काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् ।
निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन ।
अब विराटनगरको यात्रुले पोखरा पुग्न काठमाडौं आइरहनु पर्ने झण्झट हट्ने पक्का भएको छ । बुद्धले आगामी ३ फेब्रुअरीबाट पोखरादेखि विराटनगरसम्म उडानको तयारी गरेको हो ।
त्यसका लागि कम्पनीले बुधबार मिति नै सार्वजनिक गरेको छ । बुद्धले सातामा तीन उडान गर्ने गरी उडान मिति सार्वजनिक गरेको हो ।
बुद्धले यसअघि पोखराबाट भैरहवामा समेत उडान बिस्तार गरिसकेको छ । पोखराबाटै भरतपुरमा समेत उडान हुन्छ ।
यसले क्रमशः वायुसेवा कम्पनीहरु क्षेत्रिय उडानमा आकर्षित भएको देखाएको छ । पोखरा नेपालको मूख्य पर्यटकीय शहर हो ।
यहाँ नेपालभरबाट आन्तरिक पर्यटक घुमघामका ला िपुग्ने गर्छन् । सोहीकारण पनि क्षेत्रिय उडान नाफामा चल्ने सम्भावना रहेको छ ।
पोखरामा नेपालगन्ज र धनगढीबाट समेत ठूलो माग रहेको छ । यस रुटमा भने कम्पनीहरुले अझै उडान शुरु गरिसकेका छैनन् ।
सरकारले क्षेत्रिय उडान गर्ने कम्पनीहरुलाई प्रवद्र्धन गर्न प्याकेज ल्याउने तयारी समेत गरिरहेको छ । त्यसका लागि एक समिति नै बनाएर काम गरिरहेको मन्त्रालयको भनाई छ ।