अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

काठमाडौं । अब नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यहरुमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने भएको छ ।

नेपाल एयरलाइन्सले विभिन्न वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यात्रुले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् ।

सम्झौता अनुसार अब नेपाल एयरलाइन्सको टिकटबाट यूरोपका विभिन्न शहरदेखि अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत, बहराइनसम्म यात्रा गर्न सकिने छ ।

यो सम्झौतासँगै निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ । टिकटहरु निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ ।