Category: कानुनी कुरा

  • प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

    प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

    काठमाडौँ, १९ फागुनः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

    मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवदेन दायर गरेका थिए । त्यस्तै, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन परेको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले थुनामा राख्नुको कारण पेस गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गरेको हो ।

  • रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् ।

    लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

  • गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    रासस
    गण्डकी, १९ फागुनः आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए । “शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने, “निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ ।” सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।


    मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेले बताए । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

    जिल्ला कमाण्ड पोष्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उनले बताए । “गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ”, संयोजक घिमिरे भने, “सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ ।”

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिए । एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उनले बताए । “मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्वतयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातवारणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ”, प्रवउ कार्कीले भने । उनले निर्वाचनका बेला शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको बताए । सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशङ्का गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उनको भनाइ छ ।

    नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् ।

    एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ । अठार निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् ।

  • सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ, १८ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी छिन् । प्रधानमन्त्रीले भनेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।”

    यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भनेकी छिन्, “निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।” प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छिन् ।


    “इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु,” प्रधानमन्त्री कार्कीले भनिन्, “मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।”

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेकी छिन्, “त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो ।” प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै भनेकी छिन्, “तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनु हुँदैन ।”

    मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढङ्गले, एक–अर्कालाई सम्मान गर्दै उहाँले निर्वाचन प्रचार–प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गरेकी छिन् । “यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “तपाईंहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ ।”

    प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिका अवसरमा रङहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताएकी छिन् । “आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,” प्रधानमन्त्रीले कार्कीले भनेकी छिन्, “यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन् । “प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्, नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन्,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “राष्ट्रपतिले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।”

    छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकामा मित्रराष्ट्रहरू तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिन दिएकी छिन् ।
    साथै, उनले संयुक्त राष्ट्र सङ्घीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी व्यक्त गरेकी छिन् ।

    “सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँदछु,” प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा भनेकी छिन्, “साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु ।”

    प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेख गर्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताएकी छिन् । “यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,” उनले भने, “तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ ।”

    प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको सङ्कट गहिरिएको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गर्र्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय बताइन् । उनले भनेकी छिन्, “त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरूको साथमा छौँ, नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।”

  • मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    रासस
    काठमाडौँ, १६ फागुनः आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ ।

    निर्वाचन प्रचारप्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ–आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

    मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ ।

    भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

    सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

  • आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

    आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

    काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज यही फागुन १९ गते उक्त विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँलगायतलाई विपक्षी बनाई बिहीबार दायर गरेको रिट निवेदनमा निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको थियोे ।

    रिट निवेदनमा भनिएको छ, “पत्रकार आचारसिंता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत नागरिकको संविधानप्रदत्त धारा २७ गोपनियताको हकलाई निस्तेज गर्ने, भ्रम पैदा गर्नेजस्ता समाचार सामग्रीहरू सम्प्रेषण नगर्नु नगराउनु भनी परमादेश जारी गरीपाउँ ।” रिट निवेदनमा निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने कुनै पनि किसिमको समाचार सामग्रीहरू सम्प्रेषण नगर्नु भनी विपक्षीमध्येका सेतोपाटी अनलाइनका नाममा प्रतिषेधको आदेश माग गरिएको छ ।

    “संविधानप्रदत्त मौलिक हकको उपभोगमा अनुचित प्रभाव पर्ने, निर्वाचनसम्बन्धी गलत सन्देश नागरिकमा जाने, नागरिकसँग गरिएका कुराकानीले निजहरूको जिउधनमा असुरक्षा पैदा भई अपुरणीय क्षति पुग्ने हुन्छ”, रिट निवेदनमा भनिएको छ, “जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भएकाले निर्वाचन आउन केही दिन बाँकी रहँदा निर्वाचन परिणाम झल्कने ‘विश्लेषण’, ‘सर्वेक्षण’लगायत विभिन्न नाममा समाचार सामग्रीहरू सम्प्रेषण गर्ने, छाप्ने, फैलाउनेजस्ता कार्य नगर्नु प्रकाशित गरेका सामग्रीहरू हटाउनु”, उक्त रिट निवेदनमा अर्को सुनुवाइ यहीँ फागुन १९ गते हुनेछ ।

  • निर्वाचन ६ दिन : देशभरी मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन : देशभरी मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

    काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो ।

    सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

    जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् ।

    यस्तै, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ ।

    यस्तै, मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ । यस्तै, घर बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ ।

    यी कागजात देखाएर मतदान गर्न पाइन्छ

    प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय–परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।

    मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।

  • विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    काठमाडौँ, १३ फागुनः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए ।

    उनले भने, “सिचुआन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट चाइना जान लागेकी निज यात्रु स्वीडिस नागरिकले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्राहरू लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो ।”

    प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ । पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए ।

  • गृह मन्त्रालयमा दैनिक निर्वाचनसम्बन्धी सुरक्षा समीक्षा

    गृह मन्त्रालयमा दैनिक निर्वाचनसम्बन्धी सुरक्षा समीक्षा

    काठमाडौँ, १३ फागुनः गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते)लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइरहेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचानलका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रीको अध्यक्षमा रहेको केन्द्रीय सुरक्षा समिति, प्रदेश प्रमुख सचिवको अध्यक्षतामा रहने प्रदेश सुरक्षा कमाण्ड पोष्ट, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिमा चारवटै सुरक्षा निकायका प्रमुख रहनेगरी बनेको संयन्त्रले प्रत्येक दिन स्थानीयदेखि केन्द्रसम्मको वस्तुस्थिति, सूचना, निर्वाचनसम्बन्धी गतिविधिलाई सुक्ष्म विश्लेषणसहित नियमन गरिरहेको छ ।

    सुरक्षालाई चुस्त राख्न हरेक दिन गृहमन्त्री र सुरक्षाको टिम निरन्तर सक्रिय रहेको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि निर्वाचनको अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।

    यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा मन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

  • ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

    ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

    काठमाडौँ, १३ फागुनः पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् । हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।


    अभियुक्तहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ ।

  • निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

    निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

    काठमाडौँ, १३ फागुनः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ ।

    निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ ।

    आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।

  • प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    काठमाडौँ, १३ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

    हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    काठमाडौँ, १३ फागुनः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको हो ।

    नेपाल प्रहरीले निर्वाचन बिथोल्न प्रयास गर्ने आशङ्का कट्टेललाई यही फागुन ६ गते पक्राउ गरेको थियो । यसैगरी सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्ने आदेश भएको छ । मेडिकल व्यवसायी प्रसाईंले निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले यही फागुन ४ गते पक्राउ गरेको थियो ।

  • निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । आज रासससँग कुराकानी गर्दै उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।”

    सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताए । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश तथा जिल्लास्तरमा रहेर काम भइरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर काम गरिरहेको जानकारी दिए । एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडपलगायत घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उनको भनाइ थियो ।

    ती घटना नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेको उनको भनाइ थियो । मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौती नरहेको पनि स्पष्ट गरे ।

    उनले भने, “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकार भएकाहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा जानकारी गराउन अनुरोध गरेका छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिलेसम्म आएका छैनन् । अब त्यस खालको असुुरक्षाको भय छैन ।”

    एक अर्को प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट गरे । वर्तमान सरकार विशेषतः चुनावी सरकार रहेकाले सोहीबमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले संविधानले नै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पन्छिने कुरै नआउने बताए ।


    “यो निर्वाचन एक प्रकारले हाम्रो निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन”, मन्त्री अर्यालले भने, “सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका लागि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नु हुँदैन ।”

    उनले निर्वाचन सार्ने भाष्य बनाउने र त्यस खालको परिस्थिति निर्माण गर्न खोज्ने प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने र जनताको साथ तथा सहयोगका साथ अघि बढ्ने पनि बताए । मन्त्री अर्यालले भने, “यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बहाली गर्ने प्रयोजनले आएको हो ।

    यो सरकार राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको हो । राष्ट्रपतिज्यूले फागुन २१ गते नै निर्वाचनको मिति तोक्नाका कारण पनि संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधानअनुसार चल्ने शपथ खाएका छौँ । सोही अनुसार हामीले निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।”

    उनले सरकार विधिको शासन र सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको बताए । मन्त्री अर्यालले सरकारले कुनै शासक नभएर सहजकर्ताका रूपमा राज्यस्तरमा समन्वयात्मक काम गरिरहेको बताए ।

    सरकार बनेको भोलिपल्टदेखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिकलगायत कामबाट निर्वाचन प्रक्रिया सुरु गरेको स्मरण गर्दै उनले अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्ने अवस्था रहेको उल्लेख गरे । “जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै विशिष्ट परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रजातान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सबैले आ–आफ्ना स्थान र कामबाट सहयोग गर्नुपर्छ ।”

    मन्त्री अर्यालले भदौ अन्तिम साताको जेनजी आन्दोलनको त्यो परिस्थतिबाट सबै राजनीतिक दल तथा सरोकार भएकाहरूको सहमतिमा निर्धक्कसँग मतदान गर्नसक्ने आजको अवस्था निर्माण गर्न र त्यस्तो असहज अवस्थामा पनि राजनीतिक सहमतिका माध्यमबाट सबैलाई निर्वाचनमा जान तयार पार्न यो सरकारले निकै मेहनत गरेको बताए । उनले निर्वाचन सफल बनाउने कामलाई सरकारले अर्जुनदृष्टि दिँदै आएको भन्दै यस्तो असहज परिस्थितिमा पनि समयमै हुन गइरहेको निर्वाचनलाई विश्वले नै हेरिररहेको बताए ।

    मन्त्री अर्यालले भने, “यो निर्वाचनले सही पात्र छनोट गर्ने र प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले शान्तिपूर्ण र अहिंसात्मक रूपमा सहभागी भई निर्धक्क भएर मतदान गर्न सबै देशवासीसँग हाम्रो आग्रह छ ।” आज भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा मन्त्री अर्यालले राससको समाचार उत्पादन तथा वितरण प्रणालीको अवलोकन गरी जानकारी लिएका थिए ।

  • गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन

    गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन

    काठमाडौँ, ९ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । आज काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरे । उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको बताए ।


    सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे । निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) रमेश थापालगायत उच्च पदाधिकारी सहभागी थिए ।


    मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका थिए । साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिएका थिए ।
    यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगमन गरेका थिए ।

    सो क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो । मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो ।

    काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका थ्रिए । दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुका साथै सुरक्षा व्यवस्थापन र परिचालनसम्बन्धी आवश्यक निर्देशन दिए ।

  • बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा चोरी भए

    बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा चोरी भए

    चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताए । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ ।

    थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । ती ग्रिडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताए । उनका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो ।

    दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

  • काठमाडौं विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

    काठमाडौं विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

    काठमाडौँ, ९ फागुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए ।

    चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जना पक्राउ

    प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

    एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

    तुलसीपुर (दाङ), ८ फागुन । यहाँस्थित तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झण्डा जलाएको आरोपमा आज तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो । प्रहरीले झण्डा जलाउने तीन जनाको पहिचान भएको जनाएको छ । तीमध्ये दुई जना फरार छन् ।

    उनीहरूको खोजी भइरहेको प्रनाउ बोहराले बताए । घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको भन्दै एमालेले कारबाहीको माग गरेको छ । एमालेले आज अपराह्न ४ बजेतिर घोराहीमा प्रदर्शन गरेको छ ।

  • लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    काठमाडौँ, ८ फागुनः देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

    अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

  • निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

    निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

    काठमाडौँ, ७ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

    बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल भएको थियो ।

    बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातवटै प्रदेशका प्रमुख सचिव तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीति कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

  • काठमाडौंको सडकमा कारबाट झरेर पैदल यात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

    काठमाडौंको सडकमा कारबाट झरेर पैदल यात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

    काठमाडौँ, ५ फागुनः काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताए ।


    अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।

    नारायणगोपाल चोकस्थित सडकखण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिकस्थलमा पैदलयात्रीलाई हातपात तथा दुव्र्यव्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो । उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

  • मुस्ताङमा महिलाको हत्या श्रीमानले गरेको पुष्टी

    मुस्ताङमा महिलाको हत्या श्रीमानले गरेको पुष्टी

    मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घर भई मुस्ताङको घरपझोङ—२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो ।

    सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतिको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।

  • विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

    विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

    काठमाडौँ, ५ फागुनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


    उनले भने, “पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइएको प्रवक्ता कार्कीले बताए ।

  • कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने

    कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने

    रासस
    गण्डकी, ४ फागुनः कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा तत्काललाई ‘होल्ड’ गर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
    महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    “मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो”, स्रेस्तेदार खनालले भने । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

  • मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

    मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

    मलङ्गवा (सर्लाही), ३ फागुनः सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए । मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

  • वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

    वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

    वीरगञ्ज (पर्सा), १ फागुन: गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

    उनका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगर–१० घडीअर्वाका प्रमोदकुमार कानु, सोही ठाउँका कुञ्जन सर्राफ, वीरगञ्ज–१ छपकैयाका दिपराजसहनी मलाह, विन्दवासिनी गाउँपालिका–५ का श्रीचन्द्रप्रसाद साह र भारत विहार राज्य घर भएका प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन् ।

    संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब रु १२ लाख ५० हजार मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ ।

  • विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

    विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

    काठमाडौँ, १ फागुन । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।


    यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्वस्वीकृति लिने कार्य नगरेको पनि उनले बताए । उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूहसमेतको घुसपैठ हुनसक्ने सम्भावना रहेको पनि बताए ।


    काठमाडौँ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न, अन्तरराष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासका क्षेत्रसमेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवं सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक सङ्कुचन हुनेगरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेला हुनेजस्ता कार्य नगर्नरनगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउनेजस्ता गतिविधि नगर्नरनगराउन जानकारी गराइएको छ ।”

    निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानुनविपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जानकारी गराएको छ ।

  • इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    काठमाडौँ, १ फागुन, स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले राससलाई बताए । अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।

    इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवं अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको बताउँदै उनले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ भने ।

    मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी कार्यक्षेत्रमा जुटेको प्रवक्ता काफ्लेले बताए । फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी)को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।

  • निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

    निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

    काठमाडौँ, २९ माघः निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष\सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो ।

    उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ । आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए । यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको जनाएको छ ।

  • करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    काठमाडौँ, २९ माघः राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

    ती सहकारीले प्राधिकरणमा दर्ता अभिलेखीकरण नगरी कारोबार गरेमा त्यसलाई गैरकानुनी मानिने तथा उनीहरूको वासलात परीक्षण, नवीकरण प्रक्रिया रोकिने भएकाले प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिनसमेत निर्देशन दिइएको छ ।

    प्राधिकरणका निर्देशक केशव भट्टराईका अनुसार सहकारी ऐन २०७४ को दफा ८१ अनुसार बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आबद्ध भएर सूचना आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ । बचतकर्ताको निक्षेप सुरक्षणका लागि तथ्याङ्क व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदान–प्रदानको व्यवस्था गरिएको उनले जानकारी दिए ।


    सहकारी ऐनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित आदान–प्रदान गर्नुपर्ने उल्लेख छ ।