न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारण मानिसमा लगाउने अभियान प्रारम्भ भएको छ । कोरोना भाइरसबाट संसारमा सबैभन्दा बढी प्रभावित यो मुलुकले यूरोपेली मुलुक बेलायतले खोप लगाउन थालेको एक सातापछि सर्वसाधारणलाई खोप वितरण थालेको हो । पहिलो चरणमा अमेरिकाले कोरोना भाइस विरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएका जनशक्तिलाई खोप लगाउन लागेको हो ।
सोही क्रममा न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको छ । बीबीसीका अनुसार नर्स आईसीयूमा कार्यरत रहेकी छिन् । अमेरिकाले फाइजर, बायोएनटेक खोप प्रयोगमा ल्याएको हो । फाइजर, बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार अनुमति दिइएको हो । सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ ।
अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड मानिसमा खोप पुर्याउने लक्ष्य लिएको बताइएको छ । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख मानिसको ज्यान गइसकेको छ ।