कन्टकी । संयुक्त राज्य अमेरिकाका छवटा राज्यमा शुक्रवार राति आएका विनासकारी आँधीबेहरीले ठूलो मानवीय क्षति पुगेको छ । आँधीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको र यस्तो आंकडा १ सय नाघ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी भइरहेको छ।
शुक्रवार ३० वटा आँधीबेहरी आएको रेकर्ड छ । प्रभावित क्षेत्रमा सहायताका लागि सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन राष्ट्रपति जो बाइडनले दिएका छन्। कन्टकी राज्यमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको र मृतकको सङ्ख्या १०० नाघ्न सकने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो संज्ञा दिइएको छ ।
कन्टकीमा गभर्नरले सङ्कटकाल घोषणा गरेका छन्। राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन्।
मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ। त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो भने ६० जना अझै हराइरहेका छन्। उक्त आँधीबेहरीका कारण अन्य राज्यमा मानिसहरूको मृत्यु भएको छ।
आँधीबेहरीको ३६५ किलोमिटर लामो मार्गमा पर्ने सबै ठाउँमा ठूलो क्षति पुगेको छ। यसैबीच राष्ट्रपति बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छन्। दक्षिणी इलनोयको एड्वार्ड्सभिलस्थित एमजनको एउटा गोदाम अर्को आँधीमा भत्किएको अधिकारीहरूले बताएका छन्।
उक्त राज्यका प्रहरी प्रमुखका अनुसार त्यहाँ छ जनाको मृत्यु भयो भने कति जना हराइरहेका छन् त्यो निर्क्योल भएको छैन। मिजुरी राज्यमा पनि आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।