काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ ।
२८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो ।
विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ ।
त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने जनाएको छ । नेपालका शहरहरुमा नेपालीभन्दा बढी भारतीय माग्नेहरुको सडकमा बाहुल्य रहेको छ ।
मंगलबार सूचना निकालेको महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकबाट हट्न अल्टिमेटम दिएको छ । २९ मंसिरमा महानगरपालिकाले स्थापना दिवस मनाउँदै छ ।
सोही अवसर पारेर काठमाडौं महानगरपालिकाले काठमाडौंलाई माग्नेरहित क्षेत्र घोषणा गर्दैछ । माग्ने र माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही हुने महानगरपालिकाले जनाएको छ ।
मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने महानगरपालिकाले जनाएको छ ।
तीन दिन भित्र बाटोबाट माग्ने नहटे मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको व्यवस्थापन थालिने र उनीहरुलाई बालाजु २२ धारास्थित एक घरमा राखेर व्यवस्थापनको योजना छ ।
त्यसपछि वास्तविक पिडामा रहेर माग्ने वा पेशेवर माग्ने छुट्याएर सोहीअनुसार कारवाही अगाडी बढ्ने भएको छ ।
काठमाडौंमा कसैले पेशा वा व्यवसायका रुपमा माग्नेलाई सडकमा खटाउने गरेका पाइए उनीहरु दुबैमाथि कारवाही हुने भएको छ ।