काठमाडौं । अमेरिका नेपालसँग बढी व्यापार हुने मुलुकको पहिलो ५ मुलुक भित्र पर्छ । सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ । त्यसपछि चीन आउँछ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिरसम्म)अमेरिकाबाट नेपालमा १८ अर्ब ८८ करोडको सामान आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालबाट अमेरिकामा भने ७ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
वस्तु बढी निर्यात हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा छ । नेपालले चालु आवको पहिलो ५ महिनामै एक खर्बको निर्यात गर्दा दोस्रो स्थानमा अमृरिका रहेको छ । पहिलो स्थानमा भने भारत रहेको छ । मंसिरसम्म नेपालले भारतबाट कुल ५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यसमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ १ खर्ब २२ अर्ब हाराहारीको आएको छ ।
तथ्यांक अनुसार भारतमा नेपालबाट ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब २२ अर्बको सामान नेपाल आएको छ । नेपालबाट भने ३८ करोड १६ लाख रुपैयाँ बराबरको सामान मात्र चीन गएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३।५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।