अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बढेको भाडाको विस्तृत विवरण आउँदो आइतवार प्रकाशन गर्ने तयारी छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।