अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने ।

मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए ।

जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक संजालदेखि संचारमाध्यमसम्म हंगामा मच्चियो ।

सन्दीपले क्यारेबियन प्रिमियर लीगका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । उनी हालै क्यानडामा सम्पन्न प्रतियोगिता सकेर नेपाल फर्किएका थिए ।

दूतावासले भिषा दिन अस्वीकार गर्यो । सबै कागजात पुर्याएर आवेदन दिँदा पनि भिषा नपाएको गुनासो सन्दिपले गरेका थिए ।

प्रतियोगिताका केही खेल अमेरिकामा समेत हुने भएकाले उनले अमेरिकाको भिषा लिन चाहेका हुन् । सन्दीप बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्दैछन् । ४ सेप्टेम्बरबाट लीग शुरु हुँदैछ ।

जब सन्दीपले भिषा नपाएको बारे सामाजिक संजालमा लेखे, त्यसले तिब्र प्रतिक्रियासहित सामाजिक संजालमा अमेरिकाको व्यापाक आलोचना भएपछि केही घण्टामै काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर लामिछाने दूतावासमा बोलाई भिषा दिएको छ ।

मंगलबार विहान मात्र भिषा दिन अस्वीकार गरेको अमेरिकी दूताबासले दिउसो भने आफैले बोलाएर भिषा थमाएको हो ।

यसले झन धेरै मानिसलाई आश्चर्यमा पारिदियो । किनकी दूतावासले भिषा नदिनु पर्ने कुनै कारण नै उल्लेख गरेको थिएन ।

फेरी दिने समयमा पनि के कारणले भिषा दिन दूतावास सहमत भयो, खुलाइएको छैन । जसले गर्दा मंगलबार सन्दीप र अमेरिकाले सामाजिक संजाल र संचारमाध्यम व्यस्त रहे ।