Category: कानुनी कुरा

  • सुवासले ११ वर्षको पर्खाइपछि पाए आमाको नामबाट नागरिकता

    सुवासले ११ वर्षको पर्खाइपछि पाए आमाको नामबाट नागरिकता

    म्याग्दी, २८ माघ । बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे । बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गर्न सकेका थिएनन् । १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास आज आएर सफल भएकोमा घिमिरेले खुसी व्यक्त गरे ।


    सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरेर आवेदन दिएका थिए । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।


    नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस भएको सुवासले प्रतिक्रिया दिए । शारीरिक रुपमा अपाङ्गतासमेत भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका थिए । रोजगारीको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा सुवासको दैनिकी असहज भएको थियो । सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बसेका छन् । सुवास कमलाका कान्छा छोरा हुन् । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाएका छन् । साइला छोराले भने अझै नागरिकता पाएका छैनन् ।

    नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो । थप केही सेवाग्राहीहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेस गरेका छन् । प्राप्त भएको आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताए ।

  • चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

    चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, २७ माघः प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छिन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।” निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

    जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उनले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।


    नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराउनुभएको थियोे । बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्नाका साथै समसामयिक विषयमा छलफल गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

  • भ्रष्टाचार नियन्त्रणमा नेपालले गर्न सकेन सुधार

    भ्रष्टाचार नियन्त्रणमा नेपालले गर्न सकेन सुधार

    काठमाडौँ, २७ माघः ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको सङ्केत सूचकाङ्कले दिएको छ ।विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल १०० मध्ये ३४ अङ्कसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ ।

    सूचकाङ्कअनुसार शून्य अङ्क अत्यधिक भ्रष्ट र १०० अङ्क अत्यन्त पारदर्शी मुलुकलाई जनाउँछ । टिआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकाङ्क निर्धारण गर्दा विश्व बैङ्क, विश्व आर्थिक मञ्च, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वल्र्ड जस्टिस प्रोजेक्ट, भी–डेमलगायतका अन्तरराष्ट्रिय संस्थाका तथ्याङ्कलाई आधार बनाइएको छ ।

    दक्षिण एसियाली मुलुकहरूमध्ये भूटानले सबैभन्दा बढी ७१ अङ्क प्राप्त गरेको छ भने भारतले ३९, माल्दिभ्सले ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८, बङ्गलादेशले २४ र अफगानिस्तानले १६ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क पाएको छ । भूटानबाहेक अधिकांश दक्षिण एसियाली देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा कायम रहेको टिआईको निष्कर्ष छ । राजनीतिक अस्थिरता, कमजोर सुशासन, सार्वजनिक पदको दुरुपयोग, दण्डहीनता र पारदर्शिताको अभाव सूचकाङ्क सुधार नहुनुको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ ।

    प्रतिवेदनमा जनआन्दोलन, युवा सक्रियता र नागरिक दबाब बढ्दै गए पनि त्यसले ठोस नीतिगत तथा संरचनागत सुधारमा रूपान्तरण हुन नसकेको उल्लेख छ । सार्वजनिक सेवा प्रवाह, ठेक्का–पट्टा, कर प्रणाली र न्यायिक प्रक्रियामा अझै पनि भ्रष्टाचारको जोखिम उच्च रहेको टिआई नेपालको निष्कर्ष छ । टिआई नेपालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, पारदर्शी प्रशासन र नागरिक सहभागिता सुदृढ गर्नुपर्नेमा जोड दिएको छ । टिआईले विश्वभर व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्याङ्कन गर्दै तयार पारेको सूचकाङ्कमा यस वर्ष १८२ देश समेटिएका छन् ।

    विश्वव्यापी औसत अङ्क गत वर्षको तुलनामा एक अङ्कले घटेर ४२ मा झरेको छ । सूचकाङ्कअनुसार १०० अङ्क अत्यन्त पारदर्शी र ० अङ्क अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ । एक दशकअघि सूचकाङ्कमा ८० भन्दा बढी अङ्क प्राप्त गर्ने देशको सङ्ख्या १२ रहेकामा सन् २०२५ मा घटेर पाँचमा सीमित भएको छ । टिआईका अनुसार सन् २०१२ यता ५० भन्दा बढी देशमा भ्रष्टाचार नियन्त्रणको अवस्था कमजोर बन्दै गएको देखिन्छ भने सुधार देखाउने देशको सङ्ख्या ३१ मात्रै रहेको छ । समग्रमा विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् ।

    सूचकाङ्कमा डेनमार्क लगातार आठौँ वर्ष पनि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा ८९ अङ्कसहित शीर्ष स्थानमा छ । दक्षिण सुडान र सोमालिया समान नौ अङ्कका साथ सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालको अङ्क गत वर्ष जस्तै यस वर्ष पनि ३४ मा स्थिर रहनु सरकारहरूद्वारा भ्रष्टाचारविरुद्ध ठोस काम हुन नसकेको सङ्केत भएको बताए । छवटा अन्तरराष्ट्रिय संस्थाबाट सन् २०२५ को अगस्तसम्मका सुशासनसम्बन्धी तथ्याङ्कलाई आधार मानेर नेपालको मूल्याङ्कन गरिएको हो ।

    अध्यक्ष शर्माका अनुसार नेपालमा भ्रष्टाचारकै कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नु परेको, सुशासन कमजोर बनेको र नागरिकमा असन्तोष बढेको अवस्था छ । “यही पृष्ठभूमिमा हालै देखिएका जेनजी तथा युवा आन्दोलनहरू भ्रष्टाचारविरुद्ध केन्द्रित थिए,” उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको दृढ प्रतिबद्धता, कानुनको पूर्ण कार्यान्वयन, अन्तरराष्ट्रिय प्रतिबद्धता पालना र नियमनकारी निकाय सुदृढीकरण अपरिहार्य छ ।”

    पूर्वअध्यक्ष पद्यिनी प्रधानाङ्गले आगामी निर्वाचनमार्फत भ्रष्टाचारमा संलग्न नहुने, इमानदार र प्रतिबद्ध नेतृत्व चयन गर्नु आजको आवश्यकता रहेकामा जोड दिइन् । टिआई नेपालका महासचिव सागरराज शर्माले नेपाल भ्रष्टाचार निरवारणको क्षेत्रमा सफल हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा भ्रष्टाचार निवारणका लागि सबै क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा जोड दिए ।

  • वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

    वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

    वीरगन्ज (पर्सा), २७ माघ । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।

    पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए । “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ”, उनले भने, “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।”

    संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब रु १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    काठमाडौँ, २७ माघः बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ ।

    सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ ।

    विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो ।

  • प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

    प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

    काठमाडौँ, २७ माघ । प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो ।

    दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो ।

    यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी र विषय विज्ञबीच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गरिएको थियो ।

    यसैगरी, विद्यमान सङ्गठन सञ्चालनको अवस्था र सुधारका उपाय समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपाय पहिचान गर्नु एवं नेपाल प्रहरीप्रतिको दृष्टिकोण र जनअपेक्षाका सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रमा सुधारका उपाय पहिचान गरिएको थियो । सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे ।


    उनले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखापरेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताए । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझाव आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवं वृत्तिविकासमा मार्गदर्शक हुने बताए ।

    सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरीप्रतिको विश्वासमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । यसैबीच सोमबार प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चारमाध्यम लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिकबीचको सन्देश वाहकका रूपमा स्थापित संस्था भएको बताए । उनले कुनै पनि घटनाक्रमबारे सर्वसाधारणको पहिलो धारणा सञ्चारमाध्यममार्फत निर्माण हुनेहुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्यतथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु जरूरी रहेको बताए ।

    उनले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआईको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटो सामग्रीले बढावा पाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।


    प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम र प्रहरीले आपसी सम्मान, निष्पक्षता, व्यावसायिकता, संस्थागत मर्यादा र आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सञ्चारमाध्यमसँग भएको अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्तिसुरक्षा र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे ।

  • अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

    अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

    काठमाडौँ, २६ माघः उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा एक महिना कैद र रु पाँचहजार जरिवाना हुने आदेश गरेको छ । कामु मुख्य न्यायाधीश टेकनारायण कँवर र न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अर्याललाई जरिवाना गर्न आदेश गरेको हो ।

    “अदालतको आदेशलाई अनदेखा गरी अवहेलना गरेको देखियो, निज कार्यालय प्रमुखले अदालतको आदेशको परिपालना नगरेको यस अदालतमा पर्न आएका यस्तै प्रकृतिका अन्य निवेदनहरूमा समेत यसपूर्व अवहेलनामा कारबाही हुने ठहर्याई फैसला भएको छ”, आदेशमा भनिएको छ, “प्रस्तुत निवेदकको हकमा विपक्षीलाई न्याय प्रशासन ऐन, २०६३ को दफा १७ उपदफा ९४० एक महिना कैद र रु पाँच हजार जरिवाना हुने ठहर्छ ।”

    मालपोत प्रमुखविरूद्ध धनुषा निवासी राम रती देवीले व्यक्तिको जग्गा दर्ताका लागि निवेदन दिएको छ वर्षसम्म कुनै निर्णय नदिएपछि अदालतमा जग्गा दर्ता गराउन परमादेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतले रिट निवेदनमाथि सुनुवाइ गर्दै एक महिनाभित्र दर्ता गर्न परमादेश जारी गरेको थियो । करिब डेढ वर्षसम्म पनि अदालतको आदेशको अवज्ञा गरेपछि पीडितहरूले फेरि अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । सोही मुद्दामा मालपोत कार्यालय प्रमुख अर्याललाई कैद तथा जरिवाना हुने ठहर गरिएको हो ।

    यस्तै, अर्को निवेदक भएको मुद्दामा अदालतले उक्त मालपोत कार्यालयका प्रमुखलाई रु ५०० जरिवाना गरेको थियो । कार्यालय प्रमुखले उचित कारणसहित पूर्व आदेश कार्यान्वयन गरेर अदालतलाई चित्तबुझ्दो हुने गरी निवेदन दिएमा सजाय माफी गर्न सकिनेसमेत आदेशमा उल्लेख छ । फौजदारी न्याय प्रणालीमा पटकपटक गल्ती दोहो¥याउँदै गएमा सजाय बढ्दै जाने कानुनी व्यवस्था छ ।

  • कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

    कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

    मुस्ताङ, २६ माघः माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

    लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

    यसअघि गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालबाहक कन्टेनर खानतलासी गर्दा रु दुई करोड २४ लाख बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । सो अवैध सामान मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।

    यसैगरी २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको रु ६ करोड ८१ लाखको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । हिउँदयाममा कोरला नाकाबाट अवैध रूपमा चारी÷शिकारी र अवैध क्रियाकलाप हुनसक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् ।

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

    काठमाडौँ, २५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

  • निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

    रासस
    काठमाडौँ, २४ माघः सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए ।

    उनले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिए । उनले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ ।

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए । उनले गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको बताए ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेर प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिनुभएको पनि प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोध गर्दै मित्थ्या र भ्रमपूर्ण र कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

  • आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

    आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

    काठमाडौँ, २४ माघः केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय भएको छ ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।


    निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पु¥याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाइने भएको छ ।


    निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री एवम दुरूपयोगलाई नियन्त्रण गर्ने विषयमा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

  • समाचारका विषयमा अनुगमन भइरहेको छ : निर्वाचन आयोग

    समाचारका विषयमा अनुगमन भइरहेको छ : निर्वाचन आयोग

    भक्तपुर, २३ माघः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । उनले जनक शिक्षा सामग्री केन्द्र लिमिडेड सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यम एकतर्फी र एकपक्षीय ढङ्गले अर्को उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न र निष्पक्ष सामग्री बनाइदिन आग्रह गरे ।


    देशभर निर्वाचनमय वातावरण बनिरहेको अवस्थामा निर्वाचनको अन्तिम अन्तिम चरणमा आइरहँदा समाचारलाई भन्दा आफ्ना विचारलाई सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगर्न उनले आग्रह गरे । उनले भने, “सञ्चार माध्यममा तपाईंहरुले विचारलाई सम्प्रेषण गर्दा सबैको आ–आफ्नो मौलिकता र विचार छ, तर त्यो विचार व्यक्त गर्दा कुनै दल वा व्यक्ति वा कुनै उम्मेदवारको पक्ष र विपक्षमा गर्न पाइदैन, त्यसैले समाचार सत्यतथ्यमा आधारित रहेर मात्रै सम्प्रेषण गरिदिन आग्रह गर्दछु ।”

    आचारसंहिता उल्लङ्घनमा परेका उजुरीमाथि छानबिन र कारबाही अगाडि बढाएको भन्दै उहाँले अचारसंहिता लागू भए वा भएन, त्यसको परिपालन भयो भएन, त्यसको पनि विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको बताए । आयोगले आचारसंहिता उलङ्घनको अनुगमन पनि गरिरहेको उल्लेख गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको बताए ।

  • वीरगञ्जमा आपसी झगडामा एक जनाको मृत्यु

    वीरगञ्जमा आपसी झगडामा एक जनाको मृत्यु

    वीरगञ्ज (पर्सा),२३ माघ । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो ।

    पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए । बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

  • सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ, २३ माघ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाइअलर्ट’मा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिए । बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गनिर्देश तय गरेको छ ।

    गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

    बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

    यस्तै, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नेलगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

  • झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

    झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

    बिर्तामोड, २३ माघ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

    आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

  • प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

    प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

    काठमाडौँ, २२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।

    आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।

    तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।

    राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए ।

  • प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

    प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

    काठमाडौँ, २२ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरू भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई तालिम दिइएको हो ।

    पहिलो चरणअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्यूरोहरू र नेपाल प्रहरी असपताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा चार हजार १४८ जनालाई चरणबद्ध रूपमा १० दिनसम्म उक्त तालिम दिइने केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    यसैगरी, सबै जिल्ला प्रहरी कार्यालयमा गठित निर्वाचन ‘सेल’मार्फत चरणबद्ध रूपमा निर्वाचनको सुरक्षार्थ खटिने प्रहरीलाई निर्वाचन लक्षित तालिम सञ्चालन गरिने छ ।

    तालिममा निर्वाचन सुरक्षा, परिचय, निर्वाचनमा प्रहरीको भुमिका, सुरक्षा व्यवस्थापन, निर्वाचन सुरक्षा र प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनुपर्ने भूमिका वा अवस्थाहरू, निर्वाचन कार्यमा सुरक्षा पु¥याउनुपर्ने क्षेत्रहरू, निर्वाचनमा आई पर्नसक्ने समस्याहरू, विभिन्न व्यक्तिहरूले प्रहरीबाट पाउने सेवाको अपेक्षा तथा निर्वाचनमा प्रहरीको दायित्व, मतदानकेन्द्रको निर्माण, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७, प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ मा भएका निर्वाचनसम्बन्धी ९अपराध एवं दण्ड सजायसम्बन्धी व्यवस्था०लगायतका विषयवस्तुहरूमा प्रशिक्षण दिइने छ ।

  • गोली प्रहार गरेर अभियुक्त समातियो, पैँसट्ठी तोला सुन बरामद

    गोली प्रहार गरेर अभियुक्त समातियो, पैँसट्ठी तोला सुन बरामद

    काठमाडौँ, २२ माघः काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो ।

    निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए । उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।

  • प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

    प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन


    काठमाडौँ, २० माघः गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    सो छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानी व्यवस्थालगायतका बारेमा केन्द्रित रहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, चाडपर्वको समयमा उच्च सुरक्षा सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

    छलफलमा मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं गृहमन्त्रालयका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

  • निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

    निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

    काठमाडौँ, २० माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् ।

    निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।

    एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।

    नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको थियो । निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले राससलाई जानकारी दिनुभयो ।

    सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो । एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुन लागेको हो । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

    मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ । आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।

    दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ ।

    सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ । निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

  • सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ


    चितवन, १९ माघः जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज यहाँको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

    महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । चौबिसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न खोज्दा प्रहरी र सभामा सहभागी हुन आएकाबीच केही समय चर्काचर्की परेको थियो ।

    महाअभियानलाई स्थानीय प्रशासनले हाकिमचोकको केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गर्ने स्थान तय गरेको भए पनि अभियानका सदस्यहरु बल प्रयोग गरेर चौबिसकोठीमा कार्यक्रम गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।

  • मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

    मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

    झापा, १९ माघः जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गर्नुभएको हो ।

    केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग के कुन दल, उम्मेद्वार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ, भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँले बताउनुभयो । त्यसरी मतदाताको गोपनीयता भङ्ग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • युएईले दियो दुई सय ७६ नेपालीलाई आममाफी

    युएईले दियो दुई सय ७६ नेपालीलाई आममाफी


    काठमाडौँ, १८ माघः नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

    नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ । उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

    माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

  • नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ, १८ माघः नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन् । कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट नक्कली भएको पुष्टि भएकाले उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

  • जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    काठमाडौँ, १५ माघः पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो ।

    त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।

    प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ ।

    उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो । सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।

    तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।

    लुटपाटका लागि उनीहरु तीन\तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।

    सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन\तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

    प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए ।

    आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताए । पेमा र सलोन भने दाजुभाइ रहेको उनले जानकारी दिए । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।

  • जब अस्पतालबाटै साटियो शव…

    जब अस्पतालबाटै साटियो शव…

    सिरहा, १३ माघः यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताए ।

    उनले भने, “इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सहभागी रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेका छौँ ।”

    गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो । सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो । परिवारले आइतबार नै शवको अन्त्येष्टि गरिसकेका छन् । सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुलेको हो ।

  • वैदेशिक रोजगारीमा ठगीको अभियोगमा चार जना पक्राउ

    वैदेशिक रोजगारीमा ठगीको अभियोगमा चार जना पक्राउ

    काठमाडौँ, १३ माघः प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् ।

  • ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गा, १३ माघः यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो । पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”

    गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    रासस
    भक्तपुर, ९ माघः भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त भएपछि यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ । बिहीबार राति १० बजेदेखि करिब रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

    सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा रािखएको जानकारी दिँदै उनले यहाँ भएका क्षतिको विवरण लिने कार्य भइरहेको जानकारी दिए । सुधार गृहको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि प्रहरी हिरासतबाट सुधार गृहमै पठाइने उनले बताए ।
    प्रहरीका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    घाइते आठ बालबिज्याइँकर्तामध्ये नेपाल कोरिया मैत्री नगर अस्पतालमा सात जनाको उपचार गरी ‘डिस्चार्ज’ भएको तथा एक जनाको उपचार भइरहेको उनले बताए । गएराति सुधार गृहमा बालबिज्याइँकर्ताले नै आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो ।


    सुधार गृृहमा १८ वर्षभन्दा माथिका ८४ युवा रहेका र २४ बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागान चलान गर्ने काननी व्यवस्था नहुँदा ३५ वर्ष सम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन् । सुधार गृहभित्र प्रहरी जान नपाउने, रासनको व्यवस्था गरिदिएपछि बालबिज्याइँकर्ता आफैँले पालो बनाएर खाना खाने गरेको, भित्रै पढ्ने व्यबस्था गरेको भए पनि उमेर छिप्पिकएका बालबिज्याइँकर्ता एकै ठाउँमा बस्दा यहाँ रहेका महिला बालबिज्याइँकर्ताको सुरक्षामा चुनौती थपिएको सुधार गृहका कर्मचारी बताउँछन् ।

    यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा तोडफोड, झडप र कुटपिट गर्ने एवं सुधार गृह तोडफोड गरी भागेको घटना पटक–पटक घटिरहेका छन् । सानोथिमि आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्ती बीचबाट हटाउनुपर्ने माग गरेका छन् । सुधार गृहमा पटक पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गा हानाहानले स्थानीयमा त्रास फैलिएको सुधार गृह भित्रबाट हानेका ढुङ्गा स्थानीयवासीको घरमा लागेर क्षति पुग्ने गरेको भन्दै सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन् ।

  • सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

    भादगाउँ, ९ माघः मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

    मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।