अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

कुमार न्यौपाने, न्युयोर्क

जीवको उत्पत्तिको कालखण्डमा मानव विकासक्रम झण्डै पुछारतिर भएतापनि भाषागत रुपमा बोल्नेकुरा गर्दा मानव नै अगाडि आउँछ । उत्पत्तिदेखि क­-कसले के के बोले, कुन कुन भाषा बोले र बोलिएका बोलीहरुको नालीबेली लगाउन असम्भव छ र ? यो विषय अत्यन्त रोचक पनि छ । त्यसैले इतिहासमा बोलीको अधिकतम प्रभाव छाड्न सफल मानिसहरुलाई मात्रै सम्झिरहेका हुन्छौं । बोलीको बिषय केलाउदै गयो, लेख्दै गयो भने हजारौं पाना पनि कम हुनसक्छन । त्यसैले आजसम्म मानव र प्रकृतिको हितमा बोलिएका तमाम शब्दहरु र भाषाहरुलाई साक्षी राखी उनिहरुको उचित बोलीको प्रभाव र पदचापमा हिड्दै जाँदा आजको समाज यो रुपमा यहाँ छ भन्दा अत्योक्ति नहोला ।
साना साना घटनाहरुले मानिसले बेलामा बोल्नुपर्छ भन्ने तथ्यलाई चरितार्थ गर्दै लान्छ । मान्छेले बोलेको मान्छेले नै बुझ्छ र मान्छेले बोलेको कुरामा मान्छेले नै बुझ पनि पचाउँछ । कसैले बुझ पचाउँछ भने सत्य कुरा दोहोर्याई तेहेर्याई बोल्नुपर्छ । सत्यमा आधारित बोलीको सुनुवाई हुन्छ । त्यस बोलीको सुनुवाईले मान्छेका अधिकार, कर्तव्य र दायित्वहरुलाई ठिक ठाँउमा ल्याउँछ ।​
बोल्नुपर्छ !
यसलाई पुष्टि गर्न यात्राको क्रममा भोगिएका केही स­-साना घटनाहरु काफी छन ।
बस्टन र ह्वेल वाचिङ्ग क्रुजमा
“हामीले त्यो दिन नबोलेका भए, हाम्रो अधिकार खोसिन्थ्यो”।
बोल्यौं, आत्मसम्मान फर्कियो । फेरी (डुंगा) चढ्यौं र बस्टनको स्पेक्टेकल आइल्याण्ड पुग्न सक्यौं ।
सुरुमा “बोल्नुपर्छ“ भनि उठाएको कुरा र बोलेर फेरी (डुंगा) चढ्न पाइएको कुरा भित्र इमान्दारिता, बिश्वास र अविश्वासको समिश्रण छ ।
ह्वेल वाचिङ्ग स्पटको रुपमा प्रख्यात बस्टन पुगेको दोश्रो दिन नेशनल ज्योग्राफीमा हेर्ने गरेको २८­३० मिटर लामा ह्वेल नांगो आँखाले हेर्न पाइन्छ भने जाँउ न त भन्दै बुकिङ्ग.कमबाट टिकट काटी क्रुज चढ्ने ठाँउ हतारहतार पुगियो । हामीलाई ह्वेल उसैपनि अनौंठो लाग्ने विषय भै हाल्यो त्यसैले भिन्नै कौतुहलता थियो । क्रुज चढ्ने ठाँउको काउन्टरमा पुगी डिजिटल टिकट देखायौं । कर्मचारीले कम्प्युटरमा हेर्दै हाम्रो अनुहार ताक्दै ठाडो जवाफ दियो, तिमीहरुको टिकट बुक छैन ! आजलाई छैन भोली आउनु ।
हामी तीन­; श्रीमती, छोरी र म अक्क न वक्क पर्यौं । ल हेर त ! कुनैपनि होटल, घुम्न पर्ने ठाँउहरु, बसको टिकट, ट्रेनको टिकट जस्ता हजारौं आकर्षणहरुको टिकट काट्न मिल्ने बुकिङ्ग.कमलाई तोकिएको पैसा बुझाएर, उसले पठाएको टिकट बोकी उत्साहको साथ उसैले बोलाए बमोजिम पुगेका यात्रु या पर्यटकहरु प्रति कस्तो व्यवहार गर्ने भन्ने न्युनतम सद्भाव पनि देखिएन ।
तिमीहरुको टिकट प्रति हामी उत्तरदायी छैनौं, चढ्ने भए भोली आउनु, हैन भने पैसा फिर्ता हुन्न, चाहिए त्यही बुकिङ्ग.कमलाई भन ! यस्तो ओठे जवाफले मन कुडियो । हामीसंगै अर्का दुइ जोडीहरु पनि अलपत्रमा परे ।
हामी आफ्नो होस वा अरुको, सदा कानुन र न्यायको पक्षमा बोल्दै आएको हौं । हाम्रो ह्वेल हेर्ने रोमाञ्चकतामा बादल लाग्यो । हामीले पैसा तिरेको र उसैको कम्पनीको क्रुजको काटेको टिकट प्रमाणको आधारमा बोल्न बाध्य भयौं ।
तिमीहरुले विज्ञापन गरे बमोजिम, तिमीहरुले हाम्रो क्रुज कम्पनी असल र राम्रो छ भने बमोजिम, तिमीहरुले हाम्रो क्रुज चढेर बस्टन र ह्वेलको दृश्यावलोकन गर्नु भने बमोजिम टिकट काटी समय भित्रै आयौं । प्रश्न उठ्छ । आजको मितीको हाम्रो नाउँमा काटिएको टिकटमा कसलाई पठायौ ? भोली आउनु भन्ने कुरामा के तर्क छ? भोली ह्वेल हेर्न बस्दा होटलको बिल कसले तिर्छ ? केहि समयपछि कम्पनीको अर्को दर्जाको कर्मचारीको जवाफदेहीपुर्ण बोलीले भन्यो आजलाई अर्को रमणीय टापुको टिकट दिन्छु र ह्वेल हेर्न भोली जान नभ्याए एक बर्ष भित्रसम्म जहिले आएर ह्वेल वाचिङ्ग क्रुज चढ्न पाउने तीन वटा पास दिन्छु र बुकिङ्ग डट् कमसंग समन्वय गरी तिरेको पैसा पनि फिर्ता गर्न पहल गर्छु । त्यस दिन उसले दिएको जरीवाना रुपि टिकटको डुंगा चढी स्पेक्टेकल टापु घुम्दै मन शान्त पारियो ।
यस्तो अवस्था किन आउँछ ? कसको कारणले आउँछ ? घुम्न हिड्नेहरु आफ्नो व्यस्त समय मिलाएर कहाँ, कता पुगी राम्रो र नौलो अनुभुत गर्न चाहन्छन । हामी यात्रुहरु प्रति असल व्यवहार होस्, यात्रा सहज होस् र नठगीयोस भन्ने हुन्छ । यात्राको क्रममा आइपर्ने अफ्ठ्यारा र समस्याहरु तपाई हाम्रो कारणले भन्दा पनि यस्तै कसरी छिटो पैसा कमाउने भन्ने सोच वा अस्वस्थ प्रतिस्पर्धाले गर्दा आइपर्दछ । त्यसैले हाम्रो आत्मसम्मान, पैसा र समय जोगाउन प्रमाण पुर्याएर बोल्नुपर्छ । नौलो ठाँउको लागी बोली नै हाम्रो हतियार हो ।

आल्वनि र ट्याक्सी ड्राइभर

रचेस्टरको लागी बेलुका ८ बजेको रेल चढ्न हड्सन वारीको होटलबाट ट्याक्सीमा पारीको रेल स्टेशन पुग्नु चाहिने ५ मिनेटको समय र त्यसैमा रेल चढ्नु भन्दा आधि घण्टाअघि स्टेसन पुग्नु पर्ने समय जोडेर आल्बनि डाउनटाउन घुमीवरी हामी झण्डै एक घण्टा अगाडी नै होटल आइपुग्यौं । पहिल्यै अर्डर गरेतापनि ट्याक्सी समयभन्दा केही मिनेट ढिला आयो । हामी तीन जनाको लागी मगाइएको ट्याक्सीको अघिल्लो सीटमा पहिलेदेखि नै एक जना मानिस विराजमान थिए । यस्तो के हो ? को हो? हतार भएकोले हामी मुखामुख गरी ठिकै मान्दै जादै थियौं यत्तिकैमा ड्राइभरको मोवाइल बज्यो, उसको कुरा गराइले ट्याक्सीमा मिटर हुदाँहुदै मिटर अफ थियो र त्यो फोन गर्ने ब्यक्तिले हामीसँग यति पैसा लिनु भन्ने निर्देशन दिदैथियो । झण्डै एक किलोमिटरको त्यो ट्याक्सी यात्रामा भाडा ७ डलर लाग्ने रहेछ तर उसले फोनमा आएको निर्देशन अनुसार १५ डलर र थप टिप्स माग्यो । उसले अमिजासीलो तरीकाले क्रेडिट कार्ड चल्दैन भन्यो । हामीसंग नगदको नाउमा १५ डलर थियो । ल है ! यति मात्रै नगद रहेछ भन्दै दियौं तर उसले कुनै साहानुभुति देखाएन उल्टै अमर्यादित तरीकाले पैसा समायो । अगाडि बस्ने अर्को मान्छे अझै ट्याक्सी मै थियो । न्युयोर्क राज्य कै राजधानीमा मनहरु एैठन हुनपुगे । यो के हो? किन हो ? भन्दै समय बित्यो तर त्यो तिक्ततालाई रेलको डेढ घण्टा ढिलाईले झन मलजल गर्यो तरपनि लामो यात्रामा निस्केकोले होला यो विषयलाई मनैमनले सम्झाएर सम्झनयोग्य बनायौं र ढिलो रेल चढेर अर्को गन्तव्य तर्फ लाग्यौं ।

रचेस्टर र होलिडे इन

रेल स्टेसनबाट झण्डै ७ मिनेटको यात्राको क्रममा उसले रचेस्टरको अन्तरकथा, घुम्नुपर्ने केहि महत्वपुर्ण ठाँउहरु, उसको निकै इमान्दार र मिलनसार नेपाली साथीहरुको बयान र आफ्नो घर परीवारको सामान्य कुरा गरी होटलमा ओराल्न भ्यायो । सबैको मन प्रशन्न भयो, मिटरमा चढेको १२ डलरमा टिप्स दिन खोज्दा निकै प्रफुल्ल मुद्रामा तिमीहरु हाम्रो सहर घुम्न आएका हौ । रमाइलो गर ! टिप्स पर्दैन भन्दै गरेको अभिवादनले झन मन पगाल्यो । मानिसहरुको बोली व्यवहारले सम्बन्ध र समयलाई कसरी प्रभाव पार्छ भन्ने कुरा रचेस्टरको रेल स्टेशनमा भेटिएका ट्याक्सी ड्राइवरले एक दिन अघिको आल्वनीको ट्याक्सी ड्राइवरलाई कहिले भेट्ला र सिकाउला भन्ने लाग्यो ।
त्यति उत्साही, सहृदयी ट्याक्सी चालकले छोडेर गएको केही समयपछि होटल छिर्ने बित्तिकैको अनुभव भने सुखद रहेन । आल्वनि झैं होलिडे इन कै तीन तारे होटलमा बुक गरिएको कोठाको अवस्था औसत पनि थिएन । होटलले ब्रेकफास्ट समावेस गरी पैसा कटाएको थियो तर ब्रेकफास्टको नाउँमा पानी पनि छैन, भन्ने फ्रन्ट डेस्कको रुखो जवाफले फेरी बोल्ने बेला आयो जस्तो लाग्यो र आवाज उठ्यो । होटलको वेवसाइटमा भने बमोजिमको स्विमीङ्ग पुलको व्यवस्था खै? दुइ दिनअघि नै मोवाइलको म्यासेज बक्समा बाचा गरिए बमोजिमको ब्रेकफास्ट खै? ३ तारे होटलको न्युनतम सुविधा खै? नत्र यस्तो हस्पिटालिटी विजनेश नगरेको राम्रो भन्ने आवाज बिस्तारै होटलको रिसेप्सन हुदै मेनेजरको कानमा पुग्यो । बुकिङ्ग.कमलाई दोष लगाउने प्रयास भएतापनि आखिर मेनेजर आफैंले फोन गरी माफी माग्दै हामीले बुकिङ्ग गरीएको दुई दिनको पैसा तिर्न नपर्ने भन्ने इमेल आयो । यसले हामी जुनसुकै मुलुक वा समाजमा भएतापनि अन्याय र ठगीको बिरुद्ध बोल्नुपर्छ । यसको विकल्प छैन भन्ने देखाउँछ । रचेस्टरबाट शिकागो हिड्ने दिनसम्ममा त्यस होटलको व्यवस्थापनमा आन्तरिक गडबडी रहेछ र तालमेल नभएको गुनासो त्यही होटलका कर्मचारीबाट थाहा हुन आयो । अतिथी देवो भवः भन्ने पेशा अपनाएकाहरुले ठगीजन्य र रुखो व्यवहार गरेको कत्ति पनि सुहाउँदैन ।
गल्ति गर्ने प्रति उठेका औंलाहरुले उसको कर्तव्यलाई याद दिलाओस र अन्याय या ठगीबाट जोगाउँदै आफ्नो अधिकार र आत्मसम्मान कायम गरोस, त्यसैले बेलाको बोली अत्यावश्यक छ ।
समयले कतै बोल्न लगायो कतै बोल्न मिलेन तर बोल्दाबोल्दै पाएको ह्वेल हेर्ने पासको सदुपयोग गर्न कै लागी भएपनि बस्टनको अर्को यात्रा जरुरी छ ।