अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

काठमाडौं । नेपाल र अमेरिकाबचीको व्यापार चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिना .साउन–भदौ)मै १ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले यस्तो देखाएको हो । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको छ । अरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड रुपैयाँ देखिएको छ । उता, समग्र व्यापार भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजारको आयात भएकोमा यस वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात भएको छ। गत वर्षको तुलनामा यो आयात ५.०६ प्रतिशतले कम हो।

यस्तै निर्यात पनि ७.७९ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड चार लाख ३७ हजारको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रहेकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा घटेर दुई खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजारमा झरेको छ। गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ।

नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ। चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ। गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो।