठमाडौँ, १ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आजका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    काठमाडौँ, २८ फागुनः देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

  • डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    काठमाडौँ, २६ फागुनः सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताइन् । “कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन डराएर धम्काएर हुन सक्दैन”, उनले भनिन्, “सुशासन वास्तवमा न्यायालयको आत्मा हो, संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय हो, संविधानले सरकारको सीमाहरूको पनि निर्धारण गर्छ, सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ ।”

    वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गर्दै थपिन्, “कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।” उनले महिला अघि बढे मात्रै राष्ट्र अघि बढ्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा खाडल अझै भएको र अझै पनि महिलाले अन्यायको फरक महसुुस भएको हुनाले महिला दिवस मनाउनपर्ने आवश्यकता भएको बताइन् ।
    वरिष्ठतम् न्यायाधीश मल्लले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता जरुरी भएको विगतको तुलनामा समाज बदलिएको उल्लेख गर्दै महिलाहरूले अझै धेरै गर्नसक्ने धारणा राखिन् । सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले अहिले पनि पाइला–पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणामुखी तरिकाले काम गर्नुपर्र्र्नेमा जोड दिइन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशीताको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । नेपाल बार एसोसिएनका उपाध्यक्ष सरस्वती श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता अझै धेरै आवश्यता भएको र महिलाले गर्न सक्छन भन्ने धेरै पुष्टि हुँदै आएको धारणा राखिन् ।

  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी सङ्गठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।


    प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव, पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका अभिव्यक्तिलगायत कारणका बाबजुद पनि निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ प्रदर्शन गरेकाले यसको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।

    प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै उनले आआफ्नो जिम्मेवारी अनुसार योजनाबद्ध रूपमा कार्यसम्पादन गरेकामा सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गरे । आगामी दिनमा सबैको सहकार्य र समन्वयबाट सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।


    प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा पनि भएको बताउँदै यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता, दृढ अनुशासन आवश्यक रहेको उल्लेख गरे । आगामी दिनमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति सदैव केन्द्रीत भई सामूहिक भावना तथा भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनको भनाइ छ ।

  • काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन् । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मङ्गल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन् ।

    काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मङ्गोल नेशनल अर्गनाइजेशनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।

  • जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

    जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताएकी छिन् । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् । साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गरेको मेहनतको सराहना गरिन् ।

  • प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिए ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए । उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’

    आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए । अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताए ।

  • धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    काठमाडौँ, २४ फागुनः निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

    सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले बताए ।

  • निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    काठमाडौँ, २० फागुन । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।

    बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो ।

    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।

  • निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

    निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

    काठमाडौँ, २० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्र्दभमा समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा नेपाल सरकारका प्रवक्ता अर्यालले यस पटकको निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरे ।

    गृहमन्त्री अर्यालले भने, “सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।” उनले निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गर्ने र दोषीलाई अदालतमा पेस गरिने स्पष्ट गरे । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनाले सुरक्षा सहायता प्रदान गर्ने योजनाबारे समेत जानकारी दिए ।


    गृहमन्त्री अर्यालले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै भने, “निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।” मतपत्र व्यवस्थापन प्रक्रिया विगतमा झै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप हुने स्पष्ट पार्दै उनले मतदान समाप्त भएपछि मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने व्यवस्था पनि सुरक्षित रूपमा योजनाअनुरुप नै हुने बताए ।

  • इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

    इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

    काठमाडौँ, २० फागुनः निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ ।यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो । विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए ।

    आफूहरुले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट ३९ राष्ट्रिय संस्था र चार अन्तरराष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिइएको छ ।

  • सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

    सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

    गोलबजार (सिरहा) २० फागुन । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो ।

    जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

  • गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

    काठमाडौँ, १९ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो ।

    सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिससभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । उनले भने, “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दछु ।”

    गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै आफू पनि सुरक्षित रहेर मतदानस्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए ।


    मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गरेका छन् । निर्वाचनस्थलको अनुगमनपछि गृहमन्त्री अर्यालले शान्तिपूर्वक मतदान हुने र धेरैभन्दा धेरै जनता मतदानमा सहभागी हुने विश्वास व्यक्त गरे ।


    मन्त्री अर्यालले मतदानस्थलको मतपेटिका सुरक्षा प्रवन्ध, मतपेटिका, ढुवानीसम्मको समग्र अवस्थाको अनुगमन गरी जानकारी लिए । उनले मतदान स्थलमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुराकानी गरेका थिए । यसअघि आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए ।


    त्यस्तै फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

    गृह मन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।