काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले ूकहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौूँ भनेका थिए।
युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए। गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ। यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन्।