अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड

इन्डियाना । संयुक्त राज्य अमेरिकामा एक ४० वर्षिय पुरुषलाई मृत्युदण्ड दिइएको छ। संघीय कानुन अनुसार उनलाई विहिबार मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई मृत्यु दण्ड दिइएको हो ।

उनलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको जनाइएको छ । उनी सन् १९९९ मा भएको एक लुटपाट र हत्याको घटनामा दोषि सावित भएका थिए । घटना हुने बेला उनी मात्र १८ वर्षका थिए। त्यसो त उनले कारागारमा राम्रो व्यवहार देखाएका कारण मृत्युदण्डको सजायमा माफी दिन समेत आह्वान गरिएको थियो । तर, अधिकारीहरुले यो अनुरोध स्वीकार गरेनन् र उनीमाथिको कारवाही सदर भयो ।


सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गरी बर्नार्ड सहित अन्य चार किशोरले दम्पतीको हत्या गरेका थिए । त्यसपछि ती किशोरले उनीहरु चढेको कारमा राखेर आगो लगाएका थिए ।

यस घटनामा गोली चलाएका बर्नार्डका साथी क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो। उनी घटना हुँदा १९ वर्षका थिए । समूहका अरु सदस्यलाई भने घटना हुँदा १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाउन आदेश गरेको थियो ।