नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ ।
अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहन पुगेको छ । भारतसँग ५ खर्ब ७० अर्बको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ । यसले सबैभन्दा ठूलो व्यापार घाटा पनि सोही मुलुकसँग छ । चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ ।
नेपालले प्रतिमहिना सवा खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । नेपालले माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
निर्यात भने मात्र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र हुँदा व्यापार घाटा उच्च हुन पुगेको हो । आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार नै खुम्चिन पुगेको छ । भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।