मायामी । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार मध्यरातमा भत्किँदा कम्तिमा ९९ जना मानिस बेपत्ता भएका छन्। बीबीसीका अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै जना भग्नावशेषभित्र पुरिएको आंशका छ । हराएकामा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बताइएको छ । यो घटना मायामीमा भएको हो । त्यहाँका मेयरले सङ्घीय सरकारसँग सहयोग गर्न आह्वान गरेका छन् ।
भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको बताइएको छ । मायामी डेडकी मेयर डेनीयला लेभिन काभाका अनुसार हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। खोजीकार्य जारी रहँदा सानो आगलागी समेत भएको थियो । त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।
फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताएको बीबीसीले लेखेको छ । उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेका छन् । भवन भत्किए पछिको अवस्था देखेका एक व्यक्तिले सीएनएन समाचार संस्थासँग सन् २००१ मा न्यूयोर्कमा दुई वटा टावरमा गरिएको आक्रमणसँग तुलना गर्दै त्यहाँ ९\११ कै घटना जस्तो देखिएको बताएका छन् ।