अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’

File Photo : (AP Photo/Paul Sancya)

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो अभियान मास्क लगाउनेबारे गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कको विरोधी छन् । उनी यसलाई चिनियाँ कल्चरका रुपमा लिने गर्छन् ।

तर, कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क महत्वपूर्ण सावित भइरहेको छ । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने जानकारी बिहीबार दिएका हुन् ।


राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान चलाउने तयारी गरेका हुन् । अमेरिकी निर्वाचनमा समेत मास्क एक चुनावी अभियानको मसलाका रुपमा प्रयोग भएको थियो ।

धेरै राष्ट्रवादी अमेरिकी यो कल्चरलाई चिनियाँ भनी नमान्ने गरेका छन् । मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी नै लागेपछि अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण बढी फैलिएको तर्क गर्नेहरु समेत उत्तिकै छन् ।


अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आएका छन् ।


मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका छन् ।

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् । उनी आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्नेछन् । एजेन्सी