काबुल । संयुक्त राज्य अमेरिकको सेना मंगलबारबाट पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाले यहाँ २० वर्ष युद्ध लडेसँगै फिर्ता भएको हो । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बीबीसीले लेखेको छ । उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीका अनुसार अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको छ ।
अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका छन् ।
उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको समेत बताएका छन् । अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए। साथै बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमने सामने भएका थिए।
अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्कन लागेपछि ती तालिबान दस्ता विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आइरहेका थिए। यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए। यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।