अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

न्यूयोर्क

विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ ।

विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २० प्रतिशत हाराहारी छ । सन् २०२० को अन्त्यसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या चार लाख एक हजार पुग्ने नयाँ प्रक्षेपण ह्वाइट हाउसका अधिकारीहरुले गरेका छन् । त्यति हुँदा पनि राष्ट्रपति ट्रम्प आफुले उत्कृष्ठ काम गरेको दावी गर्न छोडेका छैनन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले दशौँ लाखको सम्भावित मृत्युलाई आफुले घटाएको दावी गरे ।

साथै उनले त्यही मञ्चबाट भाइरस संक्रमणबाट जोगिन पुर्ण रुपमा व्यवसाय खोल्न अस्वीकार गरेका मिसिगन, नर्थ क्यारोलिना लगायत राज्यका गभर्रनहरुप्रति रोष प्रकट समेत गरे । ट्रम्पले सुरुमा चीनबाट आएका केही व्यक्तिमा भाइरस देखिएको र यो छिटै हराएर जाने दावी गरेका थिए । मृतक र संक्रमितको संख्या निरन्तर बढेपछि उनले ६० हजारभन्दा धेरैले ज्यान नगुमाउने दावी गरे । मृतकको संख्या दुई लाख पुग्न लाग्दा भने चार लाख हाराहारीसम्मको मृत्यु हुनुलाई आफ्नो ‘गजब कामको परिणाम’ बताउन थालेका हुन् ।

अनुमान गरेजस्तै डिसेम्बर अन्त्यसम्ममा चार लाख बढिको मृत्यु हुन आगामी चार महिना भित्र थप दुई लाख २३ हजारले ज्यान गुमाउने पर्ने हुन्छ । त्यस अनुरुप दैनिक तीन हजार अमेरिकीसम्मको ज्यान जान सक्ने अनुमान गरिएको छ । जनस्वास्थ्य विज्ञहरुले सबैले अनिवार्य मास्क लगाएमा भने मृत्युदर आधामा घट्ने उल्लेख गरेका छन् । साथै मास्क लगाउन अटेर गरि निरन्तर संक्रमण विस्तार भयो भने चार महिनामा छ लाख बढिको ज्यान जान सक्ने उनीहरुको प्रक्षेपण छ ।

राष्ट्रपति ट्रम्पले नै मास्क विरोधी जमातलाई निरन्तर प्रवर्धन गरि रहेका छन् । पछिल्लो समय निरन्तर चुनावी सभा गर्न थालेका ट्रम्पले मास्क लगाएबापत आफ्ना प्रतिश्पर्धी जो बाइडेनलाई उडाउँदै आएका छन् । उनको सभामा आउनेहरु बिना मास्क खचाखच खाँदिएर बसेका हुन्छन् ।