अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको हो ।

‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । चालु आवमा भने सरकारले १० अर्ब भन्दा बढी बजेट विनियोजना भएको थियो । चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड खर्च भइसकेको छ ।

मन्त्रिपरिषद बैठकले गत वैशाख ९ मा आयोजनामा आवश्यक बजेटको जोहो गर्ने निर्णय गरेको थियो । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको छ ।