अमेरिकामा खोप अभियान सेनामार्फत

Photo : Getty Images

वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ ।

अमेरिका कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो । अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको थियो ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार यो प्रस्ताव स्वीकार भएको छ । सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलमा राखिने जानकारी दिएका छन् ।