अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक

File

काबुल । अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडाबाट अमेरिकी तथा नेटोका सैनिकहरु बाहिरिएका छन् । यहाँको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिक बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त सैन्य अखडा उग्रवादी विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र थियो। बीबीसीका अनुसार त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य बाहिरिने छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने यसअघि नै बताएका छन् । काबुलको उत्तरमा अवस्थित उक्त विशाल सैनिक अखडा खाली गरिँदा अफगानिस्तानको मुख्य उग्रवादी समूह तालिबानले भने देशका विभिन्न भागमा कब्जा जमाइरहेको दावि गरेको छ । ११ सेप्टेम्बर अमेरिकामा सन् २००१ मा भएको भएको आतंकवादी हमलाको वार्षिकी हो । यो घटनामा तीन हजार मानिसको ज्यान गएको थियो ।

यो हमला एक अन्तर्राष्ट्रिय आतंकवादी समूह अल कायदाले गराएको हो । त्यसबेला यो समूहको आधार अफगानिस्तान थियो। बीबीसीका अनुसार उनीहरूलाई देशमा सन् १९९० को दशकदेखि नै नियन्त्रण कायम गरेका तालिबानको समर्थन थियो। ती दुवै समूहलाई परास्त गर्न सोही वर्षको केहीपछि अमेरिकी नेतृत्वको गठबन्धन सैन्यले अफगानिस्तानमा आक्रमण गरेको थियो।

केही अघिसम्म २,५०० देखि ३,५०० सम्म अमेरिकी सैनिकहरू अफगानिस्तानमा अझै रहेका भन्ने ठानिएको थियो। अब त्यहाँ १,००० भन्दा कम अमेरिकी सैनिकहरू रहने भएका छन् । गत मे महिनासम्म अन्य गठबन्धनका ७,००० जति सैनिकहरू रहेका थिए।