अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

Photo : CNN\GettyImages

कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुरधारीेले चलाएको गोली लागेर कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यका बोल्डर काउन्टीस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

यसक्रममा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको खबर छ । स्थानीय समयअनुसार घटना सोमबार दिउँसो साढे तीन बजे भएको हो । बन्दुकधारी ग्रोसरी स्टोरमा छिरेर गोली चलाएका थिए । द न्युयोर्क टाइम्सले लेखे अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनलाई घाइते अवस्थामा पक्राउ गरिएको हो ।

आक्रमणको कारण खुलेको छैन । यो घटनाबारे राष्ट्रपति जो बाइडेनले समेत ब्रिफिङ लिएका छन् । अमेरिकामा एक साता अगाडी समेत यस्तै घटनामा ७ जना मारिएका थिए । अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने व्यवस्था रहेको छ । तर, सनकको भरमा अन्धाधुन्ध आक्रमणका घटना बढेसँगै यहाँ सुरक्षा चूनौति पनि उत्तिकै रहेको छ ।