अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

काठमाडौ । अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको हो।

तर, महिनामा दुई पटक मात्र प्रयोग गरेको अवस्थामा भने निःशुल्क हुने भएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । कोरोना महामारी भन्दा अगाडी भने यस्तो शुल्क लाग्ने गरेको थियो ।

गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुबाट नै निशुल्क भएको थियो । त्यसपछि राष्ट्र बैंकले निर्देशन जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था ल्याएको थियो । आज भने शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ तोक्दै शूल्क लिन पाउने व्यवस्था गरिएको हो ।

उता, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे समेत अब ग्राहकलाई जानकारी गराएर मात्रै लिन पाइने व्यवस्था गरिएको छ ।