काठमाडौं । अब काठमाडौं बाहिरबाट पनि सुन व्यवसायीले सुन पाउने भएका छन् । मोफसलबाट समेत सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको बताइएको छ ।
यससँगै अब सुन किन्न काठमाडौं नै धाउनु पर्ने सुनचाँदी व्यवसायीको बाध्यता समेत हट्ने भएको छ । छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरूले दुःख खेप्नुपरेको गुनासो गरेका थिए ।
बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहाललगायत सङ्घका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सङ्घ तयार रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषय मौद्रिक नीतिमा राखेको छ । छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरूपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको सङ्घका पदाधिकारीको प्रतिवद्धता थियो ।
राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स सङ्घको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरि महासङ्घको सिफारिसमा व्यवसायीहरूलाई सुन उपलब्ध गराउँदै आएका छन् ।
मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्र काठमाडौंमा भन्दा बढी लिने, मोफसलका जिल्लामा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक–फरक हुँदै आएको दरभाउमा एकरूपता ल्याउने, सुन खरिद गर्न बैंकहरूले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरि पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।