काठमाडौं\एजेन्सी । अमेरिकामा प्रहरीको गोलीले पुनः एक अश्वेत युवाको निधन भएको छ । यो घटनापछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । बीबीसीका अनुसार मिनियापलिस र सेन्ट पलका मेयरले सहरमा रातभर लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
बीबीसीका अनुसार २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले दावि गरेको छ । प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको छ । तर, राइटको निधनपछि त्यस क्षेत्रमा प्रदर्शन बढेका छन् ।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरले आपतकाल घोषणा गरेका हुन्। मिनसोटाका प्रहरी प्रमुख टीम गानन्ले भने उक्त घटना एउटा दुर्घटना मात्र भएको बताएका छन् । उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएका थिए । गत वर्ष मारिएका जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा समेत अमेरिकाको मिनियापलिसमा प्रदर्शन जारी छन् ।