अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

Photo source : Skynews

लण्डन । अमेरिकाले विश्वका करीव १ सय मुलुकलाई कोरोना खोप अनुदानमा दिने भएको छ । त्यसका लागि ५० करोड डोज खरीद गर्ने घोषणा खबर सार्वजनिक भएको छ । अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने छ ।

बीबीसीका अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ । बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर बढाउन दबाब छ । अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि यस्तो खबर बाहिरिएका हुन् ।

ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक रुपमा भने बताइसकेको छैन । विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले आफुसँग भएको योजनाको छिट्टै घोषणा गर्ने बताए । अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम भेगमा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन्।

आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन्। युरोपको आफ्नो भ्रमणको अन्त्यमा उनले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटिनसँग भेट्ने कार्यक्रम रहको बीबीसीले लेखेको छ ।