डेन्भर । अमेरिकाको डेन्भर र यस आसपासको क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण दुई हजारभन्दा बढी उडान रद्द भएको संचारमाध्यमले जनाएका छन् । शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरेको छ ।
हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी अधिकारीहरुले सर्वसाधारणलाई चेतावनी दिइसकेका छन् । उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न समेत आग्रह गरेका छन् ।