अब नेपालीलाई चीन जान भिसा शुल्क नलाग्ने

काठमाडौं । अब नेपालीले चीन जानका लागिभिसा शुल्क तिर्नुनपर्ने भएको छ । चीन सरकारले आगामी मे १ तारिख (वैशाख १९ गते)देखि लागू हुने गरी नेपाली नागरिकलाई भिसा शुल्क नलिने घोषणा गरेको हो ।

चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्समार्फत नेपाल र चीन बीचको मित्रतालाई थप प्रबद्र्धन गर्न र आपसी आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरिएको जानकारी गराएका हुन् ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार नेपाली नागरिकलाई भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने तिर्नुपर्नेछ । यद्यपि, मे १ तारिख अघि आवेदन दिएकले भने भिसा शुल्क पनि तिर्नुपर्नेछ ।

नेपाली नागरिकले एक्सप्रेस वानबाट स्ट्याण्डर्ड भिसा लिन ४ हजार रुपैयाँ, एक्सप्रेस टुबाट स्ट्याण्डर्ड भिसा लिन २ हजार ७०० रुपैयाँ शुल्क लाग्ने दूतावासले जनाएको छ ।

त्यस्तै, ग्रुप भिसा लिन एक्सप्रेस वानबाट २ हजार र एक्सप्रेस टुबाट १ हजार ३५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

त्यसैगरी, एक्सप्रेस वानबाट भिसा लिँदा ७ हजार ८०० रुपैयाँ र एक्सप्रेस टुबाट ५ हजार ८५० रुपैयाँ सेवा शुल्क तिर्नुपर्नेछ । सामान्य तरिकाबाट भिसा लिँदा ३ हजार ९०० रुपैयाँ शुल्क लाग्ने दूतावासले जनाएको छ ।