काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । यहाँ सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर आह्वान भएको छ । सरकारले १ मंसिरमा सुरुङ मार्ग निर्माण गर्न १० अर्ब १५ करोड रुपैयाँ प्रदान गरेको थियो । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । सोही अनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको छ । टेण्डर आह्वानपछि अब सुरुङ मार्ग निर्माण पक्का भएको हो ।
यसअघि स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको हो । जस अनुसार यहाँ १ किलोमिटर १२६ मिटर लामो सुरुङ रहने छ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने भएको छ । सुरुङमार्ग ५ वर्षभित्र बनिसक्ने छ । सिद्धबाबा अत्यधिक पहिरोग्रस्त क्षेत्र हो । यो सडक खण्डमार्फत गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी जान्छन् ।