अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ र अप्रिलमा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका हुन् । यो महिनामा चीनबाट २८१ जना र बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएका छन् ।